logo
२०८१ बैशाख ७ शुक्रवार



क्वारेन्टाइनमा रहन निर्देशन

मुख्य समाचार |


क्वारेन्टाइनमा रहन निर्देशन


सरोज ढुङ्गेल

काठमाडौँ, चैत १८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट हालसम्म आएका ४१ हजार १४० जनालाई क्वारेन्टाइनमा रहन निर्देशन दिएको छ । विभिन्न देशबाट आएकाहरूलाई सातवटै प्रदेश र स्थानीय तहमा बनाइएका क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको सो मन्त्रालयले जनाएको छ ।
‘‘विदेशबाट आएकामध्ये हालसम्म ४१ हजार १४० जनाको नाम अद्यावधिक गरिएको छ र सबैलाई क्वारेन्टाइनमा रहन निर्देशन दिइएको छ’’, मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले भन्नुभयो, ‘‘विदेशबाट आएकाको ट्रेसिङलाई तीव्र बनाएका छौँ, अद्यावधिक गरिएका जो कोहीलाई पनि लक्षण देखिएमा परीक्षण गर्न सकिन्छ । ’’
उहाँले काठमाडौँ उपत्यकामा चार र प्रदेशमा ९३ जना बिरामी आइसोलेसनमा रहेको जानकारी दिनुभयो । हालसम्म प्रदेशमा दुई सय जनाको नमुना सङ्कलन भएको जानकारी दिँदै उहाँले परीक्षणको दायरा बढाइएको र हालसम्म ९९३ जनाको नमुना परीक्षण भएको बताउनुभयो । उहाँका अनुसार थप ७६ जनाको नमुना सङ्कलन भएको छ ।
बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा नमुना परीक्षण सुरु गरिएको तीन दिनमा १९ जनाको परीक्षण भएको छ । प्रत्येक प्रदेशमा एक हजार सेट पीपीई, १० हजार मास्क र २० हजार पञ्जा पठाइएको छ । प्रवक्ता देवकोटाका अनुसार प्रत्येक अस्पतालमा कम्तीमा सय सेट पीपीई रहेको छ । यसैगरी, स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले कोरोना नियन्त्रणका लागि काम भइरहेकाले त्रसित नहुन आग्रह गर्नुभयो ।
कोरोनाबाट थापाको निधन होइन
बुटवलको कोरोना विशेष अस्थायी आइसोलेसन अस्पतालमा बाबुराम थापाको मृत्यु कोरोना सङ्क्रमणबाट नभएको पुष्टि गरिएको छ । प्रवक्ता देवकोटाले थापाको मृत्यु कोरोनाका कारण नभएको जानकारी दिनुभयो । आइतबार थापाको मृत्यु भएको थियो । यही चैत ६ गते दुबईबाट काठमाडौँ आउनुभएका थापा भोलिपल्ट आफ्नो डेरा सैनामैना पुग्नुभएको थियो ।
नेपाल आएको केही दिनमा उच्च ज्वरो आउनुका साथै खोकी लागेपछि मेडिकलबाट औषधि ल्याएर खाए पनि निको नभएपछि सैनामैनाका वडा अध्यक्ष र केही छिमेकीको सहयोगमा मुर्गियास्थित पर्राेहा स्वास्थ्यचौकी पु¥याइएको थियो ।
कोरोनाको सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वास्थ्यचौकीले बुटवल जान सुझाएपछि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । थापालाई अस्पताल पु¥याइँदा उच्च ज्वरो, खोकी र श्वासप्रश्वासको समस्यासहित गम्भीर अवस्थामा पुगिसकेको अस्पतालले विज्ञप्ति निकालेर जानकारी दिएको थियो ।
यस्तै, कोरोना सङ्क्रमितका परिवार र आफन्तमा कोरोना सङ्क्रमण नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । प्रवक्ता देवकोटाले सङ्क्रमित चार जनाको परिवार तथा आफन्तको हालसम्म गरिएको नमुना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ भन्नुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?