logo
२०८० चैत्र १६ शुक्रवार



थप यात्रुको खोजी जारी

मुख्य समाचार |


थप यात्रुको खोजी जारी


देवबहादुर कुँवर

काठमाडौँ, चैत २१ गते । दोहाबाट कतार एयरवेजको उडान क्यूआर ६५२ बाट चैत ४ गते (मार्च १७) नेपाल आएका तीन व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँंगै प्रहरीले सम्पर्कमा नआएका अन्य यात्रुको खोजी तीव्र पारेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशीले सङ्क्रमित तीनैजना महिला सोही विमानबाट दोहाबाट काठमाडौँ आएको कुरा यसअघि नै पुष्टि भइसकेकाले र त्यसमा सवार १५८ मध्ये १४० जना सम्पर्कमा आएको बताउनुभयो । कतार एयरको ४ गतेको फ्लाइट क्यूआर ६५२ मा सवार बाँकी १७ जनाको खोजी कार्य जारी रहेको छ । “त्यसमा ४८ जिल्लाका नागरिकले यात्रा गरिरहेको तथ्य फेला पारिसकेका छौंँ”, उहाँले थप्नुभयो, “सबैलाई सम्पर्कमा आउन आग्रह गरेका छौँ । नआएकाहरूको खोजी हँुदैछ ।’’ त्यस्तै यूएईबाट एयर अरवियाको फ्लाइट जी ९५३७ विमानबाट चैत ६ गते (मार्च १९) काठमाडौँ आएका धादिङका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यसमा सवार १७० मध्ये १३१ जना सम्पर्कमा आएका छन् ।
सो विमानमा पनि ४० जिल्लाका नागरिक रहेको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयबाट पुष्टि भएको हो । तीमध्ये ३९ जना सम्पर्कमा आएका छैनन् । प्रवक्ता जोशीले राहदानी विभागबाट विस्तृत विवरण सङ्कलन गरी खोजी गर्न सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको बताउनुभयो ।
भारतको दिल्लीबाट भिस्तारा एयरबाट चैत ७ गते (मार्च २०) काठमाडौँ आएका धनगढी कैलालीका एक पुरुषमा यही १४ गते कोरोना भाइरस सङ्क्रमण भएको खवर प्राप्त भएसँगै त्यसमा सवार १३० मध्ये ५१ जना सम्पर्कमा आएको जानकारी प्रहरीले दिएको छ । अझै ७९ जना सम्पर्कमा छैनन् ।
‘‘हामीले सबैलाई सम्पर्कमा आइदिन बारम्बार आग्रह गरिरहेका छौंँ, रोग लुकाउँदा थप महामारी फैलिने भएकाले त्यसो नगरी दिन अनुरोध गरेका छौंँ’’, प्रहरी प्रवक्ता जोशीले थप्नुभयो, ‘‘सम्पूर्ण विवरण खुलाई सम्पर्कमा ल्याउन स्थानीय प्रहरीलाई निर्देशन त दिएका छौँ तर, व्यक्ति नै भेटिँदैनन् । ’’
कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको अभियानमा साथ नदिने व्यक्तिलाई पक्राउ गर्ने तयारी नभए पनि खोजी कार्य जारी रहेको स्पष्ट पार्नुभयो । उहाँले कतार एयरमा सवार विदेशी नागरिक आफ्नो मुलुक फर्किसकेको जानकारी दिनुभयो ।
त्यस्तै धनगढीमा फेला परेका सङ्क्रमित पुरुषसँंगै काठमाडौँ–नेपालगञ्ज बुद्ध एयरको विमानमा रहेका ७१ जनामध्ये ३० जना र बाग्लुङमा फेला परेकी सङ्क्रमित युवतीसँंगै काठमाडौँ–पोखरा यती एयरमा सवार ५७ जनामध्ये ११ जना सम्पर्कमा आएर ‘होम आइसोलेसन’ बसेको जानकारी उहाँले दिनुभयो ।
कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरिएका व्यक्ति विदेशबाट हवाई सेवामार्फत नेपाल आएको र नेपाल बसाइका क्रममा आफन्तसँंगको भेटघाट तथा यात्रामा लापरबाही गरेकाले महामारीको सम्भावना बढ्न सक्ने कतिपयको भनाइ छ ।
ड्रोनबाट लकडाउनको अवलोकन
नेपाल प्रहरीले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न सञ्चालन गरेको ‘लकडाउन’ को नवौँ र १०औँ दिनमा काठमाडौँ उपत्यकामा ड्रोनबाट अवलोकन तथा निगरानी राख्न सुरु गरेको छ । विगतका दिनहरूको तुलनामा सडकमा अत्यावश्यक सेवा सवारीसाधन गुडेका छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?