logo
२०८१ बैशाख ७ शुक्रवार

  कोभिड–१९ विरुद्ध युद्धस्तरमा अनुसन्धान 



खोपमा समय लाग्ने, औषधि परीक्षणमा केन्द्रित हुँदै वैज्ञानिक

मुख्य समाचार |
बिज्ञान |


खोपमा समय लाग्ने, औषधि परीक्षणमा केन्द्रित हुँदै वैज्ञानिक


इश्वरचन्द्र झा
काठमाडौं, चैत्त १८ गते । विश्वब्यापी महामारीको रुप लिएको कोभिड–१९ को औषधी खोज्न विश्वभरिका अनुसन्धानकत्र्ता दिनरात काम गरेका छन् । ठूल ठूला औषधि उत्पादक कम्पनी र बायोटेक कम्पनी उक्त अनुसन्धानको अग्रपंक्तिमा छन् ।
विश्वका कतिपय उच्च कम्पनीले कोभिड–१९ को खोप विकसित गर्न लागेका छन् । औषधि उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सन कम्पनीले सेप्टेम्बर महिनासम्म मानिसमा परीक्षण गर्ने जानकारी दिएको छ । जोन्सन एण्ड जोन्सन कम्पनीले करिब एक करोड खोप बनाएर सन् २०२१ को सुरुवातसम्म बजारमा पठाइने जनाएको छ ।
जोन्सन एण्ड जोन्सनले अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभाग मातहातको बायोमेडिकल एड्भान्स्ड रिसर्च एण्ड डेभेलपमेन्टसँगको समन्वयमा खोप विकसित गर्न जुटेको उल्लेख गरेको छ ।
अन्य औषधि उत्पादक कम्पनीले पनि खोप विकसित गर्न आफ्नो सबै स्रोतसाधन परिचालन गरेको छ । सानो स्तरको जैविक प्रविधिमा आधारित मोर्डना, नोभाभाक्स र इनोभियोसँगै जर्मनीको जैविक प्रविधि बीएनटीएक्ससँग समन्वय गरी ठूलो औषधि उत्पादक पफजरले खोप विकसित गर्न प्रयासरत छन् । सबै औषधि उत्पादक कम्पनीको बजार भने खस्किदो छ ।
लङ्गेभिटि भिजन फन्डका संस्थापक सर्जि योङ्गले भने कम्पनीले चाहे जसरी छिट्टै कोभिड–१९ को खोप विकसित गर्न नसकिन दाबी गर्नुहुन्छ । उक्त फन्डले सानो मात्राको जैविक प्रविधि कम्पनीमा लगानी गर्दै आएको छ ।
विश्व औषधि उत्पादकले छुट्टै खोप विकसित गर्न तयारी गरिरहँदा यसअघि नै उत्पादन गरिएको औषधि कोभिड–१९ को बिरामी निको पार्न पर्याप्त हुन सक्ने अनुमान गरिएको छ ।
केही औषधि उत्पादकले भने विश्वब्यापी महामारीको रुप लिएको कोभिड–१९ विरुद्ध प्रयोगमा रहेको संक्रामक रोग नियन्त्रण सम्बन्धी औषधिले नैे काम गर्न सकिने आशा व्यक्त गरेका छन् । योङ्गले भन्नुभयो, “इतिहासमा पहिलोपटक औषधी उत्पादकले प्रतिक्रिया जनाउँदै औषधि वा खोप विकसित गर्न जोडतोडका साथ काम गरी रहेको छ, जुन सकारात्मक हो ।” खोप विकसित गर्न जति छिटो गरेपनि शरद् ऋतुसम्म मात्रै आउन सक्ने उहाँ दाबी गर्नुहुन्छ ।
योङ्गले कोभिड–१९ को उपचारका लागि बजारमा उपलब्ध तीन थरिको औषधी प्रयोगमा ल्याउन सकिने बताउनुभयो । पहिलो – रेम्डेसिभिर । जुन इबोलासँगै अन्य संक्रामक रोग विरुद्ध जिलिड साइन्सले उत्पादन गरेको हो ।
विश्व स्वास्थ्य संगठनले पनि रेम्डेसिभिरलाई कोभिड–१९ संक्रमित बिरामीमा प्रयोगका लागि औपचारिक रुपमा सहमति जनाइसकेको छ । संगठनले उक्त औषधिको परीक्षण स्पेन र नर्वेका संक्रमितमा सुरु गरेको छ । उक्त औषधि अझै अनुसन्धानकै क्रममा छ । जसलाई अझै परिष्कृत बनाउन प्रयास गरिएको छ ।
जिलीडका अध्यक्ष एवम् प्रमुख कार्यकारी डेनियल ओ डेले शनिबार एक वक्तब्य जारी गरी रेम्डेसिभिरलाई परिष्कृत गरी कोभिड–१९ विरुद्ध सटिक रुपले प्रयोग गर्न सकिने गरी विकसित गर्न लागेको जनाउनुभएको छ ।
योङ्गले थप दुई औषधि कोभिड–१९ को संक्रमितमा प्रयोगमा ल्याउन सकिने सुझाउनुहुन्छ । एचआइभी संक्रमणमा प्रयोग गरिने कालेट्रा, जुन एबीबीभी कम्पनीको उत्पादन हो । एन्टी भाइरल औषधि लोपिनाभिर र रिटोनाभिरको मिश्रण हो, कालेट्रा । केभजरा जुन रुमेटिक आर्थराइटिसको उपचारमा प्रयोग हुन्छ ।
त्यसैगरी, सैनोफीले पनि अमेरिका सरकारसँग समन्वय गरी खोप विकास गर्न जुटेको छ । चिनियाँ स्वास्थ्य अधिकारी र अनुसन्धानकत्र्ताले रुमेटोइड आर्थराइटिसका लागि प्रयोग गरिने रोचीको एक्टेम्रा कोभिड–१९ का बिरामीमा परीक्षण गरेका छन् ।
विश्वका औषधि उत्पादक एवम् अनुसन्धानकत्र्ताले भने खोप विकसित गर्न समय लाग्ने भएकोले तात्कालका लागि पहिले नै प्रयोगमा आइसकेको औषधि कोभिड–१९ को सामना गर्ने गरी विकास गर्न जुटेका छन् । यद्दपी कोभिड–१९ को संक्रमण तीब्र रुपमा फैलिने क्रममा रहेकोले समय खर्चेर पनि खोप नै बनाउने तयारीमा कम्मर कसेका छन् ।
(सीएनएनका लागि आर्थिक क्षेत्रका समाचारदाता पौल आर. ला मोनिकाले तयार गर्नुभएको रिर्पोटको अनुवादित अंश)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?