logo
२०८१ बैशाख १२ बुधवार



राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन प्रस्तुत

मुख्य समाचार |


राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन प्रस्तुत


गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनसम्बन्धी वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले प्रतिवेदनमा उल्लिखित विषयहरूको प्रभावकारी कार्यान्वयनमा सरकार सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच सोमबार प्रधानमन्त्री ओलीले गत वर्ष सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
यसैगरी, प्रधानमन्त्रीले सुरक्षा परिषद्को काम कारबाहीसम्बन्धी छुट्टै प्रतिवेदन पनि राष्ट्रपतिसमक्ष प्रस्तुत गर्नुभयो । आर्थिक वर्षमा सरकारद्वारा सम्पादित प्रमुख कार्यहरू र हासिल भएका उपलब्धिहरू प्रतिवेदनमा समावेश गरिएको छ । प्रधानमन्त्री ओलीले सरकारको वार्षिक प्रतिवेदन र राज्यका नीति तथा दायित्वको कार्यान्वयनको स्थिति र शासकीय सुधार सुशासन कायम गर्ने सम्बन्धमा भएका काम
कारबाही प्रतिवेदनमा समेटिएको छ ।
विशेष गरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न सरकारले आर्थिक, सामाजिक, पूर्वाधार एवं सुशासन तथा सेवा प्रवाहका क्षेत्रमा गरेको रूपान्तरणकारी कार्यहरूको विवरण प्रतिवेदनमा समावेश गरिएको छ ।
नेपालको राष्ट्रिय एकता, सार्वभौम सत्ता र अखण्डताको रक्षा गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखी सरकारका काम कारबाही गतिविधिहरू सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन नेपाल सरकारले राष्ट्रपतिसमक्ष प्रस्तुत गर्ने र राष्ट्रपतिले त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसद्मा प्रस्तुत गर्ने संवैधानिक
व्यवस्था छ ।
सो अवसरमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अर्थमन्त्री डा. युवराज खतिवडालगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?