logo
२०८० चैत्र १६ शुक्रवार



सवारी चाप बढेसँगै उच्च सतर्कता

मुख्य समाचार |


सवारी चाप बढेसँगै उच्च सतर्कता


देवबहादुर कुँवर

काठमाडौँ, वैशाख २२ गते । कोरोना विषाणु (कोभिड–१९) का कारण बन्दाबन्दी लम्बिएसँंगै काठमाडौँ उपत्यकामा सवारी आवागमनको चाप दिन प्रतिदिन बढ्न थालेको छ । यसले बन्दाबन्दी कार्यान्वयनमा चुनौती थपेको छ ।
महानगरीय प्रहरी, ट्राफिक प्रहरी र स्थानीय प्रशासन कार्यालयले बन्दाबन्दी खुकुलो बनाउने रणनीति अनुरूप कोरोना सङ्क्रमण नियन्त्रण सम्बन्धी स्वास्थ्य सतर्कता र सुरक्षा तयारीका सम्बन्धमा छलफल सुरु गरेको छ ।
उपत्यकामा कोरोना सङ्क्रमण भित्रिन नदिन काठमाडौँ, ललितपुर र भक्तपुरका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यका प्रवेश गर्ने नाकामा सुरक्षा निगरानी उच्च राख्नुका साथै सवारी चाप आपसी समन्वयका आधारमा व्यवस्थित गर्ने तयारी गरेको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न काठमाडौँ जिल्लामा उच्च सतर्कता अपनाइएको बताउनुभयो । उहाँले केही दिन यता सवारी चाप बढेको छ, यसको व्यवस्थापन हँुदैछ भन्नुभयो । प्रजिअ दाहाल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालको संयुक्त सुरक्षा टोलीले काठमाडौँं जिल्लाका विभिन्न क्षेत्रमा स्थलगत अवलोकन ग¥यो । बन्दाबन्दीमा कडाइ गर्दा पनि सडकमा सवारी चाप बाक्लो देखिन थालेपछि नागरिकको दैनिक जीवन सहज, सुरक्षा व्यवस्था र भावी रणनीति तयार गर्न संयुक्त अवलोकन गरिएको ढकालले बताउनुभयो ।

जोगिन उपत्यका प्रवेश
तराईका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण फैलिएसँंगै गृह जिल्ला छाडेर नागरिक रातारात काठमाडौँ उपत्यका आउन थालेपछि थप जोखिम बढेको छ । कोरोना विषाणुको सङ्क्रमण तराईका जिल्लामा बढ्दै गएको छ । केही दिनअघि मात्र विराटनगर, वीरगञ्ज र बुटवलबाट २४ भन्दा बढी यातायातका सवारी साधन यात्रु बोकेर काठमाडौँ भित्रिएका थिए । सवारी साधनका लागि नागढुङ्गा नाकामा निसङ्क्रमण टनेल निर्माण गरिएको छ ।
यसरी बाहिरबाट उपत्यका प्रवेश गर्नेलाई कडाइ गरिए पनि निजी तथा भाडाका सवारी साधन प्रयोग गरी विभिन्न बहाना बनाएर मध्यरातमा उपत्यका भित्रिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको बताइएको छ । त्यस्तै फर्पिङ, मुड्खु, भक्तपुरको जगाती र जर्सिङपौवा नाकामा समेत टनेल राख्ने योजना बनाइएको जानकारी महाशाखा प्रमुख ढकालले दिनुभयो । निसङ्क्रमण टनेल निर्माण गर्दा यात्रु तथा सवारी केही हदसम्म सुरक्षित हुने देखिन्छ । खाद्य, तरकारी, पलफूल लगायत दैनिक उपभोग्य सामग्री बोकेर आउने सवारी साधनबाट समेत कोरोना विषाणु भित्रिन सक्ने भन्दै त्यस्ता सवारी साधनमाथि विशेष निगरानी बढाई डिस्इन्फेक्सन अनिवार्य गरिनेभएको छ ।
बन्दाबन्दी खुकुलो पार्ने तयारी भएसँंगै उपत्यकाको सुरक्षाका लागि कस्तो रणनीति अख्तियार गर्ने भन्ने विषयमा स्थानीय तह, प्रहरी र प्रशासनिक निकायबीच छलफल सुरु भएको हो । उपत्यकामा दिउँसो १५५ स्थान र राति ४५ स्थानमा नियमित सवारी जाँच हुने गरेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?