logo
२०८० चैत्र १६ शुक्रवार

  मन्त्रिपरिषद् निर्णय  



दुबै छिमेकी सँगका सीमामा यात्रु माथि राेक, ५० कराेडकाे केन्द्रिय काेष

मुख्य समाचार |
पढ्नै पर्ने |


दुबै छिमेकी सँगका सीमामा यात्रु माथि राेक, ५० कराेडकाे केन्द्रिय काेष


दीपक श्रेष्ठ

काठमाडौँ, चैत ९ गते । सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि केन्द्रिय कोष स्थापना गरेको छ । ५० करोड रुपियाँ राशि सुरुमा राखेर सुरु गरिएको कोषमा प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यहरुको एक महिनाको तलव जम्मा गरिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सोमबार विहान १० बजेबाट लागू हुनेगरी दुवै छिमेकी मुलुकका सम्पूर्ण नाकाबाट हुने यात्रु आवागमन एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ । यद्यपि, सीमा वारपारको ढुवानी नियमित हुने जनाइएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार राति सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.युवराज खतिवडाले सो जानकारी दिनुभएको हो ।

चीन र भारततर्फको यात्रु आवागमन स्थगन गरिएको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.खतिवडाले भन्नुभयो, “यो अहिले तत्कालका लागि लिइएको निर्णय हो । लामो समय रोक्नुपर्ने स्थिति आएमा दुई पक्षीय वार्ताबाट निर्णयमा पुग्नेछौ ।” उहाँले निर्वाचनलगायत अवस्थामा केहि दिनका लागि सीमा रोक्दै आएको अभ्यासकै निरन्तरताको रुपमा एक साताका लागि सीमाबाट यात्रु आवागमन स्थगित गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले एक देशको सङ्क्रमण अर्को देशमा नसरोस भनेर छिमेकी मुलुकको समेत हितलाई ध्यानमा राखेर सो निर्णय गरिएको बताउनुभयो । उहाँले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा राष्ट्र सेवक कर्मचारी, उद्यमी, व्यवसायी, नागरिकले समेत सहयोग गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । सो कोषको रकम स्वास्थ्य पूर्वाधार निर्माण, स्वास्थ्य सामग्री आपूर्तिलगायतमा कार्यविधि बनाएर खर्च गरिने जानकारी समेत दिनुभयो । उहाँले स्यानिटाइजर, मास्क मुलुकमै पनि केही उत्पादन सुरु भएको र स्वास्थ्य उपकरण आपूर्तिका लागि छिमेकी मुलुकसँग पत्राचार गरिएकाले केही दिनमै सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले चीनबाट अहिले नै चिकित्सक बोलाउनु पर्ने अवस्था नरहेको तर आवश्यक परे त्यसतर्फ पनि सोच्न सकिने बताउनुभयो । उहाँले औषधिको अभाव नभए पनि कोरोना सङ्क्रमण परीक्षणका लागि केमिकल ल्याउने र ल्याव स्थापना गर्ने विषयमा छलफल भएको बताउनुभयो । उहाँले धुलिखेल अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआइएचएस) धरान र वीर अस्पतालमा कोरोना सङ्क्रमण परीक्षण ल्याव स्थापना गरिने जानकारी दिनुभयो । सरकारको प्रयास सङ्क्रमण रोक्नतिर सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि आफ्ना सम्पूर्ण प्रयास केन्द्रित गरेको छ ।

अस्पतालमा आइसीयु क्षमता बृद्धि, क्वारेन्टाइन, आइसोलेसन बेड निर्माणको तयारी तीब्र गतिमा गरिरहेको छ । अन्तर्राष्ट्रिय हवाई सेवा बन्ददेखि मुलुकभित्रकै लामा दूरीका यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाएको छ । लामा दुरीका सवारी सञ्चालनमा लगाइएको रोक सोमबारबाट सुरु भएको छ । यद्यपि, आन्तरिक हवाई उडान कायमै राखिएको छ । सरकारका प्रवक्ता डा.खतिवडाले कोरोना भाइरसको सङ्क्रम भित्रिनै नदिने सरकारको प्रयासमा सम्पूर्ण नागरिक, सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

उहाँले कोरोना भाइरसको सम्भावित जोखिम अध्ययन गरेर सरकारले विभिन्न क्षेत्रमा लगाएको रोकमाथि थप निर्णय हुने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा शुत्रबार गर्नुभएको सम्बोधन मार्फत् लामो दूरीको यातायातमा रोक लगाइएको थियो । सो घोषणापछि राजधानी काठमाडौँबाट लाखौ मानिस बाहिरिएका छन् । आइतबार बेलुकासम्म उपत्यकाबाट बाहिरिने यात्रुको भीड काठमाडौँका नाकानाकामा देखिन्थ्यो । सरकारले चैत १८ गतेसम्मका लागि सबै अन्तर्राष्ट्रिय उडानमा समेत चैत ९ गतेबाट प्रतिबन्ध लगाइसकेको छ । सरकारले यसअघि विद्यालय, विश्वविद्यालय, सिनेमा हललगायत मानिसको भीडभाड हुनेस्थलमा रोक लगाएको थियो । २५ जनाभन्दा बढी भेला हुने पर्व, मेला, गतिविधिमा सरकारले रोक लगाइसकेको छ ।

नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरुमा चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ । सरकारी कार्यालय बन्द हुँदैन अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.खतिवडाले सरकारी तथा निजी कार्यालय बन्द गर्ने निर्णय नभएको बताउनुभएको छ । सरकारका प्रवक्ता डा.खतिवडाले सञ्चार मन्त्रालय मातहतका सञ्चार माध्यमसँगको आइतबार आयोजित छलफलमा भन्नुभयो, “सबै सार्वजनिक कार्यालय खुल्छन् ।

फ्रन्ट डेस्कका कतिपय सेवा अहिले बन्द गर्ने भन्ने कुरा हो । जहाँ बढी भिडभाड हुन्छ त्यहाँ बन्द गर्ने भन्ने हो । अरु कार्यालयहरुमा थप निर्णय नहुन्जेल सुचारु नै हुन्छ । यसमा द्विविधा बनाउनु भएन ।” उहाँले यातायात सञ्चालनको विषयमा पनि द्विविधा राख्न नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “लामो दुरीको सार्वजनिक यातायात बन्द भनिएको छ । त्यति नै बुझ्नुपर्छ, त्योभन्दा धेरै बुझ्नु हुँदैन ।” उहाँले लामो दुरी भनेको कति हो भन्ने विषयमा छलफल भइरहेको भन्दै जिल्लाभित्रै चल्ने छोटा दुरीका सवारी साधनको समस्या नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले नागरिकलाई घरमै बस्नुस् भन्दा टेलिफोन, इन्टरनेट, मोवाइलको प्रयोग बढी हुने भएकाले त्यसको अवस्थालाई तन्दुरुस्त राख्न समेत सम्बद्ध निकायलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “इन्टरनेट, मोवाइलको प्रयोगकर्ता बढ्दा हुने समस्यालाई सम्बोधन गर्न सक्ने गरी सेवालाई अक्षुण्ण राख्न निर्देशन दिनुभयो । उहाँले सामाजिक सञ्जालको दुरुपयोग गरी नागरिकमा भ्रम सिर्जना गर्नेमाथि छिटो कारवाही गर्ने र भ्रमलाई छिटो निस्क्रिय बनाउन कार्ययोजना बनाउन समेत सम्बद्ध निकायलाई निर्देशन दिनुभयो । उहाँले कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय र प्रदेशले गरेका तयारीका विषयमा पनि समाचारमा स्थान दिन आग्रह गर्नुभयो ।

उहाँले कोभिड–१९ बारे जनतामा सहि सूचना, ज्ञान र जानकारी दिनुपर्नेमा जोड दिनुभयो । सरकारले देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु समेत चैत ९ गतेदेखि १३ दिनका लागि (चैत २१ गतेसम्म) बन्द गर्ने निर्णय गरिसकेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?