logo
२०८० चैत्र १६ शुक्रवार



सुरक्षा निकायमा उच्च सतर्कता

मुख्य समाचार |


सुरक्षा निकायमा उच्च सतर्कता


देवबहादुर कुँवर

काठमाडौँ, जेठ ११ गते । कोरोना भाइरस रोग (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणको अग्रमोर्चामा खटिनुपर्ने सुरक्षाकर्मीमा सङ्क्रमण देखिन थालेपछि राज्यका चारवटै सुरक्षा निकायले थप सतर्कता अपनाएका छन् ।
नेपाली सेनाका तीन, नेपाल प्रहरीका सात, सशस्त्र प्रहरीका चार र राष्ट्रिय अनुसन्धान विभागका एक गरी १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । शान्तिसुरक्षा तथा नागरिक सेवासँगै कोरोना रोकथाममा खटिएका सुरक्षाकर्मी र कार्यालयमा सङ्क्रमण देखिन थालेको हो ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले कोरोना नियन्त्रणका लागि काममा खटिँदा सर्वसाधारणबाट नै सुरक्षाकर्मीमा कोरोना सरेको जानकारी आएको बताउनुुभयो । सङ्क्रमणबाट जोगिन सम्पूर्ण सैनिक युनिटमा थप सतर्कता अपनाउन आवश्यक निर्देशन र सोही अनुुरूपको सतर्कता अवलम्बन गर्न थालिएको उहाँले बताउनुुभयो ।
नेपाल सरकारबाट जारी रणनीति र विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को मापदण्डअनुसार कमान्डरदेखि सिपाहीसम्मले कोरोनाबाट जोगिन के कस्ता सतर्कता अपनाउने, सैनिक ब्यारेकबाहिर रहँदा वा प्रवेश गर्दा स्वास्थ्य परीक्षण, सतर्कता र सरसफाइमा विशेष जोड दिइएको छ ।
सुरक्षा गस्तीदेखि भान्सामा खाना खाँदा सानो समूह बनाई सामाजिक दूरी राख्ने, सङ्क्रमण लाग्ने सम्भावनादेखि सङ्क्रमण लागिसकेपछि अपनाइने सतर्कता, उद्धार तथा उपचार र सर्वसाधारणको मनोबल उच्च राख्न अभ्यास प्रदर्शन गर्ने गरिएको जानकारी उहाँले दिनुभयो ।
कोरोना सङ्क्रमित प्रदेश २ का पृतनापति उपरथी र सिपाहीमा एक औपचारिक कार्यक्रमबाट कोरोना सरेको सेनाले गरेको ‘सङ्क्रमण टे«ेसिङ’बाट फेला परेको छ । उहाँले प्रत्येक सैनिक कार्यालयमा क्वारेन्टाइन र आइसोलेसन वार्डसँगै स्वास्थ्यकर्मीको व्यवस्था गरिएको थप जानकारी दिनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?