logo
२०८० चैत्र १६ शुक्रवार



सनसिटी अपार्टमेन्टमा परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ

मुख्य समाचार |


सनसिटी अपार्टमेन्टमा परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ


देवबहादुर कुँवर

काठमाडौँ, वैशाख ४ गते । कागेश्वरी–मनोहरा नगरपालिकाको पेप्सिकोलास्थित सामूहिक आवास गृह सनसिटी अपार्टमेन्टमा नयाँ वर्ष २०७७ सुरु भएको पहिलो दिन वैशाख १ गते चहलपहल बेग्लै देखिन्थ्यो ।
कोरोना भाइरस (कोभिड–१९)को महामारी नियन्त्रण गर्न सरकारले बन्दाबन्दी (लकडाउन) घोषणा गरेसँंगै घरभित्र बन्दी बने पनि बालबालिकालाई घुमाउन र खाद्य सामग्री खरिद गर्न सर्वसाधारणको ओहोरदोहोर भइरहन्थ्यो तर सोही दिन दिउँसो ४ बजेपछि अपार्टमेन्टको ब्लक ‘ए’मा बस्ने दुई जनामा कोरोना सङ्क्रमणको खबर सार्वजनिक भएपछि भने शून्यता छाएको छ । अपार्टमेन्टको मुख्य प्रवेशद्वारमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
अपार्टमेन्टबाट बाहिर–भित्र आवतजावत गर्न पूर्णरूपमा रोक लगाइएको छ । अपार्टमा बस्नेहरू आ–आफ्नै कोठामा बन्दी बनेका छन् । निस्कनु परे प्रवेशद्वारमा खटिएका सुरक्षाकर्मीसँंग समन्वय गर्न निर्देशन दिइएको छ । सनसिटी अपार्टमेन्टको ब्लक ‘आई’मा बस्दै आउनुभएका हरि खड्काले भन्नुभयो, “कोरोना सङ्क्रमित व्यक्ति भेटिएको खबरले स्वास्थ्य सतर्कता र आत्ममनोबल उच्च राख्न नभई त्रास बढायो । मानाँै सनसिटी अपार्टमेन्टलाई नै कोरोना भाइरस लागेजस्तो भयो ।”
कुनै व्यक्तिमा कोरोना भाइरस देखिँदैमा सबैमा फैलिएछ, अपार्टमेन्टमा बस्ने सबै सङ्क्रमित छन् भन्ने भ्रम हटाउन आग्रह गर्दै उहाँले चैत ८ गते सम्पन्न समिति निर्वाचनमा पनि ए, बी, आई, जे र एच गरी पाँच ब्लकबाट आलोपालो गरी सहभागी भएको स्पष्ट पार्नुभयो । विभिन्न मिडियामा आएका नकारात्मक प्रचारले त्यहाँ बस्ने बालबालिका र वृद्धहरू बढी त्रसित बनेका छन् । खड्काले भन्नुभयो,“ए ब्लकका २९६ जनाको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा ‘नेगेटिभ’ नतिजा आएपछि राहत मिलेको छ ।
बुधबार बिहान ८ बजे सनसिटी अपार्टमा पुगेका स्वास्थ्यकर्मीको टोलीले दुई कामदारसहित ‘ए’ ब्लकमा बसोबास गर्ने २९६ जनाको शीघ्र परीक्षण गरेको थियो । सो परीक्षणबाट कसैमा कोरोना सङ्क्रमण देखिएको छैन । बिहीबारबाट अन्य ब्लकमा बस्नेहरूको पनि परीक्षण गरिनेछ । सो अपार्टमा करिब पाँच सय परिवारका एक हजार पाँच सय सदस्य बसोबास गरिरहेका छन् ।
सनसिटी अपार्टमेन्ट व्यवस्थापन समितिका नवनिर्वाचित अध्यक्ष तिलक बस्नेतका अनुसार उच्च किसिमको सतर्कता अपनाइएको छ । सङ्क्रमित भनिएका व्यक्तिहरू नै सुरक्षित ढङ्गबाट बसेकाले कोरोना समस्या नदेखिएको उहाँको भनाइ छ । “सोही ब्लकमा सरसफाइ गर्ने मान्छेमा त देखिएन, हामी डराउनुपर्ने अवस्था छैन । कोरोना भाइरसको सङ्क्रमणभन्दा भ्रामक सूचनाले त्रास फैलाएको गुनासो छ,” उहाँले स्पष्ट गर्नुभयो ।
सर्वसाधारणलाई त्रास र भ्रमबाट मुक्त हुन र उच्च मनोबलका साथ सुरक्षित ढङ्गले आफ्नै अपार्टमा बस्न आग्रह गरिएको बताउँदै “नगरपालिका, वडा कार्यालय, प्रहरी, स्वास्थ्यकर्मी सबैको सहयोग, सुझाव र सल्लाह प्राप्त भइरहेको छ,” अपार्टमेन्ट व्यवस्थापन समितिका अध्यक्ष बस्नेतले बताउनुभयो ।
बितेको दुई दिन अपार्टमा बस्नेहरूका लागि पीडादायी थियो तर स्वास्थ्य परीक्षणको नतिजा आएपछि राहत मिलेको छ । वृद्ध तथा बालबालिका र गर्भवती महिलालाई सान्त्वना दिई थप सुरक्षा अपनाउन प्रेरित गरेको भनाइ बस्नेतको छ । सनसिटी क्षेत्रका तरकारी पसल तथा किराना स्टोरहरू बिहान बेलुका तीन–तीन घण्टा मात्र खोल्न आग्रह गरिएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?