logo
२०८१ बैशाख ७ शुक्रवार



कोरोनाले विदेशमा ७३ नेपालीको मृत्यु

मुख्य समाचार |


कोरोनाले विदेशमा ७३ नेपालीको मृत्यु


चाँदनी हमाल

काठमाडौँ, वैशाख २२ गते । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण विश्वका विभिन्न देशमा गरी ७३ जना नेपालीको मृत्यु भएको छ । पाँच हजारभन्दा बढी सङ्क्रमित भएका छन् । एक साताअघि मृत्यु हुनेको सङ्ख्या ४९ थियो । हालसम्म विश्वका २७ देशका नेपालीमा कोरोना सङ्क्रमण भएको छ ।
गैरआवासीय नेपाली सङ्घ अन्तर्गत गठित स्वास्थ्य समितिले बताए अनुसार कोरोना सङ्क्रमणबाट सबैभन्दा बढी बेलायतमा ४९ जनाको मृत्यु भएको छ । जस अनुसार बेलायतको ग्रेटर लन्डनमा २७, मिडल्यान्डमा आठ, साउथ इस्टमा ११, साउथ वेस्टमा तीन जनाको मृत्यु भएको हो ।
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ । त्यहाँ सबैभन्दा बढी न्यूूयोर्कमा १२, कोलोराडोमा दुुई र भर्जिनियामा एक जना नेपालीको मृत्यु भएको छ ।
समितिका संयोजक डा. सञ्जिव सापकोटाले दिनुभएको जानकारी अनुसार संयुक्त अरब इमिरेटस् (यूएई) मा पाँच, आयरल्यान्डमा एक, जापानमा एक, टर्कीमा एक र नेदरल्यान्डमा एक जना गरी कुल ७३ गैर आवासीय नेपालीको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ ।
नेपालबाहेक विश्वका विभिन्न मुलुकमा गरी पाँच हजार २४७ जना गैरआवासीय नेपाली कोरोना भाइरसको सङ्क्रमणमा परेका छन् । तीमध्ये एक हजार ५७० जना नेपाली स्वास्थ्य लाभ गरिसकेका छन् ।
कतारसहित केही मध्यपूर्वका मुलुकले दुुई हजार तीन सय नेपाली श्रमिकमा कोरोना सङ्क्रमण भएको तथ्याङ्क सार्वजनिक गरेको छ । सङ्घको स्वास्थ्य समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मध्यपूर्वका देशमा दुई हजार तीन सय, अमेरिकामा एक हजार पाँच सय, बेलायतमा एक हजार, बहराइनमा १२६, यूएईमा एक सय, कुबेतमा ७८, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्यान्डमा २२, स्पेनमा १२, अस्टे«लियामा १०, बेल्जियममा छ, जापानमा छ, स्विजरल्यान्डमा पाँच, क्यानडामा पाँच, जर्मनीमा चार, साइप्रसमा तीन, मलेसियामा तीन, न्युजिल्यान्डमा तीन, माल्दिभ्समा दुई, माल्टामा दुई, हङ्कङमा दुई, म्यानमारमा एक, फ्रान्समा एक जना गैरआवासीय नेपालीलाई कोरोना सङ्क्रमण रहेको पाइएको छ ।
सङ्घले कोरोना भाइरसबाट प्रभावित भएकाको सहयोगार्थ ४५ देशका राष्ट्रिय समन्वय परिषद्मार्फत राहत वितरणको काम गरिरहेको जनाएको छ ।

परराष्ट्रले अध्ययन गर्दै
सरकारले गत वैशाख १४ गतेको मन्त्रिपरिषद्मा गरेको निर्णय अनुसार विदेशमा रहेका नेपालीको अवस्थाको परराष्ट्र मन्त्रालयले अध्ययन सुरु गरेको छ । तीन जना सहसचिव सहितको कार्यदल गठन गरेर मन्त्रालयले विदेशस्थित नेपालीको अवस्थाको अध्ययन थालेको हो ।
कार्यदलका संयोजक तथा मध्यपूर्व हेर्नुहुने सहसचिव हरिश्चन्द्र घिमिरेका अनुसार विदेशस्थित कूटनीतिक नियोग, राजदूतावास तथा गैरआवासीय नेपाली सङ्घको सहयोगमा नेपालीको अवस्थाबारे तथ्याङ्क सङ्कलन भइरहेको छ ।
पोस्ट कोभिड अवस्थाको अध्ययन, विश्लेषण तथा तथ्याङ्क सङ्कलनसँगै यसले स्वदेशको आर्थिक अवस्था तथा विदेशमा रहेको नेपालीको जीवनमा पार्ने असरकाबारेमा पनि मन्त्रालयको अध्ययनले विश्लेषण गर्ने सहसचिव कुमारराज खरेलले बताउनुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?