logo
२०८० चैत्र १६ शुक्रवार



कोरोना नियन्त्रणमा खटिएकाप्रति मानवीय व्यवहार गर्न आग्रह

मुख्य समाचार |


कोरोना नियन्त्रणमा खटिएकाप्रति मानवीय व्यवहार गर्न आग्रह


देवबहादुर कुँवर

काठमाडौँ, जेठ ६ गते । कोभिड–१९ को महामारी नियन्त्रण तथा रोकथाम र सङ्क्रमितहरूको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयं सेवकमाथि अमानवीय व्यवहार गर्नेहरूलाई प्रहरीले पक्राउ गर्न थालेको छ ।
स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गरेको अभियोगमा काठमाडौँ उपत्यकाबाट दुई र अन्य जिल्लाबाट तीन जना गरी पाँच जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका सबैलाई अभद्र व्यवहार मुद्दाअन्तर्गत कानुनी कारबाही भइरहेको जनाइएको छ ।
नेपाल प्रहरीले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवक र सञ्चारकर्मीको सवारी आवागमनमा कुनै किसिमको अवरोध सिर्जना नगर्न पनि आग्रह गरेको छ । सो विषयमा लिखित तथा मौखिक रूपमा गुनासो आएमा संलग्न व्यक्ति र समूहलाई कानुनी कारबाहीको चेतावनी प्रहरीले दिएको छ ।
कोरोना नियन्त्रणको अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवक र सञ्चारकर्मीलाई घरबाट निकाल्ने, अनावश्यक दबाब दिने, अमानवीय व्यवहार गर्नेलाई कारबाही गर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।
प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक निरजकुमार शाहीले गृह मन्त्रालयको निर्देशनपछि कानुनविपरीतका कार्य गर्ने र घरभाडामा बसिरहेकालाई अनावश्यक यातना दिनेविरुद्ध उजुरी लिई कारबाहीका लागि सम्पूर्ण प्रहरी कार्यालयलाई परिपत्र गरिएको जानकारी दिनुभयो ।
४२ स्थानको अवरोध हटाइयो
आफूखुसी सडक, टोल, गल्ली, बस्ती र सहरी इलाकामा बाँस तेस्र्याएर सडक अवरुद्ध गर्ने, तगारो हाल्ने जस्ता कार्य नगर्न प्रहरीले अनुरोध गरेको छ । प्रहरीले सोमबार मात्रै ४२ स्थानको अवरोध हटाएको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले काठमाडौँ उपत्यकाको तीन जिल्लाको विभिन्न स्थानमा सडक अवरुद्ध पार्ने गरी तेस्र्याइएका बाँस, काठ र इँटाको तगारो हटाइएको जानकारी दिनुभयो ।
उहाँले केही स्थानको हटाउने प्रयास भइरहेको बताउनुभयो । यातायात सेवा नै अवरुद्ध हुने गरी सडक गल्लीमा तगारो राख्दा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवक, दमकल, एम्बुलेन्स, खानेपानी र अप्ठ्यारो परेकालाई आवातजावतमा समस्या परेको छ । पोखरेलले एकजना नर्समाथि अपमानजनक व्यवहार गर्ने घरधनीलाई पक्राउ गर्ने जानकारी दिनुभयो ।
त्यस्तै कोरोना सङ्क्रमित व्यक्तिका परिवार र आफन्तमाथि अपमानजनक व्यवहार गर्नेलाई पनि पक्राउ गर्ने भनाइ प्रहरीको छ । कतिपय घरधनीले सामान्य नागरिकलाई पनि कोठा छोड्न भनेमा उनीहरूलाई पनि कारबाहीको चेतावनी प्रहरीले दिएको छ । नेपाल प्रहरीका अनुसार कोभिड–१९ को सङ्क्रमण फैलिएसँगै कैलाली, कास्की, बाँके, बर्दिया, सुर्खेत, रुपन्देही, चितवन, काठमाडौंँ, बारा, जनकपुर, पर्सा, रौतहट र सुनसरी लगायतका जिल्लामा कार्यरत स्वास्थ्यकर्मीमाथि घरधनीबाट कोठा सार्न दबाब आएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?