logo
२०८० चैत्र १५ बिहीवार



रौतहटमा २२ जनामा कोरोना सङ्क्रमण, सबै भारतबाट आएका थिए

मुख्य समाचार |
प्रदेश |


रौतहटमा २२ जनामा  कोरोना सङ्क्रमण, सबै भारतबाट आएका थिए


कृष्ण तिवारी
रौतहट, जेठ १३ गते । रौतहटमा मङ्गलबार फेरि २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको गौर, देवाही गोनाही र राजेदेवी नगरपालिकामा नयाँ सक्रमित भेटिएका हुन् ।
गौर नगरपालिकामा पहिलो पटक सात, देवाही गोनाही नगरपालिकामा तीन र राजदेवी नगरपालिकाका एक जनामा सङ्क्रमण पुष्टि भएको छ भने बाँकी सङ्क्रमण पुष्टि भएका ११ जनाको ठेगाना प्रष्ट नखुलेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

उहाँले रौतहटबाट करिब ११ सयको स्वाब सङ्कलन गरी केन्द्रिय प्रयोगशाला टेकुमा पठाइएको र परीक्षण रिर्पोट आउने क्रम जारी रहेको बताउनुभयो । सङ्क्रमण पुष्टि भएकाहरू सबैजना भारतबाट नै आएको समेत उहाँले बताउनुभयो ।

मङ्गलबार सङ्क्रमण पुष्टि भएकामा तीन जना बालबालिका समेत छन् । जिल्लामा २२ जना सङ्क्रमित फेला परेको प्रजिअ घिमिरेले पुष्टि गरेपनि स्वास्थ्य मन्त्रालयले यसबारे अझै केही भनेको छैन ।

सङ्क्रमण पुष्टि भएका सबै जना हाल क्वारेन्टाइनमा रहेका छन् ।

यसअघि सोमबार मात्रै रौतहटको राजपुर र ईशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेकामध्ये २६ जना सङ्क्रमित भेटिएका थिए । योसँगै रौतहटमा सङ्क्रमित हुनेको सङ्ख्या ७० पुगेको छ ।
यसैबिच पछिल्लो समय भारतबाट आउनेको सङ्ख्यामा वृद्धि भएको छ ।

भारत सरकारले आप्रवासी मजदुरलाई विशेष रेलमार्फत गन्तव्यसम्म पुर्याउन थालेपछि रौतहट लगायत सिमानासँग जोडिएका जिल्लाहरूमा आउनेको सङ्ख्या बढदै गएको छ ।
भारतबाट आउनेहरूबाट कोरोना भाइरसको सङ्क्रमणको जोखिम भएकाले रौतहटका प्रजिअ वासुदेव घिमिरेले जिल्लाको १८ वटै स्थानीय तहमा थप पाँच–पाँचसय बेडको क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिनुभएको छ ।

भारतबाट आउने नेपालीको सङ्ख्या बढ्दै गएपछि स्थानीय तहले क्वारेन्टाइन बनाएर राख्न थालेको छ ।

रोजगारी वा अन्य कामको लागि भारतको विभिन्न स्थानमा पुगेकाहरू अहिले सिमा क्षेत्रमा आएर अलपत्र परेपछि रौतहटका स्थानिय तहले उनीहरूलाई क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाएको हो ।
जिल्ला प्रशासन कार्यालय रौतहटको सोमवार दिउँसोसम्मको तथ्याङ्क अनुसार यस जिल्लाको विभिन्न स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा बस्नेको सङ्ख्या २ हजार ७ सय भन्दा बढिरहेकोे छ । जस अनुसार दुई हजार ५१६ पुरुष र  १९१ महिला क्वारेन्टाईनमा छन् ।

स्थानीय तहले भारतबाट आएका नेपालीलाई सीमा नाकाबाट सीधै आफ्नो पालिकाले व्यवस्थापन गरेको क्वारेन्टिनमा राख्ने गरेको छ ।

स्थानिय तहले विद्यालय, मदरसा तथा सामुदायिक भवन गरी हालसम्म ३ हजार १ सय ३४ क्वारेन्टाईन बेडहरूको व्यवस्थापन गरेको छ ।

भारतबाट फर्किनेको सङ्ख्या बढ्दै गएपछि स्थानिय तहका जनप्रतिनिधिहरू क्वारेन्टिन बेडहरूको सङ्ख्या अझ बढाउने तर्फ लागेका छन् ।

रौतहट प्रहरी प्रमुख एसपी रबीराज खड्काले भारतबाट आउने सबैलाई क्वारेन्टाइनमा राखिने गरिएको र नेपालको कुनै ठाँउबाट आएको पाइएमा चेकजाँच पछि डाक्टरकै सल्लाहअनुसार गर्न सबै प्रहरी इकाईमा निर्देशन पनि दिनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?