logo
२०८१ बैशाख ४ मंगलवार



दुुर्लभ घडियाल फैलाउन निकुुञ्जको जुक्ति

मुख्य समाचार |


दुुर्लभ घडियाल फैलाउन निकुुञ्जको जुक्ति


वसन्त पराजुली

कसरा (चितवन), जेठ ११ गते । दुर्लभ जलचर घडियाल गोहीको यति बेला बच्चा कोरल्ने याम हो । कसरास्थित घडियाल प्रजनन केन्द्रका विज्ञ तथा प्राविधिकहरू अहिले सुरक्षित तवरले घडियालका अन्डाबाट कसरी धेरैभन्दा धेरै बच्चा निकाल्ने भन्ने अनेक जुुक्ति लगाइरहेका छन् । त्यस क्रममा अन्डा खोजी खोजी बच्चा कोरलिँदै छ ।
प्रजनन केन्द्रका विज्ञ तथा चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्का अहिले नदीहरूमा गोहीका अन्डा खोज्न र त्यसलाई सुरक्षित तरिकाले प्रजनन केन्द्रमा ल्याउने काम भइरहेको बताउनुहुन्छ । “चैतदेखि जेठसम्मको महिना गोहीको अन्डा सङ्कलन गर्ने र प्रजननमा राख्ने याम हो”, उहाँले भन्नुभयो, “यो वर्ष पनि हामीले राप्ती र नारायणी नदीबाट विभिन्न घडियालका नौवटा गुँडबाट तीन सय अन्डा सङ्कलन गरी प्रजनन केन्द्रमा बच्चा कोरल्न राखेका छौँ ।”
गोहीले बालुवाभित्र गुँड बनाएर अन्डा पार्छ । यसरी बालुवाभित्रको अन्डाबाट ६५ देखि ९० दिनभित्र बच्चा निस्कन्छ । प्रजनन केन्द्रमा पनि प्राकृतिक रूपमा जस्तै गरी बालुवाभित्र गुँड बनाएरै अन्डा राखिने गरिएको विज्ञ खड्काले बताउनुभयो । “बालुवामा भेटिएका अन्डामध्ये ६० प्रतिशतसम्म बच्चा कोरल्ने र बचाउन सकेको हाम्रो अनुभव छ”, उहाँले भन्नुभयो । उसो त नदीमा भेटिएकाबाहेक पनि वर्षमा ५० देखि ६० वटा त प्रजनन केन्द्रमै रहेका गोहीहरूले पनि बच्चा कोरल्ने गरेको बताइन्छ । यसरी प्रजनन केन्द्रमा जन्माएर हुर्काइएका घडियाल पछि नदीहरूमा छाडिन्छ ।
विश्वमै दुर्लभ मानिएको घडियाल नेपाल र भारतमा मात्रै पाइन्छ । नारायणी र राप्तीबाहेक बबई, कोसी र कर्णालीमा पनि यो गोही पाइन्छ । नेपालमा पहिलो पटक चितवन राष्ट्रिय निकुञ्जले सन् १९७८ (वि.सं. २०३५) मा घडियाल प्रजनन केन्द्र स्थापना गरेर यसको प्रजनन सुरु गरेको हो । केन्द्रले नेपालमा सन् १९८१ देखि नदीमा गोही छाड्न लागेको हो । प्रजनन केन्द्रमा रहेको तथ्याङ्कअनुसार नेपालका नदीहरूमा हालसम्म केन्द्रले एक हजार ५१५ वटा गोही हुर्काएर छाडेको छ । यसरी छाडिएकामध्ये राप्तीमा सबैभन्दा बढी ८३५ गोही छाडिएको छ ।
नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोसीमा ९५, कर्णालीमा ४१ र बबईमा ११० वटा गोही छोडिए पनि पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेको केन्द्रले जनाएको छ । नदीहरूमा बढ्दै गएको प्रदूूषण र मानवीय चापले घडियाल समस्यामा भएको विज्ञहरूको भनाइ छ । विज्ञ खड्का नदीहरूको बहावसँगै भारतमा बगेर पुगेका गोही पुनः नेपालतर्फ फर्कन नसक्नु पनि प्राकृतिक रूपमा नेपालमा गोहीको सङ्ख्या कम हँुदै जानुको कारण भएको तर्क गर्नुहुन्छ । सन् १९९० मा भारतको पटनामा नेपालको रेडियो कलरजडित गोही भेटिँदा अमेरिकाले जासुसी छाड्यो भनेर हल्ला फैलिएको स्मरण पनि उहाँले सुनाउनुभयो । विभिन्न नदीबाट भारतमा सयभन्दा बढी गोही बगेर गएका अनुमान छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?