logo
२०७७ जेष्ठ १६ शुक्रवार

‘कोरोना रोक्न लकडाउन प्रभावकारी विधि’

अन्तरवार्ता |


2020-04-20-12733


विश्व यतिबेला कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट आक्रान्त छ । नेपाल पनि यसको सङ्क्रमणबाट अछुतो छैन । सरकारले नेपालमा कोरोना भाइरस सङ्क्रमणलाई रोकथाम, नियन्त्रण र उपचारमा सन्तोषजनक पूर्वतयारी गरेका कारण अहिलेसम्म नेपालीले सङ्क्रमणको भयावह स्थिति सामना गर्नुपरेको छैन ।
करिब डेढ महिना अघिमात्र मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीका लागि अहिले आरामको समय हो तर उहाँ अस्पतालबाट डिस्चार्जपछि दैनिक यसै विषयमा केन्द्रित रहेर बिहान ६ बजेदेखि राति १२/१ बजेसम्म क्रियाशील हुनुहुन्छ । प्रस्तुत छ प्रधानमन्त्री ओलीसँग कोेरोना सङ्क्रमण नियन्त्रण, सङ्क्रमितको उपचार र बन्दाबन्दीका कारण विदेशमा रहेका नेपालीका सम्बन्धमा सरकारले गरिरहेको पहलका सेरोफेरोमा गोरखापत्रका सम्पादक सल्लाहकार गोपाल खनाल, प्रबन्ध सम्पादक श्रीधर आचार्यसहित राज्यको स्वामित्वमा रहेका सञ्चार माध्यमहरूले गरेको विशेष कुराकानीको सम्पादित अंश :

 विश्वका कतिपय मुलुकको तुलनामा नेपालमा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमै देखिन्छ । तर पछिल्लो समयमा आएका रिपोर्टहरूले सङ्क्रमितको सङ्ख्या बढेको छ । यसले कतै स्थिति भयावह हुने त होइन भन्ने मनोविज्ञानसमेत बनेको देखिन्छ । समग्रमा अहिले कोभिड–१९ को परीक्षण, रोकथाम र नियन्त्रणमा भइरहेका प्रयासहरूको सम्बन्धमा प्रधानमन्त्रीज्यू स्वयंको मूल्याङ्कन के छ ?

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण विश्वमा महामारीका रूपमा दावानलका रूपमा देखापरेको छ । डढेलोझैँ फैलिइरहेको छ । करिब डेढ लाख मानिसको ज्यान लिएको छ । यो विश्वकै लागि चुनौती बनिरहेको छ । हामी विश्व परिवारको एक सदस्य राष्ट्र भएकाले हाम्रा निम्ति पनि चुनौतीरहित छैन तर के स्पष्ट हो भने नेपालमा सङ्क्रमित ३० जनामध्ये तीन जना निको भएर घर गएका छन् भने अरू उपचार गरी घर फर्किने क्रममा छन् । तीमध्ये एक जना मात्रै नेपालमा सङ्क्रमित भएको र अरू बाहिरबाटै सङ्क्रमित भएर आएका हुन् । तिनीहरूबाट अरूलाई सर्न नदिएर हामीले त्यो सङ्ख्यामा सीमित गरेका छौँ ।
तर बाहिरबाट मात्र होइन, यहीँ सङ्क्रमित भएकाहरू फेला पर्ने सम्भावना छ । किनभने कतिपय मानिस लुकेर बस्ने गरेको पाइएको छ । यसले केही गम्भीर सङ्केत गर्छ । केही मान्छे विभिन्न कारण हुन सक्छन्, पर्याप्त सचेत नभएको देखिन्छ । यो लुकेर लुकाउन सक्ने रोग होइन । लुक्यो भने झन् बढी विस्फोटक भएर आउने रोग हो । लुक्दा अरूलाई पनि लपेट्न अनुकूल वातावरण बन्छ । त्यसैले अरू पनि सङ्क्रमित देखिन सक्छन् भन्ने अनुमान हो । विश्वमा यस्तो रेकर्ड दुर्लभ नै भन्नुपर्छ । हामीकहाँ यस रोगबाट कसैले पनि ज्यान गुमाउनुपरेको छैन । हाम्रो ध्यान कसैले पनि ज्यान गुमाउनुपर्ने परिस्थिति नबनोस्, राम्रो उपचारको प्रबन्ध गर्न सकौँ भन्नेमा छ ।
कोरोना भाइरस सङ्क्रमण बढ्न नपाओस् भनेर विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड र निर्देशन बमोजिम हामीले लकडाउन, सामाजिक दूरी अपनाउनुपर्ने जस्ता कुरा र अरू स्वास्थ्यसम्बन्धी सतर्कता अपनाउँदै आएका छौँ । यो रोग हाम्रा पुर्खाले पनि नदेखेका हुँदा यसको उपचारको पूर्वतयारी कसैले गरेको थिएन । नयाँ भएकाले विभिन्न देशका अनुभव हामीले पनि अवलम्बन गर्ने हो । विश्वका ठूला र विकसित देशले पनि यससँग लड्ने तयारी गरेका थिएनन् । त्यसैले हामीले पहिलो बिरामीको परीक्षण हङ्कङमा गराउनुप¥यो । कोरोना भाइरससँग लड्न विश्व एकता, राष्ट्र राष्ट्रबीचको एकता आवश्यक भएको हुँदा हामी यसतर्फ पर्याप्त सतर्क छौँ । हामी यसलाई नियन्त्रण, रोकथाम र उपचारका काममा सफलतापूर्वक अगाडि बढिरहेका छौँ ।

  अमेरिकालाई यो सङ्क्रमणविरुद्ध लड्न हम्मेहम्मे परेको देखिन्छ, युरोपका केही देशको अवस्था त्यस्तै छ । अबको स्थिति कसरी अघि बढ्ला भन्ने आकलन गरिरहनुभएको छ ?

यसले नेपालमा विकराल रूप लिन सक्दैन । हामीले विकराल रूप लिन नदिनका लागि लकडाउन गरेका छौँ, सामाजिक दूरी कायम गरेका छौँ । जनतामा स्वास्थ्यसम्बन्धी चेतना जगाउने अभियान चलाएका छौँ । सीमा क्षेत्रका प्रवेशद्वार तथा अन्य कुनै पनि अनौपचारिक बाटोबाट प्रवेश नदिने नीति लिएका छौँ । तैपनि सङ्क्रमित व्यक्तिहरू लुकिछिपी प्रवेश गर्ने कुरा यद्यपि छँदै छ । त्यस्ता मानिसलाई भरसक रोक्ने आइहाले परीक्षण गर्ने, क्वारेन्टाइनमा राख्ने, क्वारेन्टाइनको अवधि सिद्धिएपछि मात्रै घर जान दिने काम हामीले गरेका छौँ ।
हामीले परीक्षणलाई तीव्रता दिएका छौँ । सतहत्तरै जिल्लामा परीक्षण गर्न सुरु गरिएको छ । साधन, स्रोत, उपकरण र जनशक्ति सबै कुरा उपलब्ध गराएका छौँ । सबै ठाउँमा खोजी खोजी बाहिरबाट आएका मानिसहरू, तिनका सम्पर्कमा रहेका मानिस र सङ्क्रमितको सम्पर्कमा आउने सम्भावना भएका सबै मानिसलाई हामीले परीक्षण गरिरहेका छौँ । परीक्षणको काम तीव्रताका साथ अगाडि बढेको छ । तसर्थ नेपालमा यो धेरै फैलने सम्भावना छैन । अब यसले हामीलाई झुक्याउन सक्दैन ।
अर्को कुरा अर्थतन्त्रमा परेको नकारात्मक असरका बारेमा कुरा उठिरहेको छ । मानिस बच्यौँ भने मात्र अर्थतन्त्र काम लाग्छ । त्यसकारण मानवीय मूल्यलाई पहिलो महìव दिनुपर्छ । मानव जीवनरक्षा पहिलो प्राथमिकता हो । अर्थतन्त्रमा यस वर्ष धक्का लाग्यो भने अर्को वर्ष उठाउन सकिन्छ । यस वर्ष मरेको मान्छे अर्को वर्ष पाउन सकिँदैन । बालबालिका टुहुरा भए भने तिनीहरूलाई अभिभावकत्व अर्कोर्ष दिउँला भनेर सकिँदैन । ज्येष्ठ नागरिकले सहारा गुमाउनु भयो भने फेरि हामीले सहारा उपलब्ध गराउन सक्दैनांँ । त्यसकारण हामीले मानिस बचाउने कुरालाई प्राथमिकता दिएका हौँ ।

  लकडाउन घोषणाको २७ दिन भइसकेको छ । आगामी १५ गतेसम्मका लागि त लकडाउन घोषित नै छ । यो अझै कहिलेसम्म लम्बिन्छ ? यसको विकल्पमा अरू कुनै उपाय सोचिरहनुभएको छ कि ?

लकडाउन मात्र होइन, सीमा बन्द गरिएको छ, सामाजिक दूरी कायम गरौँ, मास्क लगाऔँ, अफवाह नफैलाऔँ पनि भनिएको छ । सामाजिक दूरी कायम गरी एकबाट अर्कोमा सर्न नपाओस् भनेर लकडाउन गरिएको हो । लकडाउन जनताको जीवनरक्षाका लागि गरिएको हो । लकडाउनमा असुविधा हुन सक्छ तर यो रहरको विषय होइन । कतिपय मुलुकमा हेर्नु भयो भने खाल्टो खन्दै मान्छे पुर्दै गरेको अवस्था छ । हामी नागरिकलाई मर्न दिन्नौँ । महामारीमा विभिन्न विधि अपनाएर बाँच्ने र फेरि सामाजिक जीवन चलाउने कि खाल्टा खन्दै मान्छे पुर्दै जाने कहर, रुवावासी, आतङ्कको बाटो अपनाउने ?
हामीले क्वारेन्टाइनको व्यवस्था गरेका छाँै । लकडाउनमा मात्र भर परेका छैनौँ । लकडाउन एउटा विधि हो र सबैभन्दा प्रभावकारी विधि हो । सबै बिरामी भए भने उपचार गर्ने ठाउँ पनि हुँदैन । विकसित मुलुकले समेत अस्पतालमा भर्ना गर्न नसकेर बिरामीलाई घर पठाएका छन् । त्यस्तै स्थितिमा पुग्नुभन्दा हामीले जनता जोगाउनका लागि लकडाउन केही दिनका लागि गरिएको हो । जनतालाई दुःख दिइयो भनेर राजनीति गर्ने विषय होइन यो । लकडाउन यहाँ मात्र होइन, विश्वस्तरमै छ । अमेरिकामा जुन राज्यमा लकडाउन छ त्यहाँ सङ्क्रमण कम छ, लकडाउन नभएको राज्यमा भयावह छ । त्यसैले यसलाई आर्थिक क्षेत्रमा पर्ने असरसँग जोड्नु हुँदैन । मानिस नरहे आर्थिक सुप्रिमेसी पनि खस्कन्छ ।
तसर्थ लकडाउन अनिवार्य कुरा हो । लकडाउन खुकुलो पार्ने मात्र होइन यसलाई अन्त्य नै गर्ने हो । लकडाउन अन्त्यका लागि पहिले हामी कोरोना मुक्त हुनुपर्छ । कोरोनाको यत्रो कहरमा अलिकति असुविधा त हुन्छ नै । कोरोना नियन्त्रण र निर्मूल पार्ने कुराको प्रत्याभूति भएपछि लकडाउन अन्त्य गर्ने हो । कोरोनाविरुद्ध हामीले सबै अस्त्र प्रयोग गरेका छौँ । कोरोनालाई हामी नियन्त्रण गर्छौं, नियन्त्रणपछि हाम्रो देश स्वास्थ्य उपचार आदिको क्षेत्रमा एउटा ठूलो फड्को अगाडि गएको हुने छ ।
त्यस्तै जबसम्म विश्वमा कोरोनाको नियन्त्रण हुँदैन तबसम्म हामी प्रवेशद्वारप्रति सतर्क छौँ । भावुक कुरा गरेर हुँदैन । आवागमन खुकुलो गरेर भुक्किएर पनि कोरोना प्रवेश गर्ने अवस्था सिर्जना हुन दिँदैनौँ ।

  कोरोना भाइरस सङ्क्रमण विरुद्धको अभियानअन्तर्गत औषधि र उपकरण खरिदमा अनियमितताको चर्चा निकै सुनिएको छ । यसलाई यहाँले कसरी हेरिरहनुभएको छ ?

वर्तमान सरकारको भ्रष्टाचार र अनियमितताविरुद्धको प्रतिबद्धता सबैलाई थाहा छ । म भ्रष्टाचार आफू पनि गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ । मसँग जुन घर–घडेरी थियो त्यो दुई÷चार वर्ष अगाडि नै हामी श्रीमान् श्रीमती बाँचुञ्जेलसम्म भाडा नतिरी बस्ने र हाम्रो शेषपछि त्यो ट्रस्टका रूपमा सरकारको हुने गरी पास गरेर दान गरिसकिएको छ । मेरी श्रीमतीले ३३ वर्ष राष्ट्र बैङ्कमा जागिर खाएर जम्मा गरेको पैसा, घरजग्गा सापटी आदि इत्यादि सबै प्रयोग गरेर बनाएको घरजग्गा हो त्यो । त्योबाहेक अरू सम्पत्ति छैन । मेरो नक्कली प्रतिबद्धता हुँदैन । मुख्य कुरा मेरो प्रतिबद्धतामाथि भर गर्ने हो ।
ललिता निवासको जग्गा र वाइडबडीको छानबिन हुँदैछ, जसले गराए उनीहरू नै अहिले भ्रष्टाचार भयो भनेर कराउँदै छन् । सुन तस्करीको छानबिन गरी अहिले ७३ जना मानिस जेलमा छन् । हामीले अन्य भ्रष्टाचार र तस्करीका प्वाल टालिदिएका छौँ । अहिले विशेष परिस्थितिमा यस्ता कुरामा जो कर्ता थिए उनीहरू नै बाजा बजाएर बसेका छन्, सबै उस्तै हुन् भन्ने पार्न ।
यस विशेष परिस्थितिमा सामान्य खरिद प्रक्रिया अपनाउँदा किन छिटो सामान आएन भन्ने अवस्था आउने एकातर्फ छ भने अर्कोतर्फ औषधि खरिद प्रक्रिया मन्त्रिपरिषद्मा आउने होइन तर यसमा मेरो समेत नाम जोडियो । मन्त्रालयअन्तर्गतको विभागको महानिर्देशकले एक तह माथिका अधिकारीलाई जानकारी दिएर खरिद गर्न सक्छ । भएको त्यही हो ।
अहिलेको प्रधानमन्त्रीले खरिद बिक्रीको डिलिङ आदि इत्यादि गर्दैन । प्रधानमन्त्री पैसा कमाउन हिँडेको होइन देश बनाउन हिँडेको हो । मेरो देश बनाउने प्रतिबद्धता हो । जहाँसम्म औषधि खरिदको ठेक्का छ, ठेक्का पाएकाले भने अनुसार गरेन भने पछि ठेक्का तोडिएको मैले पत्रकार सम्मेलनपछि जानकारी पाएँ ।
त्यो काम महानिर्देशकको हो । त्यो उपयुक्त छ छैन, भयो भएन छानबिन गरेपछि थाहा हुने कुरा हो किनभने मलाई सोधेर गर्ने कुरा पनि होइन र गरेको पनि होइन । यस्तो कोरोनाको महामारीको अवस्थामा पनि कसैले अनियमितता गर्छ भन्ने कुरा म कल्पना पनि गर्न सक्दिनँ । यस देशमा भ्रष्टाचार, अनियमितता नगर्ने र साँच्चै देश बनाउने प्रतिबद्धता बोकेका मानिस पनि छन् । तर भ्रष्टाचारबाहेक केही नदेख्ने केही मानिस आफ्नो अनुहार ऐनामा हेरेर भ्रष्टाचारको कर्कस धुन बजाएर बसिरहेका छन्, बजाइरहन्छन् । प्रधानमन्त्रीले भ्रष्टाचारको प्रतिरक्षा गरे भनिरहेका छन् प्रतिरक्षा होइन भ्रष्टाचारका विरुद्ध हामी एकदमै स्पष्ट छौँ । छानबिन गरेर दोषी भए कारबाही गरिन्छ । जेमा पनि काम गर्न नदिने हतोत्साही बनाउन खोज्ने कुराले मलाई सतर्क र अझ दृढसङ्कल्पित बनाउँछ, कमजोर बनाउन सक्दैन ।

  मन्त्रिपरिषद्, उच्चस्तरीय समन्वय समिति र सीसीएमसीबीचको समन्वय, कार्यविभाजन र कार्यान्वयन कसरी भइरहेको छ ? जति बढी संयन्त्र उति बढी अन्योलजस्तो पनि हुने गर्दछ । रेपिड रेस्पोन्स गर्ने यो बेलामा कार्यान्वयनको खास जिम्मेवारीचाहिँ कसको हो ?

खास जिम्मेवारी हामी सबैको हो । कोरोना भाइरसविरुद्धको लडाइँमा हरेक व्यक्ति एउटा सिपाही हो । यो साझा लडाइँ हो । भूमिका सबैका आफ्ना ठाउँमा हुन्छन् । मन्त्रिपरिषद्ले निर्णयहरू गर्छ र निर्देशन दिन्छ । मन्त्रिपरिषद्का निर्देशनहरू अरू सबै निकायले कार्यान्वयन गर्ने हो । उच्चस्तरीय समितिले समन्वय गर्छ । सिसिएमसीले सामग्री व्यवस्थापन, प्राथमिकता निर्धारण र सूचना आदानप्रदान गर्छ । सेना, प्रहरी र निजी चिकित्सकसमेतलाई परिचालन गर्छ । यसमा कसैको भूमिकामा दोहोरोपन हुँदैन । हामीले आवश्यक जनशक्ति तयार गरेर बसेका छौँ । यी तयारी तमासा देखाउनका लागि होइन तर सरकारले केही गर्न सकेन, तयारी केही भएन, असफल भयो जस्ता प्रचार सही छैन । यो नकारात्मकताको विम्ब हो । यथार्थ होइन ।

  कोरोना सङ्क्रमण नियन्त्रणको कार्यमा प्रमुख प्रतिपक्षले पनि भूमिका खोजेको जस्तो देखिन्छ । उच्चस्तरीय संयन्त्र निर्माण गर्नुपर्ने आवाज पनि सुनियो ? त्यस्तो आवश्यकता देख्नुहुन्छ ?

विश्वका कुनै देशमा सरकारभन्दा माथि बसेर सरकारलाई मार्गदर्शन गर्ने उच्चस्तरीय संयन्त्र बनाइएको छ ? मैले त देखेको छैन । गुगलमा खोजेँ, पाइनँ । अमेरिका, बेलायत, जर्मनी, फ्रान्स कुन प्रजातान्त्रिक देशमा
बनेको छ ? नेपालमा दुई तिहाइको सरकार छ, यसले जनताको म्यान्डेट अनुसार आफ्नो कर्तव्य निर्वाह गर्दछ ।
अर्को कुरा, सरकारले सबै राजनीतिक दल, सङ्घसंस्था, नागरिक समाज र आम जनतासँग सहकार्य गर्नुपर्छ । सबैका कुरा सुन्नुपर्छ, राय सुझाव लिनुपर्छ । राम्रा सुझावलाई ग्रहण गरी कार्यान्वयनमा ल्याउनुपर्छ । नेपाल सरकारले राजनीतिक दलहरूसँग कोरोना सङ्क्रमणका सन्दर्भमा बैठक गरेको छ र परामर्श लिएको छ । नागरिक समाज भनेको को हो ? उच्चस्तरीय संयन्त्र आवश्यकै हो भने प्रधानमन्त्रीको अध्यक्षतामा सबै नागरिक सदस्य रहने गरी बनाउँ । त्यसो हुँदा पत्रकार, लेखक, कलाकार, बुद्धिजीवी सबैको प्रतिनिधित्व हुन्छ । यो सरकार संविधान र कानुन अनुसार चल्छ । जनताले सुम्पेको उत्तरदायित्व र आफ्नो कर्तव्य अनुसार चल्छ ।

  कोरोना भाइरस सकेसम्म भित्रिन नपाओस् भनी सरकारले गरेको पूर्वतयारीका कारण नेपाल अहिलेसम्म त सुरक्षित नै देखिएको छ तर केही मानिसले सरकारले केही गर्न सकेन, तयारी केही भएन, असफल भयो जस्ता प्रचार निकै गरेको देखिएको छ । यो सरकारप्रतिको पूर्वाग्रह हो कि ? विकसित हुँदै गरेको नकरात्मकताको विम्ब हो ? यहाँलाई कस्तो लाग्छ ?

त्यस्तो आग्रहपूर्ण ढङ्गको विरोधले उनीहरूको सामाजिक मनोदशा, सांस्कृतिक स्तर देखाउँछ । अन्य देशमा कोरोना सङ्क्रमणले दिनमा चार हजारसम्म मानिस मरिरहेका छन्, सङ्क्रमित हुनेहरूको सङ्ख्या बढिरहेको छ । हामी त्यसका विरुद्ध गम्भीर हुनुपर्ने, सतर्क हुनुपर्ने, एकजुट भएर लड्नुपर्नेमा मान्छे मरेनन् भनेर चिन्ता गर्ने ? विदेशबाट कोरोना भाइरस बोकेर आउन दिनुपर्छ, गाउँगाउँ छर्न दिनुपर्छ भन्ने ?
मैले नेपालीहरू रहेका थुप्रै देशसँग कुरा गरेको छु । भारत सरकारसँग प्रधानमन्त्री मोदीजीसँग कुरा भएको छ र हाम्रो राम्रो समझदारी छ । हाम्रो अन्तरसम्बन्धको दुरुपयोग भई कोरोना नियन्त्रणमा समस्या नबनोस् भन्नेमा हाम्रो दृढ समझदारी छ । त्यसै गरेर यूएईमा मैले उपराष्ट्रपतिसँग कुरा गरेको छु । त्यहाँ रहेका नेपालीलाई जागिर गएको छ भने पनि खाने, बस्ने र उपचारको प्रबन्ध त्यहाँका नागरिकसरह सरकारले गर्ने छ भनिएको छ । त्यसै गरेर कुवेत, ओमान, बहराइन, कतार र अरू विभिन्न मुलुकसँग मैले कुरा गरेको छु । उहाँहरूले नेपालीलाई आफ्ना नागरिकभन्दा भिन्न व्यवहार गर्दैनौँ भन्नुभएको छ ।

  लकडाउन लम्बिँदै जाँदा कतिपय मजदुर, श्रमिक र अन्य बेरोजगार बनेका असङ्गठित क्षेत्रका मजदुर र स्वरोजगारहरू स्वदेश र घर फर्किने चाहनाले लामो दूरीको यात्रा पैदलै तय गरिरहेका देखिन्छन् । यसो गर्दा पक्कै पनि कष्ट त हुने नै भयो । यस स्थितिलाई व्यवस्थित गर्न सरकारले के सोचिरहेको छ ?

सञ्चारकर्मी र सञ्चारमाध्यमहरूलाई म अनुरोध गर्न चाहन्छु– कुनै ठाउँमा अघिल्लो दिन मानिस अलपत्र परेको भिडियो भोलिपल्ट साँझ मात्र प्रसारण हुन्छ । त्यस्तोमा मेरो आग्रह अनुरोध छ सरकारलाई जानकारी गराउनुस् न । सरकारका निकायलाई जानकारी गराउँदा अघिल्लै दिन व्यवस्थापन भइसक्थ्यो । नेपाल टेलिभिजनले पनि जनताका कुरा सुन्ने टेलिफोन सेवा सुरु गरोस् त्यसो भयो भने सरकारलाई समस्या समाधानमा सहयोग पुग्ने छ ।
सरकारले त्यसरी बाटोमा हिँडिरहेका, समस्यामा परेका मानिसका लागि जहाँ पुगेका छन् त्यहाँ खाने बस्ने व्यवस्था गरेको छ, गर्छ तर एउटा कुरा अचम्म लाग्छ स्थानीय प्रहरी, प्रशासन र सरकारलाई मानिस समस्यामा परेको जानकारी हुँदैन, पत्रकार कति छिटो हर्ररै त्यहाँ पुग्छ । पत्रकारहरू पनि समस्या समाधानका लागि रचनात्मक भइदिएर एउटा टेलिफोन गर्दिए हुन्थ्यो । मानिसको बिजोगसँग रमाइलो गर्ने गरी मिडिया प्रस्तुत भएको पनि देखिन्छ । औपचारिक अनौपचारिक क्षेत्रमा काम गर्ने कोही पनि
अप्ठ्यारोमा परेको छ भने सरकारले खाने बस्ने उचित प्रबन्ध गर्छ । यो सरकारले कोरोना भन्दा अघिदेखि भन्दै आएको हो– कोही खान नपाएर मर्नु पर्दैन, मर्दैन ।
अरू कुरामा पनि जनतालाई असुविधा अवश्य भएको छ । हामीले लकडाउन हुनुभन्दा अघि नै मानिसलाई कहाँ जानुपर्ने छ जानका लागि प्रेरित गरेका थियौँ । चैत ९ गतेको निर्णयपछि पनि हामीहरूले लकडाउन हुँदैछ आवागमन रोकिन्छ भनेका छौँ । यो सामान्य अवस्था त होइन त्यसैले केही असुविधा त हुन्छ । तर सरकार जनताका यथोचित समस्या समाधान गर्न तत्पर छ । रोगले नभई भोकैले मरिने भो भन्ने जस्तो स्थिति होइन । कोही भोकै नपरुन् भनेर अहिलेसम्म करिब ८० करोड रुपियाँको राहत बाँडिएको छ । रोजगारीका अवसरका लागि पनि सरकारले सोचिरहेको छ ।

  एकातिर लकडाउन लम्बिइरहेको र यसलाई प्रभावकारी बनाउनुपर्ने अवस्थामा दैनिक उपभोग्य सामानको आपूर्ति व्यवस्था नियमित गर्नपर्ने दायित्वलाई पूरा गर्न कस्तो प्रबन्ध भइरहेको छ ?

आपूर्ति व्यवस्थाका लागि विभिन्न ठाउँमा बिक्री केन्द्रहरू खोलिएको छ । मूल्यवृद्धि हुन दिएका छैनौँ । इन्डक्सन चुल्होको प्रयोगमा प्रोत्साहन गरिएको छ । मुलुकमा अनिकालको स्थिति छैन । अखाद्य वस्तु बिक्री गर्नेलाई कारवाही गरिएको छ । ग्यासको खपत स्वाभाविक रूपमा घटेको छ । तरकारी, दाल, चामल आपूर्तिमा कमी छैन । आपूर्ति व्यवस्थामा समस्या छैन । आपूर्ति व्यवस्था मात्र होइन क्रयशक्रि नभएका व्यक्तिका लागि पनि सरकारले क्रयशक्तिको व्यवस्था गर्छ । यस देशमा कोही भोकै पर्दैन, कोही भिखमङ्गा हुनुपर्दैन, सडक बालबालिका हुुनुपर्दैन । यो सरकार हुने खानेको मात्र नभई गरिब निमुखा अशक्त सबैको सरकार भएको हुनाले सबैको आधारभूत बाँच्ने स्थितिको निर्माण गर्छ ।

  नेपाल–भारत सीमामा अलपत्र नेपालीहरू आफ्नै देशमा आउन नपाएको गुनासो छ । यस्तै विदेशमा खासगरी खाडीमा रहेका कामदारको अवस्था झन् संवेदनशील बन्दैछ । विद्यार्थीको समस्या पनि बढ्दैछ । यसमा सरकारले के गर्न सक्छ ? उनीहरूलाई ल्याउने, वैकल्पिक रोजगारी दिने वा अरू वैकल्पिक व्यवस्था मिलाउने ?

आफ्नो देशमा जान पाइएन भन्ने कति जना ? देशभक्ति उम्लिने कति जना ? यतिबेला देशभक्ति उम्लिएर ल्याउने परिणाम के ? अहिले कोरोना बोकेर आउन पाउनुपर्छ गाउँ गाउँमा फैलाउनुपर्छ, मान्छे सोत्तर पार्न पाउनुपर्छ
भन्ने हो ? त्यसो गर्न नपाउँदा पनि जेसुकै होस् भनेर छाडेको छ त ? भारत सरकारले २१८६ जना नेपालीलाई क्वारेन्टाइनमा राखेको छ । होटलमा बस्नुस् भन्दा दसगजामा बस्ने, अलिकति सामाजिक दूरी कायम गर्नुपर्छ भन्दा हैन हामी समूहमा बस्छौँ भन्ने ? सीमा क्षेत्रमा लम्पसार पर्दिने ? होटलमा बस्नुस् भन्दा नमानेर दसगजामा लाइन लाग्नुलाई अलपत्र कसरी भन्ने ? भारतमा दिनदिनै सङ्क्रमण बढिरहेको छ, नेपालीहरू दिनहँु घर फर्कने कुराले नेपालमा सङ्क्रमणको सम्भावना के हुन्छ ? विद्वान्हरू नेपालमा सङ्क्रमण नफैलिएकोमा चिन्ता जाहेर गर्दै अनागरिक बनाउन पाइन्छ ? देश फर्किने अधिकारबाट वन्चित गर्न पाइन्छ ? भनिरहेका छन् । परिस्थिति बुझेर आग्रहहरू राख्न पाइन्छ कि बुझ्दै नबुझिकन । के धार्चुलाका मानिसहरू खानै नखाइकन २०÷२५ दिन त्यसै बसेका होलान् ? खाने बस्ने प्रबन्ध गरिएको छ । हामी एक जना पनि सङ्क्रमित व्यक्ति भित्रिन दिँदैनौँ । सुदूरपश्चिमलाई कोरोनाको इमिसेन्टर हुन दिइँदैन ।
नेपालमा कोरोना नियन्त्रणमा आएपछि लकडाउन हट्न वा खुकुलो हुन सक्छ तर भारतमा कोरोना भाइरसको स्थिति के हुन्छ त्यसलाई नहेरी सीमा खोल्न सकिँदैन । खोल्यौँ भने यो प्रोसेस कहिले पनि टुङ्गिँदैन । विश्वले भाइरस सङ्क्रमणको सुरु सुरुमा आवागमनलाई कडाइ नगरेका कारण अहिलेको स्थिति पैदा भएको हो ।
विदेशमा रहेका नेपालीका सन्दर्भमा मैले माथि पनि भनेँ, मैले र परराष्ट्रमन्त्रीले कुरा गर्दा राम्रो समझदारी भएको छ । उहाँहरूले आफ्ना नागरिकसरहको व्यवहार गर्छौं ढुक्क हुनुस् भन्नुभएको छ । साइप्रसको विषयमा हामीले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई पैसा पठाउन उनीहरूका अभिभावकलाई डलर सटहीको सुविधा उपलब्ध गराएका छौँ । मैले त्यहाँका राष्ट्रपतिसँग पर्सि बुधबार कुराकानी गर्दै छु । संवाद सकारात्मक हुने छ भन्ने मैले विश्वास गरेको छु । विदेशमा रहेका नेपालीहरू कोरोनासहित होइन, कोरोनारहित भएर फर्कनुपर्छ ।

  यस्तो विषम स्थितिमा सरकार र पार्टी नेतृत्व एकताबद्ध र समन्वयात्मकरूपमा अघि बढ्नुपर्नेमा सरकार एकातिर पार्टी अर्काेतिर जस्तो देखिएको छ । एकतापछि पार्टीमा पूर्वसमूह वा अन्य खेमामा नाममा विवाद कायमै देखिन्छ ?

सरकार एकजुट छ । एकताबद्ध छ । सरकार एउटै लय र तालमा अघि बढिरहेको छ । हाम्रो प्रणालीमा पुरानो ढाँचाको कर्मचारी संयन्त्र भएकाले हाम्रो गतिसँग अभ्यस्त हुनमा विलम्ब भएको हुनसक्छ । यद्यपि म कर्मचारीलाई दोष दिन चाहन्न । उहाँहरूले नयाँ स्पिरिट समात्न समय लागेको हुनसक्छ । पार्टी पनि एक छ । सरकारको काममा सबै नेताको समर्थन र साथ छ ।
केहीले व्यक्तिगत कुण्ठा, अन्योल र दिशाहीनताले सदाबहार कराउने प्रवृत्ति देखिन्छ । हुटिट्याउँ प्रवृत्ति छ । ती कुराहरू कति सान्दर्भिक छन् ? तिनले आफँैलाई असान्दर्भिक बनाउँछन् । तिनले बिरामी प्रधानमन्त्रीले देश चलायो भन्छन् । मबाट योभन्दा बढी के अपेक्षा गर्ने ? आफैँ बिरामी भएर पनि देशलाई सङ्क्रमणबाट जोगायो भन्न पनि सकिन्थ्यो । मेरो काम गर्ने बानी छ, गरिरहन्छु । म अहिले पनि दैनिक १८ घण्टा काम गर्छु । मलाई जश लिनुपर्ने वा मूल्याङ्कन होस् भन्ने भावना पनि छैन । बफादारिताका साथ देश र जनताका लागि काम गर्ने हो । अराजकतालाई लोकतन्त्र ठान्ने प्रवृत्ति ठीक होइन । त्यस्ता प्रवृत्तिले पार्टीलाई नोक्सान नगरी सम्बन्धित व्यक्तिलाई नै नोक्सान गर्छ ।   

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?