logo
२०८१ बैशाख ८ शनिवार



विद्यार्थी भर्ना गरिए कारबाही

मुख्य समाचार |


विद्यार्थी भर्ना गरिए कारबाही


गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १४ गते । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणका कारण मुलुक पूरै लकडाउनमा पुगेको बेला विद्यालयहरूले नयाँ विद्यार्थी भर्ना तथा भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन गरेको पाइएमा कडा कारबाही गरिनेभएको छ ।
विद्यार्थी भर्ना गर्न बोलाउने विद्यालयलाई कारबाही गरी विद्यार्थीको भर्नासमेत खारेज गरिने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्पष्ट गरेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव दीपक शर्माले कुनै पनि विद्यालयले यस अवधिमा नयाँ भर्ना लिन तथा प्रवेश परीक्षा लिन नपाउने स्पष्ट गर्नुभयो । भर्ना लिइएमा कानुनअनुसार कारबाही गरिने उहाँले स्पष्ट पार्नुभयो ।
सरकारले नै नयाँ भर्ना नलिने भनेको र बढ्दो सङ्क्रमणका कारण मानिसको आवागमन समेत रोकिएको बेला भर्ना लिइए कडा कारबाही गरिने उहाँको भनाइ छ । कुनै विद्यालयले अनलाइनबाट विद्यार्थी भर्ना लिएको हुन सक्ने तर त्यो सम्भावना निकै न्यून रहेको उहाँले बताउनुभयो ।
राजधानीका सेन्ट जेभियर्स स्कुल र जेभियर्स इन्टरनेसनल स्कुलले विद्यार्थीको भर्नाका लागि प्रवेश परीक्षा लिएको भए पनि त्यसको नतिजा प्रकाशन गर्न रोक लगाइएको उहाँको भनाइ छ । जेभियर्स इन्टरनेसनल स्कुलका कार्यकारी प्रमुख लोकबहादुर भण्डारीले कोरोना भाइरस सङ्क्रमणका कारण संसारभरकै मानिसको जीवन जोखिममा परेका बेला आफूहरूले भर्ना कार्यक्रम सबै स्थगित गरेको जनाउनुभयो ।
बूढानीलकण्ठले सा¥यो
राजधानीको बूढानीकण्ठ स्कुलले विद्यार्थी भर्नाको सबै कार्यक्रम अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरेको छ । स्कुलका प्रिन्सिपल होमनाथ आचार्यले मुलुकभर कोरोना भाइरस सङ्क्रमणका कारण विद्यालयले लिने सबै खालको भर्ना कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो । विद्यालयले चैत, १५, १८ गते भर्नाको प्रवेश परीक्षा तथा चैत २६ गते छात्रवृत्तिको परीक्षा तय गरेको थियो । तर हाल ती सबैको परीक्षा रोकिएको उहाँले बताउनुभयो ।
यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा पठनपाठन भर्ना लगायतका कुनै पनि गतिविधि नगर्न सबै विद्यालयलाई आह्वान गरेको थियो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?