logo
२०७७ जेष्ठ २१ बुधवार

१५ मिनेटअघि नै चट्याङको पूर्वानुमान

खुला |


2020-05-15-14388


चाँदनी हमाल

काठमाडौँ, जेठ २ गते । वर्षाको पूर्वानुमान जस्तै अब नेपालमा चट्याङको पनि पूर्वानुमान हुने भएको छ । यतिबेला मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको मौसमको विवरणमा एक वा दुई शब्दमा ‘मेघ गर्जन र चट्याङ’ सहित असिना पानी सहितको वर्षा हुनेछ भन्ने मात्र उल्लेख हुने गरेको छ । चट्याङको पूर्वानुमान सुरु भएपछि कुन क्षेत्रमा चट्याङ पर्छ भन्ने किटेरै पूर्ण विवरण प्रक्षेपण गर्ने तयारी जल तथा मौसम विज्ञान विभागले गरेको छ ।
चट्याङले जनधनको क्षति बढेकाले यसको पूर्वानुमान गर्न सरकारले समेत जोड दिँदै आएको छ । चट्याङको पूर्वानुमानले एक दिन वा दुई दिन वा कुनै लामो समयको विशिष्ट पूर्वानुमानभन्दा पनि कुन क्षेत्रमा चट्याङ पर्दैछ भन्ने जानकारी दिन सक्छ । त्यस्तै नाउकास्ट अर्थात् चट्याङ पर्ने एकाध घण्टा अघिको मात्र पनि पूर्वानुमान गर्न सहज हुने विभागकी प्रवक्ता तथा वरिष्ठ मौसमविद् डा. अर्चना श्रेष्ठले जानकारी दिनुभयो ।
चट्याङ भनेको खराब मौसमको समयमा आकाशबाट जमिनमा खस्ने एक प्रकारको विद्युतीय करेन्ट हो । हुरी बतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु र बादल एकापसमा रगडिँदा चर्को आवाजसहित अत्यधिक भोल्टको विद्युतीय लहर उत्पन्न भई खास बाटो बनाएर जान्छ, यसलाई नै चट्याङ भनिन्छ । यो अचानक हुने विद्युतीय विस्फोट हो ।
चट्याङ पर्दा बादलबाट बादल र त्यहाँबाट पृथ्वीतर्फ विद्युतीय लहर उत्सर्जन हुन्छ । यो प्राकृतिक खतरा पनि हो । सामान्यतया चट्याङको आवाज २० किलोमिटरभन्दा टाढा सुन्न सकिँदैन । अपवादका रूपमा ६० किलोमिटरसम्म सुनिएको रेकर्ड छ । चट्याङ पर्दा उत्पन्न हुने करेन्टलाई वैज्ञानिक भाषामा विद्युतीय अणु प्रोटन भनिन्छ । ती प्रोटन अणु पृथ्वीमा भएको न्युटल अणु प्राप्त गर्न जमिनतर्फ चुम्बकीय गतिले प्रहार हुन्छन् ।
प्रवक्ता श्रेष्ठका अनुसार आकाशमा एक प्रकारको फरक बादल हुन्छ, जसलाई क्युमोलो निम्बस भनिन्छ । त्यो बादलले हावाहुरी, असिनापानी र चट्याङ पार्ने क्षमता राख्छ । श्रेष्ठले त्यही बादलको वैज्ञानिक अनुगमन वा पछ्याउने काम गर्न सक्यौँ भने हामीले चट्याङ यो ठाउँमा पर्छ भनेर भन्न सकिन्छ र जनधनको क्षति रोक्न सकिन्छ भन्नुभयो । त्यस्तै अन्य मौसम पूर्वानुमान गर्ने क्रममा ‘रियल टाइम डाटा’ सङ्कलन गर्दा चट्याङको पनि रेकर्ड गरिन्छ । विभागले देशका विभिन्न स्थानमा गत वर्ष नौवटा चट्याङ मापन केन्द्र स्थापना गरेको छ । तिनीहरूले रेकर्ड गर्ने तथ्यले आउँदो १५ मिनेटमा कहाँ चट्याङ पर्छ भनेर आकलन गर्छ ।
छोटो समयभित्र गर्ने पूर्वानुमान भएकाले चट्याङको ‘नाउ कास्टिङ’ भनेर नमुना परियोजनाका रूपमा विभागले परीक्षण गरिरहेको छ । देशका तीन स्थानमा स्थापना गर्ने भनिएका राडारमध्ये सुर्खेतमा मात्र स्थापना गर्न विभाग सफल भएको छ । पाल्पा र उदयपुरमा भने स्थापना गर्न बाँकी नै छ ।
राडारले विभिन्न केन्द्रमा पठाएको सूचना विश्लेषण गरेपछि नेपालको मौसमको सही जानकारी दिन सकिने अवस्था छ । तथापि अन्य देशको भूउपग्रह तथा स्याटलाइटको सहयोगले प्राप्त जानकारीलाई नेपालको मौसम पूर्वानुमान महाशाखाले सहायकका रूपमा लिएको छ । यसरी गरिएको अनुमानले यही रुखमा वा स्थानको वस्तुमाथि चट्याङ पर्छ भनेर भन्न नसकिए पनि यो क्षेत्रमा पर्न सक्छ भनेर एकदेखि १५ मिनेटभित्र चट्याङको जानकारी दिन सकिने बताइएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?