logo
२०८१ बैशाख १२ बुधवार



सरकारका दुई वर्ष : मुलुक समृद्धितर्फ अग्रसर

मुख्य समाचार |


सरकारका दुई वर्ष : मुलुक समृद्धितर्फ अग्रसर


दीपक श्रेष्ठ

काठमाडौँ, फागुन ३ गते । संविधान कार्यान्वयन एवं विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षासाथ केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा भएको छ । सरकार आरम्भ वर्षका रूपमा सुशासन र विकासलाई तीव्रता दिँदै समृद्धिमा अग्रसर भएको छ ।
संविधानले निर्दिष्ट गरेका कानुन निर्माण, राष्ट्रिय गौरवका आयोजनाको थालनीसहित सरकारले पहिलो वर्षलाई विकास र समृद्धिको आधार वर्षका रूपमा अगाडि बढाएको थियो ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षासहित दोस्रो वर्षमा पूर्वाधार निर्माणमा तीव्रता, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, भ्रष्टाचार नियन्त्रणमा सफलता, शान्तिसुरक्षामा सुधार जस्ता महŒवपूर्ण उपलब्धि हात पारेको निष्कर्ष सरकारको छ । जलविद्युत्, सिँचाइ, सुरुङमार्ग, रेलमार्ग, जलमार्ग, अन्तर्राष्ट्रिय विमानस्थल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, पाइप लाइन, सडकमार्ग, सूचना र प्रविधिको क्षेत्रमा देशभर फोरजी र ब्रोडब्यान्ड सेवा विस्तार, मौलिक हकको कार्यान्वयनलगायत पूर्वाधार विकासमा गौरवपूर्ण योजनाको थालनी भएको छ । प्रधानमन्त्री ओलीको शब्दमा भन्ने हो भने “मूर्छित सपनाहरू बौरिएका छन् । नेपाल सुरुङमार्गको युगमा प्रवेश गरेको छ । ”
प्रधानमन्त्री ओलीले दुई वर्षको सरकारको अनुभवले मुलुकबाट गरिबी, अशिक्षा, निरक्षरता, पछौटेपन, रोग, भोक हटाउन सक्छौँ भन्ने स्पष्ट विश्वास देखाएको बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ, “हामी विकासको बाटोमा छौँ । समृद्धि हासिल गर्ने बाटोमा छौँ । हामी सुशासन कायम गर्ने बाटोमा छौँ । भ्रष्टाचार रोक्ने, नियन्त्रण गर्ने र अन्त्य गर्ने बाटोमा छौँ । ”
प्रधानमन्त्री ओलीले सरकारका कामहरू विकास, समृद्धि, कानुनको पालना र सुशासनतर्फ केन्द्रित रहेको चर्चा गर्दै भन्नुभएको छ, “सरकारका प्रयासहरू त्यता छन् । यो दुई वर्षमा हामीले कुन बाटो लिएका छौँ, कुन दिशा लिएका छौँ र कुन गति लिएका छाँै ? यो आजको मुख्य प्रश्न हो । ”
उहाँले पूर्वाधार विकासको क्षेत्रमा उल्लेखनीय कार्य भएको चर्चा गर्दै भन्नुभएको छ, “यस अवधिमा तीन हजार ६३६ किलोमिटर सडक कालोपत्रे भएको छ । तीन हजार ५७९ किलोमिटर ग्राभेलस्तरको सडक निर्माण भएको छ । ३२५ वटा सडक पुल निर्माण भएका छन् । ”
प्रधानमन्त्री ओलीले पूर्वपश्चिम राजमार्गलाई छ लेनमा स्तरोन्नति गर्ने कार्यको थालनी, नागढुङ्गा सुरुङमार्गको प्रारम्भ, जयनगरदेखि बिजुलपुरासम्म रेगमार्ग सञ्चालनको तयारी, जलमार्गमा पहुँच विस्तार, अन्तर्राष्ट्रिय व्यापार घाटामा कमी, उच्च आर्थिक वृद्धिदर गरेका विश्वका १० मुलुकमध्ये नेपाल एक हुनेजस्ता सूचकाङ्कले पनि मुलुक सही दिशातिर गइरहेको प्रस्ट सङ्केत गर्ने धारणा व्यक्त गर्नुभएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले विधि र संरचना निर्माणमा पहिलो वर्ष महŒवपूर्ण रहेको चर्चा गर्दै वित्तीय सङ्घीयताको सहज कार्यान्वयनमा ठूलो उपलब्धि प्राप्त भएको निष्कर्ष निकाल्नुभएको छ ।
गोरखापत्रसँगको कुराकानीमा अर्थमन्त्री डा. खतिवडाले सरकारले वित्तीय पहुँचमा लामो फड्को मारेको र सामाजिक सुरक्षा प्रभावकारी बन्दै गएको बताउनुभएको छ । उहाँले दुई वर्षमा लगानी वातावरण बनेको र अन्तर्राष्ट्रिय समुदायको विश्वाससमेत नेपालले आर्जन गरेको बताउनुभएको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा उच्चस्तरीय भ्रमण बढेको र अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको समेत संलग्नता विस्तार भएको बताउनुभयो । उहाँले भन्नुभएको छ, “नेपाललाई चिनाउने, नेपालका सरोकारवालालाई सुन्ने, सुनाउने र नेपालप्रतिको आकर्षण बढाउने खालका गतिविधि बढेको छ । ” उहाँले भन्नुभएको छ, “एउटा राजनीतिक स्थायित्वयुक्त, लोकतान्त्रिक र आर्थिक स्थायित्वका निम्ति प्रगति हासिल गर्दै गएको पहिचान अन्तर्राष्ट्रिय जगत्मा स्थापित गर्न सफल भएका छौँ । ”
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना, प्रविधि, विकास निर्माण तथा पूर्वाधारको क्षेत्रमा उल्लेखनीय प्रगति भएको भन्दै समृद्ध नेपाल सुखी नेपालीको नतिजा देखिँदै गएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “दुई वर्षमा विधिको शासन बलियो भएको छ । प्रजातन्त्र सबल बनेको छ । ” उहाँले जनताको विश्वास गुम्न नदिने गरी सरकारले सङ्क्रमणलाई व्यवस्थापन गर्ने, विकास प्रक्रियालाई तीव्रता दिने, नीतिगत र संरचनागत सुधारलाई प्राथमिकतामा राख्ने, उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिने गरी प्रक्रिया अगाडि बढाएको बताउनुभएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आमसञ्चारको क्षेत्रमा युगीन महŒवको काम भएको स्पष्ट पार्नुभएको छ । समानुपातिक विज्ञापन प्रणाली, विज्ञापनरहित प्रसारण सेवा, श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धिलगायत सूचना र प्रविधिको क्षेत्रमा भएका ऐन, कानुन र नीतिगत सुधारले साना लगानीका मिडिया तथा सञ्चार उद्योगको विकासमा महŒवपूर्ण योगदान पु¥याएको ठम्याइ प्रेस सल्लाहकार थापाको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले सरकारको दुई वर्षको सुरुआतले भोलिको समृद्धिको सुन्दर सङ्केत गरेको बताउनुभएको छ । उहाँले १५औँ पञ्चवर्षीय योजना ‘गेम चेन्जर’को रूपमा रहेको भन्दै ऊर्जा, सिँचाइ, रेलवे, सडक, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा यसले दूरगामी प्रभाव पार्ने बताउनुभएको छ ।
समृद्धिको प्रमुख सर्त ऊर्जाको विकास हो । दुई वर्षको अवधिमा निजी र नेपाल विद्युत् प्राधिकरण मातहतका जलविद्युत् आयोजनाबाट २२५ मेगावाट विद्युत् थप उत्पादन भएको जनाइएको छ । संविधान अनुकूल हुने गरी कानुन परिमार्जन र मौलिक हकका ऐन पछिल्लो दुई वर्षयता बनिसकेका छन् ।
सङ्घीय संसद्को अधिवेशन आरम्भ भएयता ५४ विधेयक प्रमाणीकरण भइसकेका छन् । यिनमा प्रतिनिधि सभाबाट उत्पत्ति भएका ४३ विधेयक छन् । त्यस्तै गत दुई आर्थिक वर्षमा सुरक्षा र प्रतिरक्षा क्षेत्रमा गरिएका नीतिगत, कानुनी, संस्थागत र प्रक्रियागत सुधारका कार्यक्रमले मुलुकको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी व्यवस्थालाई सबल बनाएको निष्कर्ष सरकारको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?