logo
२०८० चैत्र १६ शुक्रवार

   गोरखापत्र स्थलगत अनुगमन    



कोरोना सङ्क्रमितको अवस्था सामान्य

मुख्य समाचार |


कोरोना सङ्क्रमितको अवस्था सामान्य


सरोज ढुङ्गेल

काठमाडौँ, चैत २८ गते । कोरोना सङ्क्रमित बिरामीका लागि उपचार गर्ने टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल बिहीबार सुनसान देखियो । अस्पतालको प्राङ्गणमा केही स्वास्थ्यकर्मी बिरामीको नाम दर्ता तथा कुन रोग लिएर आएका हुन् भन्ने जानकारी लिन बसेका थिए ।
अस्पतालको दुई तलामाथि आइसोलेसन वार्ड राखिएको छ, जहाँ दुई जना सङ्क्रमित छन् । सङ्क्रमितबाहेक कोरोनाको आशङ्कामा अन्य नौ जना कोरोनाको लक्षण भएका बिरामी उपचाररत छन् । सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला सहितको नेतृत्वमा २० जना स्वास्थ्यकर्मी खटिएका छन् । सिफ्ट अनुसार स्वास्थ्यकर्मीले सङ्क्रमित तथा आइसोलेसनमा बसेका बिरामीको उपचार गर्नुपर्ने हुन्छ ।
कसरी हुन्छ उपचार ?
टेकुस्थित सरुवा रोग अस्पताल हरेक सरुवा रोगको उपचार गर्नुपर्ने देशकै केन्द्रीय अस्पताल भएकाले सरुवा रोगसम्बन्धी बिरामी यहाँ आइपुग्छन् । यद्यपि अहिले कोरोनाको भयमा अन्य बिरामी त्यति धेरै आएका छैनन् । कोरोना सङ्क्रमित व्यक्तिलाई छुट्टाछुट्टै कोठामा राखिएको छ । होटलको कोठामा जे जस्तो सुविधा हुन्छ त्यही सुविधा दिएर सङ्क्रमित व्यक्तिलाई राखिएको छ । टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले पहिले आइसोलेसन वार्डमा केही सुविधा नभएको बताउनुभयो । कुनै सुविधा नभएका कारण बिरामी भाग्ने, डिप्रेसनमा जानसक्ने भएकाले आफू निर्देशक भएर आइसकेपछि अहिले टिभी, इन्टरनेट, टेलिफोन लगायतका सुविधा राखिएको जानकारी उहाँले दिनुभयो ।
सङ्क्रमितको गतिविधि निगरानी गर्न निर्देशक डा. राजभण्डारीको मोबाइलमै व्यवस्था गरिएको छ । मोबाइलबाट उनीहरू के गरिरहेका छन् भन्ने पूरै गतिविधि हेर्न सकिन्छ । सङ्क्रमित तथा आशङ्कित व्यक्तिहरूका लागि उपचारमा खटिनुभएका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले सङ्क्रमितको लाक्षणिक आधारमा उपचार गरिने बताउनुभयो । हालसम्म कोरोनाको कुनै औषधि आइसकेको छैन, उहाँले भन्नुभयो, त्यसैले उनीहरूलाई कस्तो लक्षण भइरहेको छ, त्यही आधारमा उपचार गर्ने गरिन्छ । सङ्क्रमितलाई फोन तथा बाहिरबाट सोधिन्छ, कस्तो अवस्था छ, साह्रो गाह्रो अवस्था के छ, कसरी बसिरहेका छन् भन्ने विषयमा विस्तृत विवरण लिइन्छ । उनीहरूको भनाइ अनुसार उपचार हुन्छ ।
डा. बास्तोलाका अनुसार उनीहरू सामान्य अवस्थामा छन् । हालसम्म उनीहरूलाई केही भएको छैन । खाना खान, हिँड्डुल गर्न सक्ने सामान्य अवस्था छ । केही असजिलो महसुस भइहाल्यो भने उपचारमा खटिएका नर्स तथा चिकित्सक व्यक्तिगत सुरक्षा कवज (पीपीई) लगाएर पुगिहाल्छन् र परीक्षण सुरु गर्छन् । उनीहरूको स्वाब लिँदा स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष भेट
हुन्छ । अहिले राम्रोसँग बसिरहेका छन् । तीबाहेक आइसोलेसन वार्डमा भएका अन्य बिरामीको अवस्था पनि सामान्य रहेको छ ।

लक्जरी सुविधा
कोरोना सङ्क्रमित व्यक्तिलाई अहिले लक्जरी सुविधा दिएर राखिएको छ । अस्पतालले सङ्क्रमितको खानेकुरादेखि लिएर मिनरल पानीको व्यवस्था गरेको छ । उनीहरूले नुहाउने, शौच गर्ने बाथरुम छुट्टाछुट्टै हुन्छ । उनीहरूको दिसा, पिसाब छुट्टै राखेर डिस्पोजल गर्नुपर्ने भएकाले शौचालयको छुट्टै व्यवस्था गरिएको हो । दिसा, पिसाब, पसिना, थुकबाट अन्य व्यक्तिलाई कोरोना सर्ने भएकाले यस्तो विशेष व्यवस्था गरिएको हो ।
हाल सङ्क्रमितको सङ्ख्या न्यून भएकाले पनि सङ्क्रमितको व्यवस्थापन र उपचार राम्रो गरिएको छ । यदि महामारीको रूपमा कोरोना भित्रियो भने उपचारमा समस्या हुनसक्छ । आइसोलेसन वार्डमा अन्य व्यक्तिलाई जान प्रतिबन्ध लगाइएको छ । रोग अन्य व्यक्तिमा सर्न नपाओस् भनेर यस्तो प्रतिबन्ध गरिएको निर्देशक डा. राजभण्डारीले बताउनुभयो । तर दुःखको विषय सङ्क्रमितको स्वाब परीक्षण चारपटक गर्दा पनि कोरोना रिपोर्ट अझै पोजेटिभ देखिएको छ । पोजेटिभ रिपोर्ट देखुन्जेलसम्म बिरामीलाई डिस्चार्ज गर्न पाइँदैन । रिपोर्ट नेगेटिभ देखिए पनि चिकित्सकहरूको निगरानीमा राखेर घरमा पनि छुट्टै बस्नुपर्ने
हुन्छ । चीनमा रिपोर्ट नेगेटिभ आएको दुई हप्तापछि पुनः परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएकाले पुनः कोरोना देखिन सक्छ भनेर उनीहरू छुट्टै बस्नुपर्ने हुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?