logo
२०८० चैत्र १५ बिहीवार



रुकुम घटना छानबिनका लागि समिति गठन, दोषीलाई कारबाही गर्ने गृहमन्त्रीको प्रतिबद्धता 

मुख्य समाचार |


रुकुम घटना छानबिनका लागि समिति गठन, दोषीलाई कारबाही गर्ने गृहमन्त्रीको प्रतिबद्धता 
तस्बिर– शेखर चाैंलागाइ



नारायण काफ्ले
काठमाडौँ, जेठ १३ गते । सरकारले रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ मा भएको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । जातीय विभेदका आधारमा सामूहिक युवा हत्या भएको भन्दै विरोध भइरहेका बेला सरकारले छानबिन समिति गठन गरेको हो । समिति गठनबारे गृहमन्त्री रामबहादुर थापाले मङ्गलबार प्रतिनिधिसभाको बैठकमा जानकारीसमेत दिनुभएको छ ।

सदनमा सांसदहरूले घटनाबारे सरकारको जवाफ माग गरेपछि मन्त्री थापाले जवाफ दिनुभएको हो । थापाले घटनाका दोषीलाई कानुन बमोजिम कारबाही हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘जुन दुःखद् घटना भएको छ, सिङ्गो राष्ट्रलाई स्तब्ध तुल्याएको छ । दोषीलाई कानुनी कठघरामा ल्याउन र कानुनबमोजिम कारबाहीका लागि सरकार प्रतिबद्ध छ ।’’

उहाँका अनुसार, छानबिन समिति गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा बनेको छ । यस्तै, समितिमा प्रहरी वरिष्ठ उपरीक्षक, महान्यायाधिवक्ता तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकृत र गृहकै उपसचिव सदस्य छन् ।

मन्त्री थापाले घटनामा तीनजनाको मृत्यु भएको सदनमा जानकारी दिनुभयो । अन्य तीन जना बेपत्ता रहेको मन्त्री थापाको भनाइ छ । घटनामा नवराज विक, गणेश बुढा र टीकाराम नेपालीको शव भेरी नदी किनारमा फेला परेको छ । घटनामा संलग्न रहेको आशंकामा १२ जनालाई नियन्त्रणमा लिइएको र दुबै जिल्लाको समन्वयमा घटनाबारे अनुसन्धान भइरहेको गृहमन्त्रीको भनाइ छ ।

समाज विरोधी र मानवताविरोधी चिन्तनका कारण यस्ता घटना भइरहेका छन् र प्रचलित कानुनलाई सक्रिय गराएरै घटना न्यूनीकरण गर्ने दाबी गृहमन्त्रीको छ । उहाँले घटना छानबिनका लागि गठित समितिको काममा शंका नगर्न पनि आग्रह गर्नुभयो । संसदीय छानबिन समिति संसद्को क्षेत्राधिकार भएकाले त्यसमा आफ्नो प्रतिक्रिया नभएको उहाँको बताउनुभयो । मन्त्रालयको छानबिन समितिलाई भने अनुसन्धानका लागि दुई साताको समय दिइएको उहाँको भनाइ छ ।

जेठ १० गते जाजरकोटबाट रुकुम पश्चिम आफ्नी प्रेमिका लिन पुगेका युवाको समूहमा जाजरकोट चौरजहारीका स्थानीयसमेतले आक्रमण गरेको र घटनामा स्थानीय वडाध्यक्ष समेत संलग्न भएको सांसदहरूको आरोप छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?