logo
२०८० चैत्र १६ शुक्रवार



नेपालमा कोरोना संक्रमित पाँचौ विरामी भेटिए

मुख्य समाचार |


नेपालमा कोरोना संक्रमित पाँचौ विरामी भेटिए


सरोज ढुङ्गेल
काठमाडौं,चैत १५ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पुनः पाचौ व्यक्तिमा कोरोना भाइरस रोगको संक्रमण पुष्टि भएको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत शनिबार दिउँसो पाचौ संक्रमितको पुष्टि भएको जानकारी दिनुभयो ।
प्रवक्ता देवकोटाले गत चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आउनुभएकी १९ वर्षकी महिलालाई कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभएको हो । उहाँ कतार एयरको क्युआर ६५२ नम्बरको विमानमा नेपाल आउनुभएको थियो । डा. देवकोटाले उक्त संक्रमित महिला उपत्यका बाहिर चिकित्सकको सम्पर्कमा रहनुभएको जानकारी दिदै संक्रमितको विस्तृत विवरण लिन सुरु भइसकेको बताउनुभयो ।
डा. देवकोटाले दुई जना संक्रमित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत रहेको भन्दै हालसम्म कुनै पनि बिरामी डिस्चार्ज नभएको प्रष्ट पार्नुभयो । एकजना संक्रमित भने धनगढीमा उपचाररत हुनुन्छ । उहाँले नेपालमा पछिल्लो ६ दिनमा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको भन्दै घरभित्रै बसेर कोरोना रोग विरुद्ध लड्नुपर्ने बताउनुभयो ।
नेपालमा हालसम्म संक्रमणको पुष्टि भएका सबै व्यक्ति विदेशबाट फर्किएका छन् । कोरोना संक्रमण भेटिएकोमा दुई जना दुबई ,एक फ्रान्स, एक बेल्जियम र एक चीनबाट आएकाहरु छन् । संक्रमित मध्ये चीनबाट आएका एक जना निको भएर दुई महिना अगाडि नै घर फर्किसक्नुभएको छ । प्रवक्ता डा. देवकोटाले हालसम्म ८७५ व्यक्तिको परीक्षण गरीसकेको जानकारी दिदै अहिले ३२ जनाको परीक्षण भइरहेको बताउनुभयो । उहाँले कोरोनाबारे जानकारीको लागि १११५ नम्बरको कल सेन्टरको व्यवस्था गरिएकोमा आजबाट थप ११३३ नम्बरको कल सेन्टर थपिएको बताउनुभयो । छ हजारभन्दा बढी व्यक्तिले उक्त कल सेन्टरमा फोन गरी जानकारी लिइसकेका छन् । चीनबाट पिपिइ लगायतका औषधिजन्य सामाग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीन गइसकेको बताउनुभयो । हेटौंडा, पोखरा र नेपालगञ्जमा समेत कोरोना परीक्षणको लागि तयारी भइरहेको भन्दै विभिन्न संघसस्थामार्फत पनि पिपिइ सहयोग आइरहेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?