logo
२०८० चैत्र १६ शुक्रवार



भक्तपुरमा खतरा बढेसँगै उच्च सतर्कता

राष्ट्रिय |


भक्तपुरमा खतरा बढेसँगै उच्च सतर्कता


नगेन्द्र सापकोटा

भक्तपुर, जेठ १ गते । भक्तपुरमा कोरोना भाइरस (कोभिड–१९) विस्तार हुन सक्ने खतरा बढ्दै गएपछि उच्च सतर्कता अपनाइएको छ । अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ ।
भक्तपुरमा मङ्गलबार साँझ दुई जनामा कोरोना भाइरस सङ्क्रमित भेटिएपछि उच्च सतर्कता अपनाइँदै भक्तपुरको जिल्ला स्तरीय ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’को बुधबार बसेको बैठकले अत्यावश्यकबाहेक कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गरेको हो ।
अत्यावश्यक वस्तुबाहेक व्यापार, उद्योग, व्यवसाय सञ्चालनमा रोक लगाइएको चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले जानकारी दिनुभयो । भक्तपुर प्रवेश गर्ने र बाहिर जाने अत्यावश्यक बाहेकका व्यक्ति र सवारी साधनलाई निषेध गर्ने, भक्तपुरका चारवटै नगरपालिकाले क्वारेन्टाइन व्यवस्थित राख्ने, पालिकाका सबै वडाले आफ्नो वडामा बाहिरबाट आएका व्यक्तिको निगरानी राख्ने उक्त समितिले निर्णय गरेको छ ।
त्यस्तै स्थानीय र सरोकारवाला निकायबाट खाद्यान्न तथा आपूर्तिको प्रभावकारी व्यवस्थापन तथा नियमन गर्ने र खाद्यान्न अभाव भएका व्यक्तिलाई राहत उपलब्ध गराउने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुुभयो ।
सङ्क्रमित दुई जना बस्दै आएका घरलाई पूर्ण रूपमा सिलबन्दी गरिएको छ । उहाँहरूको पारिवारिक सदस्य र यात्रा विवरणका आधारमा कन्ट्र्याक टे«सिङ गर्ने निर्णय भएको छ । शङ्कास्पद व्यक्ति सबैलाई क्वारेन्टाइनमा राख्ने र भक्तपुरबाट अन्य जिल्लामा जानका लागि यसअघि प्रदान गरिएको सवारी पासको खारेजीको सूचना प्रकाशित गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
परीक्षणपछि प्रवेश
मध्यपुर थिमि नगरपालिकाले पीसीआर विधिबाट कोरोना परीक्षणको ‘नेगेटिभ रिपोर्टपश्चात्’ मात्र बाहिरबाट आएका व्यक्तिलाई घरमा प्रवेश गर्न दिने निर्णय गरेको छ ।
पीसीआरको नेगेटिभ रिपोर्टबिना कसैलाई कोठा भाडामा वा आफन्तको घरमा राखे नगरपालिकाले घरधनीलाई कारबाही गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुुभयो ।
मङ्गलबार साँझ नगरपालिका वडा नं. ९ मा सुनसरीबाट आफ्नो साथीको कोठमा बस्ने युवतीलाई कोरोना भाइरसको सङ्क्रमित भएको पुष्टि भएसँगै नगरपालिकाले उच्च सतर्कता अनपाएको हो । अरनिको राजमार्ग र पुराना बाटोको राजमार्गबाहेका भित्री सबै बाटो बन्द गरिएको छ । खाद्यान्न, औषधि, पानी, ग्यास लगायतका अत्यावश्यक वस्तु बिक्री गर्ने पसल बिहान नौ बजेसम्म मात्र खुल्ने र अन्य समय पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको श्रेष्ठले जानकारी दिनुभयो । तरकारी, फलफूल लगायतका अन्य पसल पनि दिनभर खोल्न नपाउने व्यवस्था गरिएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?