logo
२०८० चैत्र १६ शुक्रवार



इन्टरनेट खपत दोब्बरले बढ्यो

मुख्य समाचार |


इन्टरनेट खपत दोब्बरले बढ्यो


विश्वास रेग्मी

काठमाडौँ, चैत १२ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट सतर्कता अपनाउन सरकारले मङ्गलबारदेखि एक हप्तासम्म घरबाहिर ननिस्कन निर्देशन दिएसँगै इन्टरनेटको खपत ह्वात्तै बढेको छ । तत्काल एक हप्तासम्म घरमै बस्न सरकारले गरेको आग्रहको पहिलो दिनमै इन्टरनेटको खपत सामान्य दिनको तुलनामा करिब दोब्बरले बढेको छ । दूरसञ्चार तथा निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकको सेवा करिब देशैभर विस्तार भइसकेको र घरबाहिर जान नपाउने अवस्थामा इन्टरनेट प्रयोग गतिलो विकल्प बन्दा यसको खपत बढेको पाइएको छ । यसबाहेक कोरोना भाइरससँग सम्बन्धित सूचना तथा जानकारीका लागि अनलाइन सजिलो माध्यम भएकाले अन्य दिनमा भन्दा इन्टनरेटको खपत तुलनात्मक रूपमा बढिरहेको छ ।
घरभित्र रहँदाको फुर्सदिलो समयमा खासगरी भिडियो सामग्रीको उपयोग बढ्दा इन्टरनेट खपत बढिरहेको इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइस्पान)का अध्यक्ष भोजराज भट्टले बताउनुभयो । ‘गेमिङ, भिडियो डाउनलोड तथा एकैै परिवारमा धेरैले एकैपटक युट्युब प्रयोग गर्दा इन्टरनेटको ट्राफिक एकदमै बढिरहेको छ, उहाँले भन्नुभयो । विगत केही दिनयता नै नेपालमा इन्टरनेटमा चाप बढिरहेको छ । नियमित किसिमको चहलपहल घट्दै जाँदा इन्टरनेटको खपत भने त्यसै अनुसार बढ्दै गएको आइस्पानले जनाएको छ ।
इन्टरनेटको खपतमा पछिल्ला दिन नियमित वृद्धि भए पनि मङ्गलबार अन्य दिनभन्दा दोब्बर बढी भएको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बताउनुभयो । उहाँका अनुसार मङ्गलबार दिउँसोको इन्टरनेट खपतको प्रवृत्ति हेर्दा अन्य दिनको अधिक खपत हुने समय (पिक आवर)भन्दा दोब्बर बढी पाइएको छ । नेपालमा सामान्यतः बेलुका ७ बजेदेखि राति १० बजेसम्मको समयलाई इन्टरनेटको पिक आवर मानिन्छ तर मङ्गलबार दिउँसो १२÷१ बजेतिर नै पिक आवरभन्दा बढी इन्टरनेट ब्यान्डविथ खपत भएको भायनेट कम्युनिकेसनका प्रबन्ध निर्देशक विनय बोहराले जानकारी दिनुभयो । इन्टरनेटको वास्तविक खपतको अवस्था बुझ्न मङ्गलबार चौबीसै घन्टाकै विश्लेषण गर्नुपर्ने भए पनि अन्य दिनमा भन्दा ब्यान्डविथ स्पष्ट रूपमा बढेको पाइएको उहाँले बताउनुभयो ।
इन्टरनेटको प्रयोग अत्यधिक बढ्दै गएपछि आइस्पानले सार्वजनिक सूचना नै जारी गरेर मनोरञ्जनात्मकभन्दा पनि सूचनामूलक सेवाका लागि प्रयोग गर्न आग्रह गरेको छ । ब्यान्डविथ खपत बढ्दा सेवा प्रदायकको नेटवर्कमा अत्यधिक भार बढेकोले अधिक इन्टरनेट खपत हुने सेवा प्रयोग नगर्न आइस्पानले अनुरोध गरेको छ । त्यस्तै सेवा प्रदायकले जडान गरेका उपकरण यथास्थानमै राखेर प्रयोग गर्न अन्यथा उपकरणको सेटिङ बिग्रने अवस्था आउन सक्नेतर्फ पनि आइस्पानले सचेत गराएको छ । नेपालले भारतका टाटा, एयरटेलजस्ता क्यारियरमार्फत ब्यान्डविथ खरिद गर्दै आएको छ । यस्तो ब्यान्डविथ केही सेवा प्रदायकले नेपाल भिœयाएर अन्य सेवा प्रदायकलाई बिक्री गर्दै आएका छन् । नेपाल टेलिकम र वल्र्डलिङ्क नेपालमा इन्टरनेट ब्यान्डविथ भिœयाउने ठूला सेवाप्रदायक हुन् । नेपालले वार्षिक करिब दुई अर्बको ब्यान्डविथ आयात गर्छ ।
नेपाल दूर सञ्चार प्राधिकरणको मङ्सिरसम्मको तथ्याङ्क अनुसार देशको कुल जनसङ्ख्यामध्ये ७२.४२ प्रतिशत जनता इन्टरनेटको पहुँचमा छन् । अर्थात् नेपालमा दुई करोड १३ लाख ७३ हजारले इन्टरनेट प्रयोग गर्छन् । त्यसमध्ये एक करोड ६४ लाखले मोबाइलबाटै इन्टरनेट प्रयोग गर्छन् । मोबाइलबाट प्रयोग गर्नेमध्ये ४३ लाख ६० हजार फोरजी प्रयोगकर्ता हुन् । बाँकीले थ्रीजी प्रयोग गर्छन् । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकका ग्राहक मात्र ३७ लाख नाघेका छन् । नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको तारसहितको एडीएसएल इन्टरनेट करिब १० लाखले प्रयोग गर्छन् ।
आवश्यक मात्र प्रयोग गर्न आग्रह
नियामक प्राधिकरणले कोरोना भाइरसको समस्याले इन्टरनेटको खपत अस्वाभाविक रूपमा वृद्धि हुँदा नेटवर्क ट्राफिक साँघुरो बन्दै गएको जनाएको छ । यसरी ट्राफिक बढ्दा सेवा नै अवरुद्ध हुने जोखिम भएकोले आवश्यकता अनुसार मात्र इन्टरनेटको प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको छ । प्राथमिकताका आवश्यक एप्लिकेसन मात्र प्रयोग गरी सहयोग गरिदिनु प्राधिकरणले सार्वजनिक सूचनामा उल्लेख गरेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?