logo
२०७७ जेष्ठ १६ शुक्रवार

लिम्पियाधुरा नै कालीको मुहान

मुख्य समाचार |


2020-05-22-14833


दीपक श्रेष्ठ

काठमाडौँ, जेठ ९ गते । सन् १८१६ को सुगौली सन्धिपछिका ऐतिहासिक नक्सा, तथ्य, प्रमाणले लिम्पियाधुराबाट दक्षिण–पूर्व बग्ने नदीलाई स्पष्टसँग काली नदी किटान गरेको छ । सुगौलीपछि १८४५ को सीमास्तम्भ निर्माण सम्झौता र १८६० को नयाँ मुलुक सन्धि एवं ब्रिटिस सङ्ग्रहालयमा सुरक्षित सुगौली सन्धिअघि तयार पारिएको ‘स्केच म्याप’ ले समेत लिम्पियाधुरा मुहान भई पश्चिमबाट पूर्वतर्फ बगेको नदीलाई काली भनिएको छ ।
इतिहासकार प्राडा रमेश ढुङ्गेलका अनुसार लिम्पियाधुरा मुहान भई पश्चिमबाट पूर्वतर्फ बग्ने नदी नै काली भएको तथ्य र प्रमाणहरू प्रशस्त छन् ।
प्राडा ढुङ्गेलले भन्नुभयो–“इतिहासका प्रशस्त प्रमाण र नक्साहरू छन् । सन् १९११ को भारतीय अभिलेख भर्खरै प्राप्त गरेको छु । त्यसमा काली नदी कुन हो भनेर त्यो क्षेत्रको स्पष्ट व्याख्या गरिएको छ ।”
ब्रिटिस लाइब्रेरी, विश्वका अन्य मुलुकमा रहेका नक्सा, भारतीय अभिलेखालयमा संरक्षित तथ्यहरूबारे चर्चा गर्दै उहाँले भन्नुभयो, “ऐतिहासिक तथ्य र प्रमाणका आधारमा लिपुलेकदेखि लिम्पियाधुरासम्मको त्यो क्षेत्र हाम्रो हो ।” उहाँले ब्रिटिस लाइब्रेरीमा छ वर्ष काम गर्दा महìवपूर्ण ऐतिहासिक तथ्य र प्रमाणहरू अध्ययन गरेको चर्चा समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, “सुगौली सन्धि हुनुभन्दा अगाडिको स्केच म्याप पनि पाइएको छ । इस्ट इन्डिया सरकारले छापेको सन् १८२७ को नक्सा र त्यसपछि सन् १८५६ सम्म छापिएका आधिकारिक नक्सामा लिम्पियाधुराबाट पूर्व बग्ने नदीलाई काली भनिएको छ ।”
उहाँका अनुसार सन् १८५६ सम्मका नक्सामा काली नदीलाई लिम्पियाधुरा अथवा जोलिङघाङ पश्चिमबाट दक्षिण–पूर्वतर्फ
बगेको नदीलाई काली नदी भनिएका छन् । उहाँका अनुसार, सन् १८५६ अघिका नक्सामा लिम्पियाधुराको पश्चिमबाट दक्षिण–पूर्वतर्फ भएर कुटी, नाभी, गुञ्जी गाउँहरू हुँदै बग्ने नदीलाई काली नदी भनिएको छ । यो काली नदीलाई स्थानीय भाषामा कुटियाङ्ती भनिन्छ । प्राडा ढुङ्गेलले सन् १८५६ भन्दापछिका नक्सामा पश्चिमबाट आएको नदीलाई काली लेख्न छाडेर कुटियाङ्ती भन्न थालिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पूर्व–दक्षिणबाट बग्ने लिपुखोलालाई काली लेखेर झुक्याउने कामभयो । किन भयो, त्यो थाहा छैन ।”
सन् १८१७ मा नाभी, कुटी, गुञ्जीका गाउँले ब्रिटिस इन्डियातिर बस्न पाउँ भनेर दिएको निवदेनबारे इस्ट इन्डिया कम्पनीले गरेको सुनुवाईमा समेत नाभी, कुटी र गुञ्जी गोर्खाको अधिनमा रहेको स्पष्ट किटान गरिएको छ । इतिहासकार ढुङ्गेलका अनुसार, काली पूर्वको भाग गोर्खाको अधिनमा रहेको भन्ने व्यहोरासहित बम शाह र राजदूत गार्डनरलाई इस्ट इन्डिया कम्पनीले लेखेको पत्रको प्रति समेत ब्रिटिस लाइब्रेरीमा सुरक्षित छ ।
इतिहासकार ढुङ्गेलले भन्नुभयो, “यो हाम्रो दावी पनि हो र तत्कालीन इस्ट इन्डिया कम्पनीको निर्णय पनि हो ।”उहाँले भारतीय पक्षले सांस्कृतिक व्याख्यानका रूपमा दावी गरिरहेको ‘काली नदी’ कुनै पनि ऐतिहासिक तथ्य र प्रमाणले पुष्टि नगर्ने बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?