logo
२०८१ बैशाख ५ बुधवार

    गोरखापत्र स्थलगत अनुगमन     



बिचौलिया लगाए मात्रै काम चाँडो

मुख्य समाचार |


बिचौलिया लगाए मात्रै काम चाँडो


सिराज खान / गोविन्द शर्मा

नेपालगन्ज, फागुन ९ गते । बाँकेको नरैनापुर गाउँपालिकाका खलिल बेहना जग्गा बिक्री गर्न नेपालगन्ज मालपोत कार्यालय धाउन थालेको बिहीबार चार दिन भयो । तर उहाँको जग्गा अझै पनि किन्ने मानिसको नाममा रजिस्ट्रेसन पास हुन सकेको छैन ।
“कहिले कम्प्युटरमा जग्गा दर्ता छैन भन्छन्, कहिले कागज मिलेन भन्छन्, आज चार दिन भयो । काम नहुँदा साहै्र दिक्क लागेको छ”, बिहीबार मालपोत कार्यालयको हाताभित्र निराश भेटिनुभएका बेहनाले भन्नुभयो ।
सोही प्रकारले जग्गा बिक्री गर्न मालपोत कार्यालयमा आउनुभएका बाँके जानकी गाउँपालिका–४ का झुरी अहिरले पनि कार्यालयमा निर्णय गर्ने हाकिम नहुँदा तीन दिनदेखि दिनदिनै धाइरहेको बताउनुभयो । “कहिले हाकिम आउने हुन् र निर्णय हुने हो, थाहा छैन”, अहिरले दुःखी हुँदै भन्नुभयो । सोही प्रकारले जग्गा बिक्रीकै लागि तीन दिनदेखि मालपोत धाइरहेको बताउने कोहलपुर–५, रझेनाका पटवारी थारूले कर्मचारीहरूले विभिन्न बहानामा काम नगरिरहेको गुनासो गर्नुभयो ।
बेहना, अहिर र थारू मात्र होइन; नेपालगन्जस्थित मालपोत कार्यालयमा कामविशेषले जाने अधिकांश सेवाग्राहीले यस्तै समस्या भोग्नु परेको छ । बिहीबार कार्यालय हाताभित्र भेटिएका धेरैजसो सेवाग्राहीले कहिले सर्भर र नेट चलेन भनेर ढिलाइ गर्ने तथा कहिले कागज अधुरो रहेको भनेर फर्काउने गरिएको बताएका छन् ।
तर बिचौलिया र लेखापढी गर्नेलाई जिम्मेवारी दिने हो भने काम अलि छिटो हुने गरेको तथा त्यसबापत तीन सयदेखि हजार रुपियाँसम्म उनलाई तिर्नु परेको नेपालगन्ज–११ का समद सिद्दिकीले बताउनुभयो । उहाँले आफूले नामसारीका लागि दुई दिन दगुर्दा पनि नभएको काम बिचौलियालाई पाँच सय रुपियाँ तिर्दा उसले एक दिनमै गराइदिएको बताउनुभयो ।
जिल्लाको सबैभन्दा दुर्गम मानिने नरैनापुरबाट आएका बेहनाले चार दिनदेखि काम नहुँदा होटलमा बसेर खानपिन गर्दा चार हजार रुपियाँजति खर्च भइसकेको बताउनुभयो । सोही प्रकारका गुनासा अन्य सेवाग्राहीका पनि छन् ।
सो कार्यालयमा अन्य दिनको तुलनामा बिहीबार सेवाग्राही कम देखिएको कार्यालय धाइरहने सेवाग्राही बताउँछन् । कारण पत्ता लगाउँदा गत पाँच दिनदेखि नायब सुब्बा नवीनकुमार खड्कालाई निमित्त कार्यालय प्रमुख बनाइएकाले सेवाग्राहीको सङ्ख्या घटेको पाइयो । विभिन्न मुद्दा र अन्य महŒवपूर्ण निर्णयमा अधिकृतले मात्र हस्ताक्षर गर्नुपर्ने प्रावधानका कारण त्यस्ता विषय लिएर दैनिक सो कार्यालयमा आउने ५० जनाभन्दा बढी सेवाग्राही अधिकृत नहुँदा अहिले नआइरहेको कार्यालयले जनाएको छ ।
मालपोत कार्यालयका प्रमुख प्रेम दौल्याल करिब एक महिनादेखि तालिममा जानुभएको र कार्यालयमा रहनुभएका दुई अधिकृत रामचन्द्र भण्डारी र खेमराज खत्रीको बढुवा भएपछि उहाँहरू पनि जानुभएकाले आफू निमित्त कार्यालय प्रमुख भएको नायब सुब्बा खड्काले बताउनुभयो । निमित्त प्रमुख खड्काले भन्नुभयो, “मलाई मुद्दाको फैसला र अन्य महŒवपूर्ण निर्णय गर्ने अधिकार छैन । त्यसैले पाँच दिनदेखि त्यस्ता विषय लिएर आउने सेवाग्राहीलाई पछि आउनू भनी फर्काएको छु । ”
उहाँले ५१ कर्मचारीको दरबन्दी रहेको सो कार्यालयमा चार अधिकृतबाहेक अरू सबै रहेको जनाउनुभयो । अहिले कार्यालय प्रमुख तालिममा गएकाले उहाँ पनि नहुँदा समस्या भएको उहाँले बताउनुभयो । उहाँले माथिबाट कुनै अधिकृतलाई तत्काल नपठाउने हो भने कार्यालय प्रमुख नफर्किंदासम्म सेवाग्राहीका धेरै काम रोकिने जनाउनुभयो । दैनिक करिब तीन सयदेखि चार सयसम्म सेवाग्राही आउने गरेको सो कार्यालयमा रजिस्ट्रेसन पारित, नामसारी, मरुवा नामसारी, हाल साविक,
रोक्का र विभिन्न मुद्दा तथा विवादको फैसला हुने गरेको छ । सरकारले सर्वसाधारणलाई सहज र सरल होस् भनेर गत वर्षदेखि सो कार्यालयमा डिजिटल अनलाइन प्रविधि लागू गरेको थियो ।
जानकी गाउँपालिका–३ का आशाराम मौर्यले सर्भर नचलेको भनेर दुई दिनदेखि काम नभएको गुनासो गरिरहँदा कार्यालयका निमित्त प्रमुख खड्काले सेवाग्राहीलाई छिटोछरितो हुने भनी लागू गरिएको डिजिटल अनलाइन प्रविधिले कहिलेकाहीँ झनै ढिला हुने गरेको बताउनुभयो ।
निमित्त प्रमुख खड्काले भन्नुभयो, “यस्तो समस्या सधैँ त आउँदैन तर सबै काम अनलाइनमार्फत हुने हुँदा कम्प्युटरमा इन्ट्री गर्नुपर्छ । कम्प्युटरमा इन्ट्री गर्दा ढिलाइ हुने हुँदा कतिपय सेवाग्राहीले बढाइचढाइ बताउने गरेका छन् । ” कार्यालयका हरेकजसो फाँटमा ‘म घुस खान्नँ’ लेखिएका स्टिकरहरू टाँसिए पनि कुनै पनि फाँटमा पैसा नदिएर काम नहुने त्यहाँ भेटिनुभएका नेपालगन्ज–३ का विजय गुप्ताले बताउनुभयो ।
“सामान्य कामका लागि पनि कसैसँग सीधै रकम मागिन्छ भने अधिकांशसँग बिचौलिया र लेखापढी गर्नेमार्फत रकम लिने गरिएको छ”, गुप्ताले भन्नुभयो ।
सेवाग्राही कार्यालयभित्र छिर्नेबित्तिकै त्यहाँ रहेका बिचौलियाले दौडेर समात्ने गरेका छन् । उनीहरूले कामअनुसार रकम लिने गरेका र भित्र पनि दिनुपर्छ भनी थप रकम लिने गरेको सेवाग्राही बताउँछन् । “कार्यालयभित्र छिटो काम गराउन केही न केही रकम सबैलाई दिनैपर्छ, नत्र कहिले के कहिले के भनेर फाइल अड्काउने प्रचलन छ”, त्यहाँ भेटिएका एक बिचौलियाले नाम उल्लेख नगर्ने सर्तमा बताए ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?