logo
२०८१ बैशाख ८ शनिवार



संक्रमित आएको प्लेनका सबै यात्रु पहिचान भइसक्याे : उप प्रम

मुख्य समाचार |


संक्रमित आएको प्लेनका  सबै यात्रु पहिचान भइसक्याे : उप प्रम


दीपक श्रेष्ठ

काठमाडौँ, चैत १३ गते । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस पोजेटिभ देखिएका दुई जना सङ्क्रमितहरुसँगै प्लेनमा आएकाहरुको सरकारले पहिचान गरिसकेको बताउनुभएको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखेरलले भन्नुभयो, “पहिचान भएकाहरुलाई क्वारेन्टाइनमा राख्छौ ।

ज्वरो र खोकीजस्ता समस्या देखिएमा स्वाब परीक्षण र कोरोना पहिचान भएमा उपचार गर्छौ ।” रक्षा मन्त्रालय अगाडि पुतली बगैंचामा राखिएका तीनवटा टेन्टबाट नै संयोजक पोखरेलले बुधबारबाटै उच्चस्तरीय समन्वय समितिको बैठक, छलफल तथा भेटघाट गरिरनुभएको छ । बिहिबार दिनभर नै कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका गतिविधि, तीन दिनदेखिको लकडाउनबाट आपूर्तिमा देखिएका समस्या र शान्ति सुरक्षाका विषयमा छलफलमा संयोजक पोखरेल व्यस्त रहनुभयो ।

उहाँले सञ्चारकर्मीसँग भन्नुभयो, “मुख्यगरी कोभिड–१९ सङ्क्रमणको उपचार, आपूर्ति र शान्ति सुरक्षाका विषयमा केन्द्रित भएर छलफल र योजना बनाउँदैछौ ।” उहाँले कोभिड–१९ को परीक्षण र उपचारका लागि आवश्यक उपकरण र सामग्रीको विश्वमै अभाव रहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिड–१९ को परीक्षण र उपकारका लागि आवश्यक उपकरण र सामग्री हामीसँग थिएन ।

बाहिरबाट ल्याउनका लागि केही प्रक्रियागत जटिलता पनि छन् ।” उहाँले उपकरण तथा सामग्री खरिदमा रहेका जटिलता तोडेर चाँडै नै ल्याइने विश्वास व्यक्त गर्नुभयो । उहाँले औषधि, दूध, फलफूल, खाद्यान्नका पसल खुला हुन्छन् भनेर सूचना गरिएको भए पनि व्यापारी र उपभोक्तामा केही अलमल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “औषधि, दूध, फलफूल, खाद्यान्न पसललाई खुला हुन्छन्, यो बन्दाबन्दीले त्यसलाई रोकेको छैन ।”

उहाँले कोभिड–१९ ले मानवता र सभ्यता मै संकट ल्याएको चर्चा गर्दै राष्ट्रिय संकटको यो बेला सबैको एकीकृत प्रयास आवश्यक हुने बताउनुभयो । उहाँले कफ्र्यूले राजनीतिक अर्थ दिने भएकाले मानिसको आवतजावत नियन्त्रणका लागि मात्रै सरकारले प्रयास गरिरहेको बताउनुभयो । पाटन अस्प्तालमा पनि कोरोना उपचार कोभिड (१९ को (कोरोना भाइरस) परीक्षण र उपचार पाटन अस्पतालमा पनि सुरु गरिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बिहिबार अस्पतालको तयारी बारे जानकारी लिन अस्पताल पुग्नु भएको थियो । अस्पतालको तयारी र अबस्थाबारे जानकारी लिदै मन्त्री ढकालले उच्च मनोबलसाथ कोरोना बिरूद्धको अभियानमा जुट्न सबैलाई आग्रह गर्नुभयो । सो अवसरमा अस्पताल ब्यवस्थापनले २४ वटा आइसीयू बेड, ४५ बेड क्वारेन्टाइन र ३० बेड आइसोलेसनका लागि तयार पारिएको जानकारी दिएको थियो ।

अस्पतालले चिकित्सक तथा स्वास्थ्यकर्मीको ब्यक्तिगत सुरक्षा पोशाक (पीपीई) आफैले तयार पारिरहेको जनाइएको छ । उपचारमा संलग्न सम्पुर्ण कर्मचारीको लागि क्वारेन्टाइन, खान र बस्नको लागि भिन्नै ब्यबस्था समेत अस्पतालले गरेको छ । क्वारेन्टाइन, आइसोलेसन र आइसीयूको लागि छुट्टाइएको क्षेत्रलाई सिल्ड गर्ने काम भैरहेको अस्पतालले जनाएको छ । अत्यावश्यक अबस्थामा प्रसुती सेवा बाहेक सम्पुर्ण सेवालाइ कोरोनाको उपचारका लागि प्रयोगमा ल्याउने बिषयमा छलफल समेत भइरहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?