logo
२०८१ बैशाख १३ बिहीवार



पुरातात्विक क्षेत्रमा भएको मानवीय थिचोमिचो र निर्माण भएका संरचना हटाइने : मन्त्री भट्टराई

राष्ट्रिय |
पर्यटन |


पुरातात्विक क्षेत्रमा भएको मानवीय थिचोमिचो र निर्माण भएका संरचना हटाइने : मन्त्री भट्टराई


काठमाडौँ, माघ २६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुरातात्विक क्षेत्रमा भएको मानवीय थिचोमिचो र निर्माण भएका संरचना हटाइने बताउनुभएको छ ।

मन्त्री भट्टराईले लुम्बिनी सम्पदा परिसरका जग्गा अधिकरण सुरु भएको चर्चा गर्दै जमिनमा पुरिएका सम्पदा उत्खनन् र संरक्षणका लागि सरकारले पहल थालेको बताउनुभयो । उहाँले सम्पदा तथा पुरातात्विक क्षेत्रको अवस्था, संरक्षण, उत्खनन् र सम्पदा पुनर्निर्माणमा भएका उपलब्धीबारे जानकारी दिने उद्देश्यले पुरातत्व विभागमा आइतबार आयोजित पत्रकार सम्मेलनमा यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

संचारकर्मीको जिज्ञासा सम्बोधन गर्दै मन्त्री भट्टराईले सम्पदा पुननिर्माणमा सम्भव भएसम्म पुरानै वस्तुको प्रयोग गरिने भन्दै प्रयोगमा नआएका सम्पदा क्षेत्रका पुरातात्विक महत्वका पुराना ढुङ्गा, ईट, काठ, मूर्तिकलालाई सङ्ग्रहालय बनाएर सुरक्षित गरिने बताउनुभयो ।
उहाँले पर्यटकीय हिसावले पनि पुरातात्विक महत्वका वस्तु र सम्पदाको संरक्षण महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले संस्कृति, सभ्यता र प्राकृतिक सौन्दर्यताको पर्यटनलाई एक अर्कासँग जोडेर लानुपर्नेमा जोड दिदै पर्यटकको संख्या उल्लेख्य मात्रामा बृद्धि गर्न सम्पदा क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले चार हजार वर्ष पुरानो मानव सभ्यता र संस्कृतिको प्रमाण नेपालमा पाइएको चर्चा गर्दै विश्वका प्राज्ञिक र बौद्धिक व्यक्तित्वलाई संस्कृति र सभ्यता अध्ययन गर्न नेपाल गन्तव्य हुने समेत बताउनुभयो ।

उहाँले सम्पदा क्षेत्रलाई व्यापारिक थलोको रुपमा विकास गर्न नमिल्ने भन्दै भक्तपुर, पाटन र वसन्तपुर सम्पदा क्षेत्रमा रात्रीकालीन समयमा पनि घुम्न सक्ने गरी विकास गरिन थालिएको जानकारी दिनुभयो । उहाँले नेपालको सम्पदा र संरक्षित क्षेत्रलाई कुनै पनि प्रकारको खराव सूचीमा सूचिकृत हुन नदिनेगरी संरक्षण र विकास गरिने बताउनुभयो ।  उहाँले कपिलवस्तुको सम्पदा, संस्कृति र ऐतिहासिक पृष्ठभूमिसहितको बौद्धिक सम्पत्तिको अधिकार नेपालसँग मात्रै रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशको सिमाना कोरिनुभन्दा धेरै पुरानो छ, मानव सभ्यता र संस्कृति । सम्पदा र संस्कृति कुनै कारखानामा हुने उत्पादन होइन ।” पत्रकार सम्मेलनमा पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमले सम्पदा पुननिर्माण, संरक्षणको क्षेत्रमा भइरहेका गतिविधिबारे जानकारी दिनुभएको थियो । उहाँका अनुसार, भूकम्पबाट क्षतिग्रस्त ३१ जिल्लाका ९२० सम्पदामध्ये चार वर्षको अवधिमा चार सयवटा निर्माण सम्पन्न भएको छन् । यस आर्थिक वर्षमा १५० वटा सम्पदा पुनर्निर्माण गरिने छ ।
त्यस्तै, विभागका प्रवक्ता रामबहादुर कुँवरले तिलौराकोट कपिलवस्तु उत्खनन्मा भइरहेको प्रगतिबारे जानकारी दिनुभएको थियो ।

उहाँले प्राचीक कपिलवस्तु राज्यको राजधानीको रुपमा तिलौराकोट शहर रहेको र एक सय विगाह क्षेत्रभन्दा बाहिर समेत पुरातात्विक महत्वका वस्तु भेटिने गरेको जानकारी दिनुभयो ।
यस्तै, सूचना अधिकारी सुरेश सुरस श्रेष्ठले विश्व सम्पदा स्थल र स्मारकमा भइरहेको संरक्षणका प्रयासबारे जानकारी दिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?