logo
२०८० चैत्र १५ बिहीवार

  कोभिड–१९ विरूघ्द जुघ्न सुरक्षा निकाय तयार 



तेह्र हजार प्रहरीलाई प्रशिक्षण, सेनाका पाँच हजार स्वाथ्यकर्मी तयार

मुख्य समाचार |
राष्ट्रिय |


तेह्र हजार प्रहरीलाई प्रशिक्षण, सेनाका पाँच हजार स्वाथ्यकर्मी तयार


नारायण ढुङ्गाना

काठमाडौँ, चैत गते ।  कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) को उच्च जोखिम रहेको नेपालमा तीनै तहका सुरक्षा निकाय उच्च सतर्कताका साथ तयारीमा जुटेका छन् । सीमा जोडिएका देश चीन र भारतमासमेत सङ्क्रमण फैलिएका बेला नेपालमा रोगको प्रवेश हुन नदिन र प्रवेश भइहाले तत्कालै काम गर्न सक्ने गरी सुरक्षा निकायले एकल तथा संयुक्त प्रयासमा आइसोलेसन वार्ड, क्वारेन्टाइन भवन बनाउनेदेखि हेल्थ डेस्क स्थापना गर्ने र सीमाक्षेत्रको निगरानी गरिरहेका छन् ।    
    
नेपाल प्रहरीले अहिले १३ हजारभन्दा बढी जनशक्ति कोभिड–१९ कै लागि प्रशिक्षण दिएर तयारीमा राखेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो । “आवश्यक पर्दा जनशक्ति जुनसुकै बेला ‘मुभ’ हुनेछन्, त्यसमा प्रहरीले पूर्ण तयारी गरेको छ”, प्रवक्ता क्षेत्रीले भन्नुभयो । उहाँले जिल्ला र केन्द्रमा कोरोनासम्बन्धी हेल्थ डेस्क स्थापना गरिएको जानकारी दिनुभयो । प्रहरीको २ नं गणमा ५० श्ययाको क्वारेन्टाइन भवन र नेपाल प्रहरी अस्पतालमा २० श्ययाको आइसोलेसन वार्ड तयार पारिएको जानकारी दिनुभयो ।    
    
शुक्रबार भिडियो कन्फ्रेन्समार्फत सातै प्रदेशमा उच्च सतर्कता अपनाउन निर्देशन दिइसकेको उहाँले जानकारी दिनुभयो । सीमाक्षेत्रमा समेत कतिपय ठाउँमा प्रहरीले आफ्नै तरिकाले हेल्थ डेस्क स्थापना गरेको र कतिपय स्थानमा सशस्त्र प्रहरीसँगको समन्वयमा डेस्क स्थापना गरेर निगरानी भइरहेको छ । कतिपय स्थानमा स्वास्थ्य संस्थासँग समन्वय गरेर डेस्क स्थापना गरिएको छ । दिपायल, नेपालगञ्ज र सप्तरीमा रहेको प्रहरी अस्पताल पनि आवश्यक तयारीका साथ बसेको उहाँले बताउनुभयो ।    
    
सशस्त्र प्रहरी बल नेपाल पनि आवश्यक तयारी जुटेको छ । नेपालमा कोरोनाको सङ्क्रमण नभए पनि सम्भावित जोखिम रोक्न र रोग भित्रिएमा तत्काल परिचालन हुने गरी सशस्त्र प्रहरीले तयारी गरेको प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविनकुमार श्रेष्ठले जानकारी दिनुभयो । आवश्यक परेको खण्डमा एक हजार व्यक्तिलाई उपचार गर्न सक्ने गरी क्षेत्र छुट्याएर आइसोलेसन र क्वारेन्टाइनका लागि आवश्यक तयारी थालिएको उहाँले जानकारी दिनुभयो ।    
    
नेपाल प्रहरी तथा विभिन्न स्वास्थ्य संस्थासँगको समन्वयमा सीमाक्षेत्र र मानिसको आवतजावत गर्ने क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । सीमा आसपास १४२ स्थानमा हेल्थ डेस्कमार्फत सेवा दिइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।    
    
सेनाको यस्तो छ तयारी    
    
नेपाली सेना पनि संयुक्त र आफ्नै प्रयासमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि उच्च तयारीका साथ काम गरिरहेको छ । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार केन्द्रमा केही दिनअघि मात्रै सीमित स्रोत साधनका बीच कसरी काम गर्न सकिन्छ भनेर पूर्वाभ्यास नै गरिएको थियो । काठमाडौँमा ५४ टेन्ट बनाएर सफल अभ्यास गरिएको थियो । नेपालगञ्ज, इटहरी र पोखरामा रहेको क्षेत्रीय अस्पतालले समेत आफ्नो आवश्यक तयारी गरेर सेना बसेको छ ।    
    
सातै प्रदेशका पृतनामा रहेका साना अस्पतालले प्रदेश सरकारसँग मिलेर आइसोलेसन र क्वारेन्टाइन बनाएको उहाँले बताउनुभयो । पूर्वी पृतनाले प्रदेश सरकारसँग मिलेर मोरङ, झापा, उदयपुरमा झण्डै ४०० श्ययाको छुट्टै क्याम्प (आइसोलेसन वार्ड) बनाइसकेको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।    
    
अन्य पृतनाले पनि आवश्यक तयारी गरिरहेको छ । केन्द्रबाट पठाउने स्रोत सामग्रीहरु पठाउने क्रम जारी रहेको र भूकम्पका बेलाका सामग्री, टेन्ट सबै प्रयोग हुँदैछ । सेनाले सबै पृतनालाई आकस्मिक कोषका रुपमा रु २५ लाखका दरले दिइसकेको छ । त्यसबाट तयारी भइरहेको छ । सरकारले आइसियूसहितको २० श्यया बनाउन निर्देशन दिएअनुसार वीरेन्द्र सैनिक अस्पतालमा त्यसको तयारीको काम भइरहेको प्रवक्ता पाण्डेले बताउनुभयो ।    
     
उहाँले भन्नुभयो, “हाम्रा सबै ब्यारेक, गणहरु ‘लकडाउन’ जस्तै छ, बिदा भएर आउनेलाई अलग्गै क्वारेन्टाइनमा राखिन्छ, बिदा छुट्टी सबै बन्द भइसक्यो, आन्तरिकसँगै बाह्य सावधानी, रोकथाम र नियन्त्रणका लागि सेना पूर्ण तयारीमा छ ।” उहाँले कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि ‘कोर’ समूह तयार पारिएको जानकारी दिनुभयो । कुन ब्यारेक र गणमा सिपाही र कमाण्डर को–को खटिने सबै तयारीमा छ, सेनाका चिकित्सक र स्वास्थ्यकर्मी कसरी परिचालन हुने आइसोलेसनमा कसरी काम गर्ने, क्वारेन्टाइनमा सेनाको भूमिका कस्तो रहन्छ सबै कुराको तयारीमा नेपाली सेना रहेको छ । केन्द्रमा १० श्ययासहित विभिन्न स्थानमा गरी ५२ श्ययाको आइसोलेसन वार्डसमेत सेनाले तयारी अवस्थामा राखेको जनाइएको छ ।

नेपाली सेनाले कोभिड–१९ को जोखिम नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गरी योजना बनाउने काम अघि बढाएको छ । साथै सेनाले सोे जोखिम रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारलाई आवश्यक सहयोग गर्ने जनाएको छ । यसका लागि सेनाले मातहतका पृतना, वाहिनी र गणस्तरमा आफ्नो तयारी गरिरहेको छ । सरकारले सेनालाई कोभिड–१९ को जोखिम रोकथाम र उपचारका लागि २० वटा सघन उपचार कक्ष निर्माण गर्न आवश्यक बजेट उपलब्ध गराउने घोषणा गरिसकेको छ ।    
सो भाइरसका बिरामी देखिएमा आइसोलेशन र क्वारेन्टाइनमा कसरी राखेर उपचार गर्ने भनी आन्तरिक तयारीस्वरुप सेनाले उपचार विधि, प्रक्रिया र अपनाउनुपर्ने आवश्यक सजगताबारे ५० चिकित्सकसहित १८१ जनालाई प्रशिक्षण दिइसकेको छ । ती जनशक्तिले केन्द्रमा १० सहित मुलुकभर ५२ स्थानमा नमूना क्वारेन्टाइन र अस्पताल तयार गरिसकेका छन् ।    
    
सेनाको पूर्वी पृतना मातहत विभिन्न तीन स्थानमा ४४४ श्ययाको क्वारेन्टाइन तयार गरिसकेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । सेनाले कोरोना भइरसबाट सुरक्षित रहन र आवश्यक परेको बखत चुस्त–दुरुस्त रुपले परिचालन हुन सैनिकलाई बिदा बस्न बन्देज लगाइसकेको छ ।    
    
सरकारको निर्णयअनुसार एकै पटक धेरै मानिस एकै स्थानमा जम्मा हुन नदिने हेतुले ससाना समूहमा रहेर बिहान–बेलुका खाना खुवाउने प्रबन्ध मिलाएको सेनाले जानकारी दिएको छ । सेनाले सङ्गठनभित्र स्वास्थ्यसम्बन्धी तालीम लिएका पाँच हजार व्यक्तिको रोष्टर तयार गरिसकेको जनाएको छ । उक्त जनशक्तिलाई आवश्यकताअनुसार परिचालन गर्न तयारी हालतमा राखेको जानकारी दिइएको छ ।    
सेनाले अहिले स्वास्थ्यसम्बन्धी तालीम लिएका भूतपूर्व सैनिकको पनि खोजी गरिरहेको छ । यसैबीच सेनाले हेलिकोप्टरबाट औषधि छर्कने बेलामा सर्वसाधारण घरभित्रै बस्नुपर्छ भन्ने ढुङ्गबाट आएको हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ ।    

सरकारको उच्च सतर्कता    
    
सरकारले कोभिड–१९ भित्रिन नदिन उच्च सतर्कता अपनाएको छ । मुलुकमा भोलि आइतबारदेखि यही चैत २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्दको घोषणा गरिसकेको छ । यस्तै चैत १० गतेदेखि लागू हुनेगरी केही अवधिका लागि लामो दूरीमा चल्ने सबै यात्रुवाहक सवारी साधन बन्द गरेको छ ।    
    
अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन, भीडभाडमा नजान, सरसफाइमा ध्यान दिन, अनावश्यकरूपमा खाद्यान्नको सञ्चित नगर्न, चिकित्सकको सल्लाह लिन र आतङ्कित नहुन पनि सरकारले आह्वान गरिसकेको छ । यही चैत ९ गतेदेखि १८ गतेसम्म हवाईमार्ग हुँदै नेपाल आगमनमा रोक लगाउन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरिसक्नुभएको छ ।    
    
सबै सीमानाकाबाट आवागमन गर्ने यात्रुको अनिवार्य स्वास्थ्य जाँच गरिने, देशभर स्वास्थ्य सेवा प्रभावकारी बनाइने भएकाले उच्च मनोबलका साथ कोरोना भाइरसलाई परास्त गर्ने उहाँले आह्वान गर्नुभएको छ । चीनको वुहानमा गत डिसेम्बर ३१ मा कोभिड–१९ मानिसमा देखिएको थियो । यो कोरोनाको सातौँ प्रजातिमा पर्छ । जनावरबाट मानिसमा सरेको भनिएपछि कुन जनावरबाट सरेको भनेर पत्ता लागेको छैन । विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिलेसम्म १७७ मुलुकमा दुई लाख ३४ हनार ७३ जना सङ्क्रमित भइसकेका छन् । जसमा नौ हजार ८४० जनाको मृत्यु भइसकेको छ । कोभिड–१९ को नेपाल उच्च जोखिममा रहे पनि अहिलेसम्म सङ्क्रमण देखिएको छैन । भारतको सीमानाकाबाट बढी जोखिम रहेकाले अहिले सरकारले सीमामा उच्च निगरानी बढाउँदै आएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?