logo
२०८१ बैशाख ८ शनिवार



कोरोना संक्रमितको परिवारको रिपोर्ट नेगेटिभ

राष्ट्रिय |


कोरोना संक्रमितको परिवारको रिपोर्ट नेगेटिभ


चन्द्रप्रकाश शर्मा
पोखरा, चैत १९ गते । कोरोना भाइरस (कोभिड १९) को संक्रमणमा परेकी बागलुङकी युवतीको परिवारका चार जना सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । युवतीलाई कोरोना संक्रमण भएको पुष्टी भएपछि उनका परिवारका सदस्यहरुको स्वाबको नमूना परीक्षणका लागि काठमाडौं पठाइएकोमा चार जनाको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पतालले जनाएको छ ।

बागलुङमा संक्रमित भेटिएपछि अन्यलाई पनि भाइरस सरेको हुन सक्ने आशंका गरिएकोमा चार जनाको रिपोर्ट नेगेटिभ आएपछि केही सहज भएको छ । परीक्षणका लागि पठाइएका मध्य युवतीका बाबु, हजुरबाबा, दाजु र दिदी गरी चार जनाको रिपोर्ट नेगेटिभ आएको र परिवारको तीन जना, उनीसँगै बेल्जियमबाट आएकी एक महिला, काठमाडौंबाट बागलुङ आएका एक जना र सोही विमानबाट नेपाल आएका ढोरपाटन नगरपालिकाका एक व्यक्तिको रिपोर्ट आउँन बाँकी रहेको धौलागिरि अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ड डा. शैलेन्द्र बिक पोखरेलले जानकारी दिनुभयो ।

बेल्जियमबाट चैत ४ गते कतार एयरवेजको विमानमा नेपाल आएकी ति युवतीलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि उनीसँगै आएकी बागलुङ नगरपालिकाकै एक महिला, उनलाई काठमाडौंसम्म ल्याउन जाने एक व्यक्ति र उनको हजुरबाबा, हजुरआमा, बाबा फुपुका छोरा छोरीको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको थियो । बागलुङबाट ११ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा चार जनाको रिपोर्ट आएको र अन्यको क्रमश आउँने अस्पतालले जनाएको छ ।

कोरोना भाइरस संक्रमित युवतीको अहिले धौलागिरि अञ्चल अस्पतालको आइसुलेसन कक्षामा राखेर उपचार भइरहेको र उनको स्वाथ्यमा कुनै समस्या नभएको अस्पतालले जनाएको छ । नेपाल आएपछि केही दिन रुघाखोकी, ज्वरो आएपनि अहिले कुनै समस्या नभएको पारिवारिक स्रोतले जनाएको छ । संक्रमित युवतीको दोस्रो पटक स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको र त्यसको रिपोर्ट आउँन बाँकी रहेको अस्पतालले जनाएको छ ।

यसैबीच, बुधबारसम्म गण्डकी प्रदेशबाट ४७ जनाको स्वाल संकलन गरी परीक्षणका लागि पठाइएकोमा २१ जनाको रिपोर्ट आइसकेको र अन्य २५ जनाको रिपोर्ट आउँन बाँकी रहेको प्रदेश जनस्वास्थ्य निर्देशनालय जनाएको छ । पोखरामा कोरोना परीक्षणको मेसिन आइपुगेपछि परीक्षणको काम सुरु गरिएको निर्देशनालयको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?