logo
२०८० चैत्र १६ शुक्रवार



राजधानीका सडक रङरोगनले चिटिक्क

मुख्य समाचार |


राजधानीका सडक रङरोगनले चिटिक्क


भउचप्रसाद यादव

काठमाडौँ, चैत ३० गते । कोरोना भाइरस (कोभिड–१९)का कारण बन्दाबन्दी (लकडाउन) गरिएपछि जनजीवनमा असजिलो भए पनि कतिपय कामलाई भने सहज भएको छ । काठमाडौँ उपत्यकामा कालोपत्रे (ओभर–ले) गरिएका सडकमा ट्राफिक चिह्न निर्माण तथा रङरोगनका लागि भने अहिले सहज भएको छ ।
सडकमा सवारी साधन असाध्य न्यून हुँदा धमाधम सडकमा ट्राफिक चिह्न बनिरहेका छन् भने रङरोगनको काम पनि भइरहेको छ । ट्राफिक चिह्न र सडक वरिपरि रङरोगन भएपछि राजधानीका सडक चिल्ला, सफा र चिटिक्क देखिन थालेका छन् ।
सडक विभागका महानिर्देशक केशवकुमार शर्माले भन्नुभयो, “उपत्यकाका तीनवटै जिल्लामा सडक विभागअन्तर्गत रहेका कुल ८० किलोमिटर सडकमा कालोपत्रे गर्ने योजना रहेकोमा अहिलेसम्म ५५ किलोमिटरमा कालोपत्रेको काम सम्पन्न भएको छ । कालोपत्रे भएकामध्ये अधिकांश सडकमा ट्राफिक चिह्न निर्माण तथा रङरोगनको काम अन्तिम चरणमा पुगेको छ ।”
बन्दाबन्दीका कारण कामदारको अभावमा अहिले उपत्यकाका सडकमा कालोपत्रे गर्ने काम बन्द रहेको बताउँदै उहाँले बन्दाबन्दीपछि बाँकी रहेका सडकहरूमा कालोपत्रे गरिने बत(ाउनुभयो । “ती सडकमा भने ट्राफिक चिह्न निर्माण तथा रङरोगन सडक कालोपत्रे भएपछि मात्रै हुनेछ”, उहाँले स्पष्ट पार्नुभयो । बन्दाबन्दी खुलेपछि एक महिनाको समयमा कालोपत्रेको काम सम्पन्न गर्ने सडक विभागको योजना छ । ललितपुर र भक्तपुरमा कालोपत्रे गरिएका सडकमा ट्राफिक चिह्न निर्माण तथा रङरोगनको काम पूरा भएको जानकारी सडक विभागले दिएको छ । सडक डिभिजन कार्यालय, काठमाडौँका प्रमुख कुवेर नेपालीले सोमबारसम्म रङरोगन लगायतका काम सकिने बताउनुभयो ।
काठमाडौँ जिल्लामा सडक डिभिजन कार्यालय अन्तर्गतका १० किलोमिटर सडक कालोपत्रे गर्न बाँकी र जम्मा ४१ किलोमिटर सडकमा कालोपत्रे गर्ने लक्ष्य छ । कार्यालयका अनुसार महाराजगन्ज, बालुवाटार, थापाथली, न्यु प्लाजा, पुतलीसडक, भद्रकाली, रत्नपार्क, प्रदर्शनीमार्ग, अनामनगर, धुम्बाराही, हाँडीगाउँ, ज्ञानेश्वर, सामाखुसी, टोखा सडकखण्डमा ट्राफिक चिह्न र रङरोगनको काम सकिएको छ । उपत्यकामा काठमाडौँ, ललितपुर र भक्तपुर सडक डिभिजन कार्यालयअन्तर्गत क्रमशः ९३, ३८ र १९ वटा सडक छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै सडकका खाल्डाखुल्डी चाँडो पुर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएपछि काठमाडौँमा सडक सुधारको काम तीव्र्र रूपमा भइरहेको छ ।  

तस्बीर : शेखर चौलागाई/ गोरखापत्र

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?