logo
२०८१ बैशाख ७ शुक्रवार



मुलुकभरको जनजीवन शान्त र ठप्प

मुख्य समाचार |


मुलुकभरको जनजीवन शान्त र ठप्प


देवबहादुर कुँवर

काठमाडौँ, चैत १२ गते । सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण नियन्त्रणका लागि सुरु गरेको स्व–कफ्र्यु (लकडाउन)को सर्वसाधारणले खुलेर स्वागत र समर्थन गरेका छन् । लकडाउनको पहिलो दिन मङ्गलबार मुलुकभरको जनजीवन शान्त र ठप्प बन्यो ।
गृह मन्त्रालयका अनुसार काठमाडौंँ उपत्यकालगायत मुलुकका मुख्य सहरहरू र राजमार्गहरू बन्द भएका छन् । सरकारको निर्णयलाई सर्वसाधारण नागरिकले समर्थन र सहर्ष स्वीकार गरेको दाबी मन्त्रालयले गरेको छ । नेपाल–भारत सीमा नाकामा भारतबाट आउनेहरूको चाप अझै नघटेकाले समस्या देखिएको छ । गृह प्रवक्ता केदारनाथ शर्माले सीमा नाकामा रोकिएकाहरूको उचित व्यवस्थापन र सहजीकरणका लागि प्रदेश सरकारसँग छलफल गरी आवश्यक निर्णयमा पुग्न निर्देशन भएको बताउनुभयो । ‘लकडाउन’का कारण राजधानी काठमाडौँलगायत मुख्य सहरहरू मात्र नभई पहाडी क्षेत्रका सहायक सडकहरूमा समेत सवारी साधन गुडेनन् । तराई तथा पहाडका ग्रामीण बस्तीहरूमा समेत सर्वसाधारणलाई एक गाउँबाट अर्को गाउँमा नजान स्थानीय सरकारले आग्रह गरेका छन् ।
महानगरीय प्रहरी कार्यालयका आयुक्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले उपत्यकामा बिहान हलुका सवारी साधन मोटरसाइकलहरू फाट्टफुट्ट निस्के पनि प्रहरीको चेतावनीपछि ठप्प भएको जानकारी दिनुभयो । अत्यावश्यकका सवारी साधनहरूबाहेक स्वास्थ्यकर्मी र सञ्चारकर्मीका सवारीहरू केही मात्रामा सञ्चालनमा आएको उहाँले बताउनुभयो ।
उपत्यकाको तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरको मुख्य सडक तथा सहरी क्षेत्र मात्र नभई भित्री बस्तीका पसलहरू पनि बन्द रहेका छन् ।

खाद्यान्न किराना पसल खोल्न आग्रह
दैनिक उपभोग्य खाद्यान्न सामग्रीको समस्या हुने भएकाले बजारको भित्री भागका थोक पसल, किराना पसल, खाद्यान्न पसल, तरकारी, ग्यास र पानी पसल खोलिदिन आग्रह गरेको छ । बिहान प्रहरीले नै किराना पसलहरू बन्द गराएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले भन्नुभयो, “स्पष्ट निर्देशन नहुँदा बिहान केही ठाउँमा किराना पसल बन्द गरेछन् तर भीडभाड नहुने गरी खाद्यान्न र किरना पसल खोल्न आग्रह गरिएको छ ।” दिनभर घरकोठामा बन्दी हुन बाध्य सर्वसाधारणको सुविधाका लागि पसल बन्द नगर्ने निर्देशन भएको छ, उहाँले भन्नुभयो, “स्वयं व्यापारीले आफ्नै सुरक्षाका कारण बन्द राखे पनि बिहान बेलुका केही समयका लागि खोल्न आग्रह गरिएको छ ।”

सवारी सञ्चालनमा सहजीकरण
ट्राफिक प्रहरीले जिल्ला प्रशासन कार्यालयको स्वीकृति (पास) नभएका निजी र सरकारी सवारी साधन सञ्चालनमा रोक लगाएको छ । तरकारी, दूध, पानी, खाद्य, इन्धन, औषधि र स्वास्थ्यकर्मीका सवारी साधनहरू सञ्चालनमा सहजीकरण गरेको छ । उपत्यका प्रवेशका सम्पूर्ण नाका बन्द गरिएका छन् तर अत्यावश्यक सामग्री बोकेर आउने सवारीलाई भने सहजीकरण गर्ने गरिएको महानगरीय प्रहरीले जनाएको छ । औषधि पसल २४सै घण्टा खोल्दा फरक नपर्ने जनाइएको छ ।
सुपरमार्केट र डिपार्टमेन्ट स्टोरहरूमा सरसफाइमा विशेष ध्यान दिनुका साथै भीडभाड नहुने गरी सामग्रीहरू खरिदबिक्रीमा सहजीकरण गर्न मातहतका प्रहरी कार्यालय प्रमुखलाई निर्देशन भएको छ । समूह बनाई अनावश्यक रूपमा हिँडडुल नगर्न आग्रह गरिएको छ । उपत्यका बाहिरबाट आउने दूध, तरकारी र पानी बोकेका गाडीहरूलाई सम्बन्धित स्थानमा पु¥याउन प्रहरीले नै सहजीकरण गरिदिने भएको छ । सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई विभिन्न स्थानबाट मङ्गलबार प्रहरीले नियन्त्रणमा लिएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?