logo
२०८१ बैशाख १२ बुधवार



स्वास्थ्य सामग्री भारत र चीनसँग खरिद गरिने

मुख्य समाचार |


स्वास्थ्य सामग्री भारत र चीनसँग खरिद गरिने


भउचप्रसाद यादव

काठमाडौँ, वैशाख २ गते । सरकारले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका भारत र चीनसँग स्वास्थ्य सामग्री खरिद गर्ने भएको छ ।
स्वास्थ्य सामग्री खरिदका लागि सरकारले गरेको पत्राचारको प्रतिउत्तरमा भारत र चीनले आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन सकिनेसहितको पत्र नेपाली सेनालाई प्राप्त भएपछि खरिद प्रक्रियालाई अगाडि बढाइने
भएको हो ।
खरिद प्रक्रियालाई तीव्र रूपमा अगाडि बढाउने क्रममा चिनियाँ कम्पनीसँग सोमबार भिडियो संवाद गरी नेपाललाई चाहिने स्वास्थ्य सामग्रीबारे जानकारी दिइएको नेपाली सेनाले जनाएको छ ।
सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका भारत र चीनसँग स्वास्थ्य सामग्री खरिद गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘खरिदका लागि पत्राचार गरिएका मुलुकमध्ये भारत, चीन र दक्षिण कोरियाबाट प्रतिउत्तर आएको छ, प्रतिउत्तरमा भारत र चीन तयार भएकाले तिनीहरूसँगै स्वास्थ्य सामग्री खरिद गरिने छ । ’’
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रद्वारा तयार पारिएको स्वास्थ्य सामग्रीको सूचीका आधारमा नेपाली सेनाले स्वास्थ्य सामग्री खरिदका लागि भारत, चीन, दक्षिण कोरिया, सिङ्गापुर र इजरायललाई पत्राचार गरेको थियो ।
सैनिक प्रवक्ता पाण्डेका अनुसार, नेपाललाई चाहिने औषधि र सामग्रीको सूची तयार पारी आइतबार नै चीनलाई पठाइसकिएको छ । भारतले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई औषधि हस्तान्तरण गर्ने छन् र त्यहाँबाट नेपालले ल्याउनेछ ।
भारतले नेपाललाई ६० प्रकारका औषधि उपलब्ध गराउने छ भने चीनले औषधि र आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने छ । नेपाललाई औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराउन लागेको चिनियाँ कम्पनी विश्वका अन्य ८० मुलुकमा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि औषधि तथा स्वास्थ्य सामग्री आपूर्ति गरिरहेका छन् ।
मुख्य सचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याल र नेपाली सेनाका पदाधिकारीहरू सहित आइतबार बसेको बैठकले खरिद गर्न लागिएको औषधि र स्वास्थ्य सामग्रीको सूचीलाई अन्तिम रूप दिएको थियो । त्यसपछि सो सूची भारत र चीन पठाइएको थियो ।
प्रवक्ता पाण्डेले भन्नुभयो, ‘‘औषधि र स्वास्थ्य सामग्रीको सूची रक्षा मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पेस गरिन्छ र मन्त्रिपरिषद्ले औषधिको सूची, ल्याइने
प्रक्रिया, भुक्तानी गरिने मोडालिटिलगायतको विषयमा निर्णय गरेपछि खरिद प्रक्रियाले अन्तिम रूप लिइने छ । ’’
चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी नेपाली सेनामार्फत सरकारदेखि सरकार (जीटूजी) विधिबाट खरिद गर्ने निर्णय गरेको थियो ।   

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?