logo
२०८० चैत्र १६ शुक्रवार



अत्यावश्यक सेवा बन्द नहुने

मुख्य समाचार |


अत्यावश्यक सेवा बन्द नहुने


भउचप्रसाद यादव

काठमाडौँ, चैत ८ गते । विश्वभरि नै महामारीको रूपमा फैलिँदै गएको कोरोना (कोभिड–१९) को सङ्क्रमणलाई नेपालमा फैलिन नदिने उद्देश्यसहित सरकारले मुलुकभरि नै अत्यावश्यक बाहेकका सेवाहरू आइतबारदेखि बन्द गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै सङ्घ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक सङ्घ संस्थबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने घोषणा गर्नुभयो । नेपाल राजपत्रमा प्रकाशन गरिएका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा यही चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गर्ने घोषणा सम्बोधनमा गरिएको छ ।

केके हुन् अत्यावश्यक सेवा ?
नेपाल सरकारद्वारा २०७६ वैशाख ९ गते नेपाल राजपत्रमा प्रकाशन गरिएको सूचनाअनुसार १८ वटा अत्यावश्यक सेवा भनेर निर्धारित गरिएका छन् । आवश्यक सेवा सञ्चालन ऐन, २०१४ बमोजिम सरकारले अत्यावश्यक सेवाको सो सूची सार्वजनिक गरेको हो ।
सो सूचनाअनुसार सबै प्रकारको यातायात सेवा (जल, स्थल र हवाईमार्ग), हवाई ग्राउन्ड, रेल्वे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसार–पसार गर्ने वा राख्ने, झिक्ने र थन्क्याउने कामलाई पनि अत्यावश्यक सेवामा सूचीकृत गरिएको छ ।
त्यसैगरी डाँक, तार वा टेलिफोन सेवा, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवालाई समेत अत्यावश्यक सेवामा सूचीकृत गरिएको छ । यसैगरी सञ्चार माध्यम अत्यावश्यक सेवामा पर्ने छन् ।
त्यसैगरी पर्यटकीय आवास, मोटेल, होटेल, रेस्टुराँ र रिसोर्टसम्बन्धी सेवा, हातहतियार, खरखजाना वा अरू कुनै सैनिक सरसामानको उत्पादन, भण्डारण र वितरण, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवालाई समेत अत्यावश्यक सेवामा सूचीकृत गरिएको छ ।
त्यसैगरी अस्पताल र यससँग सम्बन्धित सबै प्रकारका सेवालाई अत्यावश्यक सेवाभित्र सूचीकृत गरिएको छ । एम्बुलेन्स, औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा, खानेपानीको सञ्चालन तथा वितरण कार्यसमेत अत्यावश्यक सेवाभित्र राखिएको छ ।
पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरण, दैनिक उपयोग्य वस्तुतर्फ खाद्यान्न, दाल, चामल, नुन तेलजस्ता वस्तुको पैठारी, ढुवानी, भण्डारण तथा वितरणलाई समेत अत्यावश्यक सेवामा सूचीकृत गरिएको छ ।
विद्युत्सँग सम्बन्धित सेवा, फोहोरमैलासँग सम्बन्धित सेवातर्फ फोहोरमैला सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण, सङ्कलन स्थल तथा व्यवस्थापनको कामलाई बैङ्क, बिमा तथा वित्तीय संस्थाद्वारा प्रदान गरिने सेवालाई समेत अत्यावश्यक सेवामा सूचीकृत गरिएको राजपत्रमा उल्लेख गरिएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?