logo
२०८१ बैशाख १३ बिहीवार



अरनिको राजमार्ग विस्तार हुने

चीनसँग २५ अर्ब आर्थिक सहयोगको प्रस्ताव

मुख्य समाचार |


अरनिको राजमार्ग विस्तार  हुने


भउचप्रसाद यादव

काठमाडौँ, वैशाख ९ गते । चीनसँगको मुख्य नाकाका रूपमा रहेको तातोपानीदेखि धुलिखेलसम्मको अरनिको राजमार्ग विस्तार हुने भएको छ । चीन सरकारको आर्थिक सहयोगमा अहिले साढे पाँच मिटर रहेको सो राजमार्ग एघार मिटरमा विस्तार हुने भएको सडक विभागले जनाएको छ ।
सडक विभाग, वैदेशिक सहायता महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले नेपाल र चीनलाई जोड्ने मुख्य नाकाका रूपमा रहेको तातोपानीदेखि काभ्रेको धुलिखेलसम्म अरनिको राजमार्ग चीन सरकारको आर्थिक सहयोगमा विस्तारका लागि आवश्यक प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो । काठमाडौँदेखि सिन्धुपाल्चोकको तातोपानीसम्म सो राजमार्गको कुल लम्बाइ ११४ किलोमिटर रहेकोमा तातोपानीदेखि धुलिखेलसम्मको कुल लम्बाइ ८४ किलोमिटर रहेको छ ।
‘‘अरनिको राजमार्गको तातोपानीदेखि धुलिखेलसम्मको सडकखण्ड विस्तार गर्न आर्थिक सहयोगका लागि अर्थ मन्त्रालयमार्फत चीन सरकारसमक्ष औपचारिक आर्थिक प्रस्ताव पेस गरिसकिएको छ’’, उहाँले भन्नुभयो, ‘‘अनुदान वा ऋण सहयोगका लागि प्रस्ताव पेस गरिए पनि चीनको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आउन सकेको छैन । ’’ अर्थ मन्त्रालयको निर्देशनमा सडक विभागले सो राजमार्गका विस्तारका लागि प्रस्ताव तयार गरेको उहाँले स्पष्ट पार्नुभयोे ।
चीनसँग २५ अर्ब रुपियाँ बराबरको आर्थिक सहयोगका लागि प्रस्ताव पेस गरिएको बताउँदै महाशाखा प्रमुख थापाले चीनले अनुदान वा ऋणमध्ये जे दिए पनि नेपाललाई स्वीकार्य हुने स्पष्ट पार्नुभयो । सो राजमार्गमा अहिले साढे पाँच मिटर रहेको कालोपत्रे सडकलाई एघार मिटरमा विस्तार गर्नका लागि चीनसँग आर्थिक सहयोग माग गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार, सडक विस्तारका साथै सो राजमार्गमा पर्ने पुल निर्माण तथा पहिरो नियन्त्रणसमेत गरिने छ ।
काभ्रेको धुलिखेलदेखि सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै तातोपानीसम्मको सो राजमार्ग विस्तार गर्न माग गरिएको ऋण चीन सरकारद्धारा स्वीकृत भएमा चालू आर्थिक वर्षबाट काम सुरु गरिने बताउँदै उहाँले भन्नुभयो, ‘‘अहिलेको सो सडक साढे पाँच मिटर कालोपत्रेसहित छ मिटरभन्दा बढी छैन, अब त्यसलाई विस्तार गरी एघार मिटर पु¥याइने छ । ’’
चीनद्वारा नै अरनिको राजमार्ग निर्माण गरिएको हुनाले त्यसको विस्तारका लागि पनि चीनसमक्ष नै आर्थिक सहयोगको प्रस्ताव पेस गरिएको हुनाले उहाँले स्पष्ट पार्नुभयो । गत असोजमा सम्पन्न चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा समेत सो राजमार्गलाई विभिन्न चरणमा विस्तार तथा स्तरोन्नति गरिने समझदारी दुई मुलुकबीच भएको थियो ।
नेपाल र चीनको सिमाना तातोपानीस्थित मैत्री पुलदेखि काठमाडौँको माइतीघरसम्म रहेको अरनिको राजमार्ग सन् १९६० मा चीन सरकारले निर्माण गरेका हुन । अरनिको राजमार्ग नेपाललाई तिब्बतसँग जोड्ने पहिलो राजमार्ग हो । चीनमा गएर नेपाललाई चिनाउने कलाकार अरनिकोको सम्मानमा यो राजमार्गको नामकरण गरिएको हो ।
यसअघि, २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएका सो राजमार्ग चीन सरकारले मर्मतसम्भार गरी नेपाललाई हस्तान्तरण गरेको थियो । काठमाडौँदेखि सिन्धुपाल्चोकको तातोपानीसम्म पाँच स्थानमा भूकम्पले क्षति भई यातायात अवरुद्ध बनेको थियो । चीनको सरकारी निर्माण कम्पनी चाइना रेल्वे सिसिजु ग्रुप कर्पोरेसनले सो राजमार्ग मर्मत गरेको थियो । राजमार्गको ८३, १००, १०३, ११२ र ११४ किलोमिटरमा मर्मत गरी सञ्चालनमा ल्याइएको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?