logo
२०८१ बैशाख ७ शुक्रवार



श्रमिकको तलब सम्बन्धमा त्रिपक्षीय छलफल

मुख्य समाचार |


श्रमिकको तलब सम्बन्धमा त्रिपक्षीय छलफल


सीता शर्मा

काठमाडौँ, जेठ ९ गते । बन्दाबन्दीको समयमा सरकारले चैत महिनाको पूरै तलब र वैशाख महिनाको आधा अहिले र आधा पछि दिनेगरी तलब वितरण गर्नुपर्ने निर्णय गरेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोभिड १९ का कारण उद्योग कलकारखाना सबै बन्द हुँदा श्रमिक कामविहीन भएकाले रोजगारदाता र श्रमिक दुवै पक्षको हितमा यस्तो निर्णय गरिएको जनाएको छ ।
उद्योगी व्यवसायीले लकडाउनका कारण उद्योग व्यवसाय बन्द भएको अवस्थामा श्रमिकलाई तलब दिन नसकिने बताउँदै आएका छन । ठूलो सङ्ख्यालाई रोजगारी दिएको होटल एसोसिएसन नेपाल (हान)ले त होटलमा काम गर्ने श्रमिकलाई छ महिनासम्म १२ प्रतिशत मात्रै तलब दिने निर्णय गरिसकेको छ । कतिले श्रमिक कटौतीको प्रस्ताव गर्दा हालको असल श्रम सम्बन्धमा दरार उत्पन्न हुने सङ्केत देखिएको छ । उद्योग व्यवसाय नै बन्द भएका कारण श्रमिकलाई पूरै तलब खुवाउन नसक्ने अवस्था आएकाले श्रमिक कटौती गर्नुपर्ने अवस्था आएको रोजगारदाताले बताइरहेका छन् । श्रमिकको हक अधिकारको क्षेत्रमा काम गर्ने टे«ड युनियनकर्मीहरूले भने श्रमिकले खाइपाई आएको तलब तथा अन्य सुविधा कटौती गर्न नहुने अडानमा छन् ।
श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले देशमा लकडाउन सुरु (चैत ११ गते)देखि नै अत्यावश्यकबाहेकका अन्य उद्योग बन्द भएको हुँदा बन्द रहेका उद्योगमा काम गर्नेलाई चैत महिनाको पूरै र वैशाख महिनाको अहिले ५० प्रतिशत तलब दिनुपर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रोजगारदाताले श्रमिकलाई वैशाख महिनाको तलब अहिले आधा मात्रै दिए पनि उद्योग खुलेपछि भने बाँकी ५० प्रतिशत दिनुपर्ने हुन्छ । ”
उद्योगी र श्रमिकका नेता पनि यस विषयमा सकारात्मक भएकाले सबै पक्षसँग छलफल गरेर उपयुक्त निर्णय निकाल्न पहल भइरहेको पनि प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।
उहाँले कोभिड १९ ले निम्त्याएको समस्या समाधान गर्न एक्लो सरकारबाट मात्रै सम्भव नहुने भएकाले निजी क्षेत्र र टे«ड युनियनले सरकारलाई साथ दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँका अनुसार रोजगारीमा देखिएको समस्या समाधान गर्न सरकारले आगामी वर्षको बजेटमार्फत उद्योग प्रतिष्ठानका लागि राहतका कार्यक्रम ल्याउने तयारी भइरहेको छ । यसमा रोजगारदाताले सकेसम्म पहलकदमी लिने र असङ्गठित क्षेत्रका श्रमिकका लागि स्थानीय तहसँग समन्वयमा राहत वितरण गर्ने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
संयुक्त टे«ड युनियन समन्वय केन्द्रका अध्यक्ष पुष्कर आचार्यले पछिल्लोपटक श्रम र रोजगारको क्षेत्रमा देखिएको परिस्थितिको समाधानका लागि सरकार, निजी क्षेत्र र श्रमिक सङगठनबीच नियमित छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले श्रमिकको तलब कटौतीमा टे«ड युनियन सहमत हुन नसक्ने भन्दै श्रमिक भोकभोकै परिरहेको अस्थामा पूरै तलबको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । सरकारले लकडाउनलाई सार्वजनिक बिदा घोषणा गरेर तलब दिनुपर्ने भन्ने निर्णयलाई अक्षरशः कार्यान्वयन गरिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । सरकारले चैत महिनाको पूरै तलब दिन भनेर उद्योगलाई निर्देशन दिए पनि श्रमिकले चैत महिनाको ३० प्रतिशत मात्रै तलब पाएको उहाँको दाबी छ । उहाँका अनुसार सबै क्षेत्रमा गरेर देशभर हाल ४० लाख श्रमिक रहेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङघ रोजगारदाता परिषद्का सभापति चन्दप्रसाद ढकालले सबै उद्योगधन्दा गएको चैतदेखि नै बन्द भएकाले हाल श्रमिकलाई ५० प्रतिशत तलब दिनसक्ने अवस्था नरहेको बताउनुभयो ।
उहाँँले अहिलेको यो जटिल परिस्थितिमा उद्योग बचाउन सरकार र श्रमिक दुवै सकारात्मक हुनुपर्ने भएकाले यसमा सबैको सहयोग रहनुुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले उद्योग नै रहेनन् भने देशको अर्थतन्त्र तहसनहस हुने, श्रमिकको रोजगारी गुम्ने र श्रमिक भएनन् भने उद्योग सञ्चालन गर्न नसकिने भएकाले यो अवस्थामा तीन पक्षले नै केही प्रतिशत त्याग गरेर अहिलेको समस्या समाधान गरिनुपर्ने बताउनुभयो ।

समस्या समाधान गर्न कार्यदल
विवाद समाधान गर्ने उद्देश्यले सरकारको नेतृत्वमा रोजगारदाता, ट्रेड युनियन तीनै पक्ष सम्मिलित १५ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा सरकारका तर्फबाट अर्थ, श्रम, उद्योग र कृषि मन्त्रालयका पाँच जना प्रतिनिधि, निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को नेतृत्वमा पाँच÷पाँच जना प्रतिनिधि र श्रमिकका तर्फबाट संयुक्त टे«ड युनियन समन्वय केन्द्रको नेतृत्वमा पाँच जना गरी १५ जना सम्मिलित कार्यदल बनेको छ ।
कार्यदलले नियमित छलफल गरिरहेको भए पनि अहिलेसम्म निचोडमा पुगिनसकेको टे«ेड युनियनको प्रतिनिधित्व गर्दै कार्यदलमा सहभागी हुनुभएका टे«ड युनियनकर्मी पुष्कर आचार्यले जानकारी दिनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?