logo
२०८१ बैशाख १२ बुधवार



औषधिको नाममा लागूऔषधको धन्दा !

मुख्य समाचार |


औषधिको नाममा लागूऔषधको धन्दा !


देवबहादुर कुँवर

काठमाडौँ, वैशाख २३ गते । बन्दाबन्दीको मौका छोपी औषधिजन्य सामग्री ओसारपसार गर्ने नाममा केही व्यक्ति लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको पाइएको छ । सो घटनामा संलग्न रहेको अभियोगमा करिब एक सय जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी कार्यालयले प्रदेश ३–००२–१२ प ७४७९ नम्बरको मोटरसाइकल चढेर काठमाडौँबाट रौतहट जाँदै गरेका नरबहादुर गोलेलाई गत बिहीबार साँझ दक्षिणकाली चाल्नाखेलस्थित खहरे सडक चोकबाट पक्राउ ग¥यो । उनीबाट चार सय ग्राम खैरो हिरोइन बरामद गरेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार रौतहट चन्द्रनिगाहपुर–४ निवासी अभियुक्त गोले काठमाडौँ प्रहरीको आँखा छलेर दक्षिणकाली हँुदै मोटरसाइकलमा लागूऔषध खैरो हिरोइन, नाइट्रोभेट ट्याब्लेट सात पिस र एक लाख २२ हजार नौ सय रुपियाँ बोकेर गृहजिल्ला घर फर्किंदै थिए ।
बन्दाबन्दी कार्यान्वयनका लागि चाल्नाखेल सडकमा खटिएका प्रहरीले शङ्का लागी सवारी पास तथा मोटरसाइकल नियन्त्रणमा लिई अनुसन्धान गर्दा उक्त परिमाणको लागूऔषध र नगद बरामद भएको महानगरीय प्रहरी परिसर प्रमुख श्याम ज्ञवालीले जानकारी दिनुभयो ।
त्यस्तै बर्दिया जिल्लाको गुलरिया नगरपालिका–६ स्थित सडकमा बा. १२ च ६२९९ नम्बरको गाडी सवारी पासबिना नै गुडिरहेको फेला परेपछि थप अनुसन्धान गर्दा यही बुधबार ४६ ग्राम ४३० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गाडीमा सवार कैलाली टीकापुर नगरपालिकाका २८ वर्षीय राजन रावल, लम्की चुवाका २९ वर्षीय रोशन कडायत, दैलेख दुल्लुका २७ वर्षीय आकाश शाह र टीकापुरका ३३ वर्षीय रमेश न्यौपाने पक्राउ परेका छन् ।
अभियुक्तहरूले लक डाउनमा लागूऔषध कारोबार गर्ने योजना अनुरूप औषधि व्यवसायसम्बन्धी कागजपत्र तयार पारी सवारी साधन प्रयोग गरी उक्त अपराध गर्ने गरेको पाइएको छ । गाडीको स्टेरिङभित्र कालो रङको प्लास्टिकमा पोको पारी लुकाई राखिएको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला परेको हो ।
यस्तै विराटनगर दरैयास्थित को. ३६ प ५५६० नम्बरको मोटरसाइकलमा सवार ३४ वर्षीय दीनबन्धु मोदी ठूलो मात्रामा लागूऔषधसहित पक्राउ परेका छन् । उनका साथबाट डाइलेक्स डीसी १५ बोतल, नाइट्राभेट ३० ट्याब्लेट र स्पास्मो प्रोसिभेन प्लस २४ ट्याब्लेट बरामद भएको छ ।
औषधिजन्य सामग्री ओसारपसार गर्ने सवारी साधनलाई प्रहरीले समेत कडाइका साथ जाँच नगर्ने भएकाले मुलुकभर लागूऔषध कारोबारी सक्रिय भएको भनाइ प्रहरीको छ । पक्राउ परेका अधिकांश अभियुक्त पेशेवर कारोबारी भएको प्रहरीको ठहर छ ।
नेपाल–भारत सीमा सिलबन्दी गरेसँंगै लागूऔषध कारोबारीले वैकल्पिक मार्ग प्रयोग गर्नुका साथै सवारी साधनको अधिकतम प्रयोग गर्ने गरेका छन् । प्रहरीका अनुसार बन्दाबन्दी सुरु भएको चैत ११ गतेदेखि वैशाख १८ गतेसम्म करिब एक सय जना पक्राउ परेका छन् । उनीहरूका साथबाट ठूलो मात्रामा विभिन्न किसिमको लागूऔषध, केही नगद र ५० वटाभन्दा बढी सवारी साधन बरामद भएका छन् ।
केन्द्रीय लागूऔषध नियन्त्रण ब्युरोले औषधिजन्य सामग्री ओसारपसारका नाममा अवैध लागूऔषध भित्रिनेमा प्रहरी सचेत रहेको बताएको छ । त्यस्तै सवारी पास तथा औषधिजन्य सामग्री ओसारपसारमा संलग्न व्यक्ति तथा सवारी साधनमाथि समेत निगरानी राख्ने र सवारी साधनहरूको सुरक्षा जाँचमा कडाइ गर्ने तयारी गरिएको छ । काठमाडौँ उपत्यका, तराईका जिल्ला तथा राजमार्गमा गुड्ने सवारी साधनमाथि निगरानी बढाउने तयारी गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?