logo
२०८० चैत्र १६ शुक्रवार



उपत्यका प्रवेशमा थप कडाइ

मुख्य समाचार |


उपत्यका प्रवेशमा थप कडाइ


देवबहादुर कुँवर

काठमाडौँ, वैशाख २५ गते । कोभिड–१९ महामारीको सङ्क्रमणबाट काठमाडौँ उपत्यकालाई सुरक्षित राख्न उपत्यका प्रवेश गर्ने मुख्य नाकामा थप सुरक्षा निगरानी बढाइएको छ ।
यसक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी र महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले बुधबार नागढुङ्गा नाकाको स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ । बाहिरबाट उपत्यका आउनेका कारण कोरोना सङ्क्रमण फैलिन सक्ने भएकाले मुख्य नाकाबाट हुने असुरक्षित प्रवेशमा कडाइ गर्ने र नाकामा सुरक्षाकर्मी थप्ने तयारी गरिएको छ ।
यसअघि काठमाडौंँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले नागढुङ्गा नाकाको निरीक्षण गरी उपत्यका प्रवेशमा कडाइ गर्न निर्देशन दिनुभएको थियो । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य नाकामा कडाइ गरी उपत्यकाको आन्तरिक बन्दाबन्दी खुकुलो बनाउँदा खासै फरक नपर्ने बताउनुहुन्छ । उपत्यकाको आन्तरिक बन्दाबन्दी खुकुलो हुने बित्तिकै राहतको समस्या पनि समाधान हुने अपेक्षा गरिएको छ ।
मङ्गलबार काठमाडौँ महानगरका प्रमुख शाक्यसहित ललितपुर, भक्तपुर र ठिमीका प्रमुखहरूको भेलाले नाकामा कडाइ गरी आन्तरिक बन्दाबन्दी खुकुलो बनाउन सुझाव दिनुभएको थियो । उपत्यकासँग जोडिएका नागढुङ्गा, फर्पिङ र साँगा जगाते मुख्य नाका हुन् ।
त्यसका अतिरिक्त मुड्खु, टोखा, साँखु जरसिंहपौवा, रामकोट, ललितपुरको लुभु र लेले, चन्द्रागिरी लगायत अन्य नाकामा समेत थप सुरक्षाकर्मी परिचालन गरी कडाइ गर्नुपर्ने बताएका छन् । नागढुङ्गा, मुड्खु र जगातेमा सशस्त्र प्रहरीसमेत परिचालन गरिएको छ । त्यस्तै, अन्य नाकामा महानगरीय प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरी एकै साथ परिचालन गर्ने तयारी भइरहेको छ । महानगरीय प्रहरी प्रमुख पोखरेलले पासबिना नै काठमाडौँ भित्रिँदै गरेका निजी सवारी साधनहरू फिर्ता गरिएको बताउनुभयो ।
खाद्य, तरकारी, पानी, फलफूल र सवारी पास भएका सवारी साधनलाई भने अवरोध छैन । प्रमुख जिल्ला अधिकारीले सवारी पास भएका सवारी साधनसमेत रोक्न निर्देशन दिएपछि समस्या सिर्जना भएको छ ।
ट्राफिक महाशाखा प्रमुख ढकाल गृह मन्त्रालय र उपत्यकाको तीन जिल्लाबाहेक अन्य जिल्लाको पास बोकेर आउने सवारीलाई समेत फर्काइएको बताउनुहुन्छ । काठमाडौँ उपत्यकाको विभिन्न नाकाबाट सवारी पास बिना नै काठमाडौँ प्रवेश गर्ने एक सयभन्दा बढी सवारी साधन फिर्ता पठाइएको प्रहरीले जनाएको छ ।

सुुरक्षा व्यवस्था कडा गर्न आग्रह
उपत्यका नगरपालिका फोरमले बन्दाबन्दीका क्रममा घर फर्केका नागरिक लुकीछिपी उपत्यका प्रवेश गर्न थालेकाले उपत्यका प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा व्यवस्था कडा गर्न सरकारसँग आग्रह गरेको छ । अहिले उपत्यका प्रवेश गर्ने नाकामा भएको जाँच फितलो देखिएको भन्दै सुरक्षा जाँचमा कडाइ गर्न उपप्रधान तथा कोरोना रोकथाम उच्च स्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरलेसँग फोरमले मङ्गलबार आग्रह गरेको हो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन र मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रतिनिधिसभाका सांसद कृष्णगोपाल श्रेष्ठसहितले उपप्रधानमन्त्री पोखरेलसँग भेटघाट गरी उपत्यका प्रवेश गर्ने नाकामा जाँच कडाइ गर्न आग्रह गरेको हो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?