logo
२०८० चैत्र १६ शुक्रवार



लकडाउनमा पठनपाठन प्रभावित: वैकल्पिक विधि खोजिँदै

शिक्षा |


लकडाउनमा पठनपाठन प्रभावित:  वैकल्पिक विधि खोजिँदै


नगेन्द्र सापकोटा

काठमाडौँ, जेठ १३ गते । कोरोना भाइरस (कोभिड–१९)का कारण भएको बन्दाबन्दीको असर त सबैतिर छ तर पठनपाठन प्रभावित हुुँदा अभिभावक चिन्तिन हुन थालेका छन् । विद्यालय ठप्प छ । बालबालिका घरैमा बस्दा बालबालिकाभन्दा अभिभावक दिक्क र चिन्तित छन् ।
कतिपय विद्यालयले विद्युतीय माध्यमबाट पठनपाठन गराउन सुरु गरे पनि आम पहुँच पुग्न नसक्दा स्थानीय तहमा पठनपाठनको वैकल्पिक विधि खोजी गर्न थालिएको हो । सरकारले भने बालबालिकाका लागि विद्यालय शिक्षाको वैकल्पिक विधिका लागि आवश्यक पाठ्य सामग्री तयार गरिरहेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देक डा. तुलसीप्रसाद थपलियाले बन्दाबन्दीको समयमा बालबालिकालाई पठनपाठन गर्न विद्यालय सिकाइको वैकल्पिक उपायका पाठ्य सामग्री तयार गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार कक्षा १ देखि ३ सम्मका बालबालिकालाई लक्षित गरी नेपाली, अङ्ग्रेजी र गणितका विषयको पाठ्य सामग्री बनाई डिजिटल कपी केन्द्रको वेबसाइडमा राखिएको छ । उक्त विषयसँगै कोरोना भाइरसबाट बच्नसक्ने उपाय, स्वास्थ्य र सुरक्षाका विषयसमेत समावेश गरी पाठ्य सामग्री तयार गरिएको छ । पाठ्य सामग्री छापेर बालबालिकाका हातसम्म पु¥याउन भने केन्द्रले स्थानीय तहका जनप्रतिनिधिसँग आवश्यक छलफल गरिरहेको छ ।
कक्षा ४ देखि ८ सम्मका लागि सोही प्रकृतिको पाठ्य सामग्री तयार गर्ने तयारी भइरहेको छ । कक्षा ९ र १० का विद्यार्थीलाई एनटीभी प्लसबाट नियमित रूपमा पठनपाठनका तयारी भइरहेको थपलियाले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालय शिक्षाको विकल्प त छैन तर त्यो सम्भव नहुँदा विकल्पको खोजी गरी पाठ्य सामग्री तयार गरिएको हो । ” केन्द्रले अधिकांश जिल्लाका स्थानीय तहसम्म पाठ्यपुस्तक पु¥याएको दाबी गरेको छ ।

फरक अभ्यासमा जनप्रतिनिधि
नेपालको भौगोलिक अवस्था फरक / फरक भएकाले ठाउँ अनुसारको पठनपाठनको विकल्पको खोजीमा स्थानीय तहका जनप्रतिनिधि लागेका छन् । स्थानीय तहका जनप्रतिनिधिले पहिलो आवश्यकता नै पाठ्यपुस्तक विद्यार्थीको हातमा पु¥याउने र त्यसपछि पठनपाठनको विकल्पको खोजी गर्ने तयारीमा छन् ।
सुगम स्थानीय तहमा भने विद्यालयसम्म पाठ्यपुस्तक पु¥याई स्थानीयस्तरका रेडियो, टेलिभिजनबाट पठनपाठन सुरु गरेका छन् । कतिपय सम्भव भएका ठाउँमा विद्यालयमा भर्चुअल माध्यमबाट पठनपाठन सुरु गरेको गाउँपालिका राष्ट्रिय महासङ्घ र नेपाल नगरपालिका सङ्घले जनाएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका महासचिव वंशलाल तामाङले भर्चुअल माध्यमबाट पठनपाठन गर्ने काम सहरकेन्द्रित र सम्पन्न परिवारका बालाबालिकाका लागि मात्र हुने भएकाले रेडियो र टेलिभिजनबाट पठनपाठन गराउने तयारीमा जनप्रतिनिधि लागेको बताउनुभयो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रेडियो र टीभीबाट प्रभावकारी पठनपाठन गर्न नसकिने दुर्गम स्थानीय तहमा घुम्ती शिक्षकको विकल्प खोजी गर्न आग्रह गरेको छ । गाउँघरमै शिक्षक शिक्षिका उपलब्ध हुने ठाउँमा स्वास्थ्य र सुरक्षाको आवश्यक सावधानी अपनाई, सामाजिक दूरी कायम गरी शिक्षक बालबालिकाको घरैमा पुगेर घुम्ती शिक्षण सिकाइ गर्न सकिने महानिर्देशक थपलियाले बताउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?