logo
२०८१ बैशाख १२ बुधवार



विदेशमा रहेका नेपालीको समस्या समाधान गर्न निर्देशन

राष्ट्रिय |


विदेशमा रहेका नेपालीको समस्या समाधान गर्न निर्देशन


चाँदनी हमाल

काठमाडौँ, वैशाख ३१ गते । परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपालीको स्वदेश फिर्ता गर्न थप परामर्श थालेको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार खाडी तथा अफ्रिकी मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग त्यस बारेमा भर्चुअल परामर्श गर्नुभएको छ ।
उहाँले नेपालका नागरिक फिर्ता ल्याउनुपर्ने अवस्था छ, कसरी कुन प्रक्रियाले फिर्ता ल्याउन सकिन्छ पहल सुरु गर्नुहोस् । मङ्गलबार त्यस क्षेत्रका राजदूत तथा नियोग प्रमुखलाई भन्नुभयो ।
परराष्ट्र मन्त्री ज्ञवालीले त्यहाँको सरकारसँग नजिक रहेर थप प्रक्रिया अगाडि बढाउनसमेत निर्देशन दिनुभएको छ । त्यस्तै कोभिड–१९ को महामारीका कारण विभिन्न समस्यामा परेका नेपालीको समस्या समाधानका लागि प्रयत्न गर्न पनि निर्देशन दिनुभएको छ ।
त्यस्तै अन्य देशमा नियमित रोजगारीको समय सकिएर फर्कने अवस्थाका, वार्षिक बिदाको अनुमति लिइसकेका, बिरामी परेका र आफन्त भेट्न गएका परिवारका सदस्य लगायतका नेपालीलाई कसरी फर्काउने भन्ने विषयमा मन्त्री ज्ञवालीले राजदूतसँग परामर्श गर्नुभएको मन्त्रालयस्थित मध्यपूर्व तथा अफ्रिका महाशाखाका प्रमुख हरिश्चन्द्र घिमिरेले जानकारी दिनुभयो ।
श्रम गन्तव्य मुलुक साउदी अरब, कतार, कुवेत, यूएइ, बहराइन ओमान लगायतका देशमा नेपालीको वास्तविक अवस्थाको यकिन तथ्यसहित मन्त्रालयलाई बुझाउन छलफलका क्रममा मन्त्री ज्ञवालीले आदेश दिनुभएको घिमिरेले बताउनुभयो । हाल आइरहेको तथ्याङ्क गैरआवासीय नेपाली सङ्घले दिने तुलनामा निकै कम आइरहेकाले मन्त्री ज्ञवालीले सचेत गराउनुभएको थियो ।
भर्चुअल अन्तक्र्रियामा विभिन्न देशका राजदूत शर्मिला पराजुली, डा. अञ्जान शाक्य, झविन्द्र अर्याल, कृष्णप्रसाद ढकाल, नारद भारद्वाज, पदम सुन्दास, महेन्द्रप्रसाद सिंह, उदयराज पाण्डे, गोमा भण्डारी र जेद्दाहका कार्यवाहक महावाणिज्य दूत रेवतीरमण पौडेल सहभागी हुनुुहुन्थ्यो ।
मन्त्रालयबाट मन्त्री ज्ञवालीसहित परराष्ट्र सचिव शङ्करदास बैरागी तथा विभिन्न देश हेर्ने महाशाखा प्रमुख सहभागी हुनुहुन्थ्यो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?