logo
२०८१ बैशाख ११ मंगलवार



बैतडी सहिद दशरथ चन्दको जिल्ला र कला संस्कृतिको धनी क्षेत्रः राष्ट्रपति भण्डारी

मुख्य समाचार |


बैतडी सहिद दशरथ चन्दको जिल्ला र कला संस्कृतिको धनी क्षेत्रः राष्ट्रपति भण्डारी
तस्विरः गोकर्ण दयाल


गोकर्ण दयाल
बैतडी, फागुन १५ गते । बैतडी भ्रमणमा आउनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीले बैतडीको पाटनमा स्थापना भएको भीमदत्त प्राविधिक शिक्षालय (पोलिटेक्निक ईन्स्टिच्युट) को उद्घाटन गर्नु भएको छ ।
राष्ट्रपति भण्डारीलाई सुदूरपश्चिमको चर्चित छलिया नाच देखाउँदै दशरथ चन्द नगरपालिका र पाटन नगरपालिकाले नागरिक अभिनन्दनसहित विहीबार मायाको चिनो प्रदान गरेको थियो । राष्ट्रपतिको भ्रमणलाई भव्य स्वागत गर्दै दशरथ चन्द नगरपालिका र पाटन नगरपालिकाले विहीबार सार्वजनिक विदा समेत दिएको थियो ।

बैतडीको पाटनमा रहेको भीमदत्त प्राविधिक शिक्षालय उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले प्राविधिक शिक्षालयले बैतडी र सुदूरपश्चिमको शिक्षामा गुणत्मक विकास गर्दै दक्ष प्राविधिक जनशक्ति गाउँमै तयार हुने विश्वास व्यक्त गर्नुभएको छ ।

दशक पहिले बैतडी आएको स्मरण गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले बैतडी जिल्ला अमर सहिद दशरथ चन्दको जिल्ला र कला संस्कृतिको धनी क्षेत्र भएको बताउँनुहुँदै पछिल्लो समय बैतडीले राष्ट्रिय अन्तर्राष्टिय क्रिकेट क्षेत्रमा सफलता हासिल गरेको देख्दा आफूलाई अत्यन्त खुशी लागेको बताउनुभयो ।

बिहीबार मध्यान्ह बैतडीको प्रसिद्ध त्रिपुरा सुन्दरी मन्दिरको दर्शन गरेर दिउँसो २ः०० बजे बैतडीको पाटन आईपुग्नु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिका रुपमा आफ्नो बैतडी पहिलो भ्रमण भएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गर्नुहुँदै पाटन नगरपालिकाका मेयर केशवबहादुर चन्दले मायाको चिनो प्रदान गर्नुभयो । सो अवसरमा सुदूरपश्चिमको चर्चित छलिया नाच समेत प्रदर्शन गरिएको थियो ।

राष्ट्रपतिले महत्वपूर्ण समय दिएर बैतडी लगायत सुदूरपश्चिमका जिल्ला भ्रमण गर्नुभएको भन्दै सुदूरपीश्चम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आभार प्रकट गर्नुभयो । मुख्यमन्त्री त्रिलोभन भट्टसँगै सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटना तथा वन मन्त्री माया भट्टसमेत बैतडी पुग्नु भएको थियो ।

त्यसै गरि बैतडीबाट निर्वाचित सङघीय सांसद् दामोदर भण्डारीले बहुप्रतितिक्षित पञ्चेश्वर परियोजना लगायत बैतडी जिल्लामा रहेका फलाम खानी, फस्फोरस खानी लगायत महत्वपूर्ण खानी रहे पनि उत्खनन् हुन नसकेको भन्दै आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रको मुहार फेर्ने गरि खानी उत्खननका लागि राष्ट्रपतिको ध्यानाकर्षण गराउनु भएको छ ।
बैतडी भ्रमणपछि राष्ट्रपति भण्डारी विहीबार नै नेपाली सेनाको हेलिकोप्टरमार्फत सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी प्रस्थान गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?