logo
२०८१ बैशाख ७ शुक्रवार



कोरोनासँग जुध्न उच्च मनोबल बनाऔँ : प्रधानमन्त्री

मुख्य समाचार |


कोरोनासँग जुध्न उच्च मनोबल बनाऔँ : प्रधानमन्त्री


दीपक श्रेष्ठ

काठमाडौँ, जेठ २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको लडाइँमा सबै नेपाली लागेकाले भय र त्रासको वातावरण नबनाउन आग्रह गर्नुभएको छ । साथै प्रधानमन्त्रीले नेपाली जनता यो महामारीसँग जुध्न सक्छन्, यससँग जुध्ने हिसाबले उच्च मनोबल राखेर जानुपर्छ भन्ने आग्रह पनि गर्नुभएको छ ।
कोरोना भाइरस (कोभिड–१९) महामारीको नियन्त्रण, रोकथाम र उपचारको विषयमा सम्बद्ध पक्षसँग गर्नुभएको छलफलमा प्रधानमन्त्रीले यस्तो विचार राख्नुभएको हो । सहभागी अर्थशास्त्री तथा योजनाविद्ले अर्थतन्त्र चलायमान बनाउँदै लकडाउन खुकुलो बनाउन सुझाव दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले कोरोना महामारीको नियन्त्रण, रोकथाम र उपचारको आगामी रणनीतिका सम्बन्धमा समाजका विभिन्न क्षेत्रमा क्रियाशील विशिष्ट व्यक्तित्वहरूसँग बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा परामर्श गर्नुभएको हो । उहाँले बैठकपछि सामाजिक सञ्जालमा ट्विट गर्दै भन्नुभएको छ, “अर्थशास्त्री, योजनाविद्, सामाजिक अभियन्ता, चिकित्सक, जनस्वास्थ्यविद्, स्वास्थ्यकर्मी र नर्सहरूसँगको यो बैठक महìवपूर्ण रूपमा सम्पन्न भयो । ”
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कोरोना भाइरस नियन्त्रण सम्बन्धमा समाजका विभिन्न क्षेत्रका विज्ञहरूसँग प्रधानमन्त्री ओलीले परामर्श बैठक गर्नुभएको जानकारी दिनुभयो ।
प्रेस सल्लाहकार थापाले करिब चार घण्टासम्म भएको छलफल उपलब्धिमूलक र फलदायी भएको बताउनुभयो । बैठकमा विभिन्न क्षेत्रका २५ जना विषय विज्ञहरूको सहभागिता थियो ।
छलफलपछि कुरा गर्दै अर्थविद् डा. स्वर्णिम वाग्लेले भन्नुभयो, सहभागी अर्थशास्त्री र योजनाविद्हरूले अर्थतन्त्रलाई चलायमान गर्दै जानुपर्छ भन्नेमा सबैको एकमत नै जस्तै रह्यो, कसरी अगाडि बढ्ने विषयमा सुझावहरू दिइएको छ, पसल खोल्ने, यातायातमा थोरै यात्रु बोक्ने, कार्यालय आधा कर्मचारी बोलाएर सञ्चालन गर्नेजस्ता सुझाव आएका छन् । चिकित्सक र जनस्वास्थ्यविद्हरूबीच कसरी अगाडि जाने भन्ने विषयमा सामान धारणा नआएपछि साझा निष्कर्ष निकालेपछि मात्र नीति निर्माण गर्ने विषयमा सहमति भएको जानकारी पनि डा. वाग्लेले दिनुभयो ।
प्रधानमन्त्रीको भनाइ के थियो भनी राखिएको जिज्ञासामा उहाँले भन्नुभयो, प्रधानमन्त्रीले भय र त्रासको वातावरण बनाउनु भएन, नेपाली जनता यो महामारीसँग जुघ्न सक्छन्, यससँग जुध्ने हिसाबले उच्च मनोबल राखेर जानुपर्छ भन्ने आग्रह थियो ।
बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको समेत उपस्थिति थियो । कोरोना भाइरस नियन्त्रण गर्न गत चैत ११ गतेदेखि सरकारले बन्दाबन्दी गर्दै आएको छ । लामो समयको बन्दाबन्दीका कारण सामाजिक तथा आर्थिक क्षेत्रमा असर पुगेको भन्दै बन्दाबन्दीको स्वरूप परिवर्तन गर्नुपर्ने माग विभिन्न क्षेत्रबाट उठिरहेको छ । छलफलमा बन्दाबन्दीको परिवर्तित स्वरूपका बारेमा समेत छलफल भएको बताइन्छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?