logo
२०८१ बैशाख ४ मंगलवार



डब्लूएचओको मापदण्ड पूरा गर्दै सरकार

मुख्य समाचार |


डब्लूएचओको मापदण्ड पूरा गर्दै सरकार


चाँदनी हमाल

काठमाडौँ, माघ २६ गते । विश्व स्वास्थ्य सङ्गठन(डब्लूएचओ)को मापदण्ड पूर्णरूपमा पालना गरेरमात्र चीनमा रहेका नेपाली फिर्ता ल्याउन मिल्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । नोबल कोरोना भाइरसको अत्यधिक जोखिम रहेको चीनको हुबेई प्रान्तमा रहेका नेपालीलाई फिर्ता ल्याउन डब्लूएचओको ‘प्रोटोकल’को पूर्ण पालनासँगै उच्च सुरक्षाको तयारी सरकारले गरिरहेको मन्त्रालयले जनाएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलका अनुसार यसरी कोरोना भाइरस सङ्क्रमित क्षेत्रबाट मानिस ल्याउँदा डब्लूएचओको सबै मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । “सरकारले बनाएको उच्चस्तरीय समितिले उच्च स्तरमा काम गरिरहेको छ, छुट्टै भवनको व्यवस्थापनमा अहिले काम भइरहेको छ,” पौडेलले भन्नुभयो, “फिर्ता ल्याएका नेपालीलाई कहाँ राख्ने, अनि राख्ने स्थानमा सबै चीजको बन्दोबस्त कसरी गर्ने भन्ने विषयमा सरकारको ध्यान केन्द्रित छ ।”
सरकारले विश्व स्वास्थ्य सङ्गठनले तोकेको पूर्वतयारीको मापदण्ड पूरा गर्नासाथै तुरुन्त चीनमा रहेका र आउन इच्छा गरेका नेपालीलाई फिर्ता ल्याउनेछ । यसरी नेपाली फिर्ता ल्याउँदा सङ्क्रमित व्यक्ति ल्याउन नपाइने प्रावधान छ । सोही अनुसार सङ्क्रमण नभएका मानिसको पूर्ण परीक्षणपछि ल्याउनुपर्ने पौडेलले जानकारी दिनुभयो ।
यसरी ल्याउँदा पनि सीधै घरमा वा अन्य मानिसको सम्पर्कमा लैजान नमिल्ने प्रावधान अनुसार केही समय छुट्टै स्थानमा चिकित्सक र स्वास्थ्यकर्मीको उपचार पद्धतिका साथ राख्नुपर्ने उहाँले जानकारी दिनुभयो ।
हुबेई प्रान्तका बुहान लगायत विभिन्न सहरमा रहेका १८१ नेपालीले नेपाल फिर्ता हुन चाहँदै चीनस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् । दूतावासले फिर्ता हुन चाहने नेपालीसँग सम्पर्कमा रहेर नेपालमा भइरहेको तयारीबारे जानकारी गराइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तो छ मापदण्ड
कोरोना भाइरसको सङ्क्रमण देखिएका ठाउँबाट थप फैलावट हुन नदिन विश्व स्वास्थ्य सङ्गठनले रणनीतिक तयारी र सम्बोधनको योजना २०१९ निर्माण गरेको छ । हाल भइरहेको अवस्थाको प्रारम्भिक आँकलन गर्दै त्यसबाट जोगिन र उपचारात्मक उपाय अवलम्बन गर्न विभिन्न मापदण्ड तय गरेको छ । सोही रणनीतिक योजना अनुसार विश्वका विभिन्न देशमा कोरोना भाइरस एक मानिसबाट अर्कोमा सर्न नदिन मानिस मानिसबीचको सम्पर्कलाई सीमित गर्नुपर्ने पहिलो मापदण्ड तोकेको छ ।
यससँगै अन्य स्वास्थ्यसम्बन्धी सङ्क्रमण कम गर्न पनि न्यून सम्पर्कमा रहँदै स्वास्थ्यकर्मीको साथ र सहयोग अपनाउन भनिएको छ । विश्व स्वास्थ्य सङ्गठनको रणनीतिको दोस्रो उद्देश्य वा मापदण्डमा चीनबाट अन्तर्राष्ट्रिय मानव आवतजावतमा पूर्ण रोक लगाउन भनेको छ । तेस्रो मापदण्डमा बिरामीको पहिचान भएमा अन्य मानव र बस्तीबाट अलग राखेर उपचार गराउनुपर्ने मापदण्ड तोकिएको छ ।
त्यसैगरी सङ्क्रमित बिरामीका लागि स्वास्थ र अनुकूलित वातावरणमा हेरचाह गर्ने छुट्टै प्रबन्ध मिलाउन भनिएको छ । पाँचौँमा मापदण्डमा खानपान र सम्पर्कमा रहेका पशुपक्षीजन्य स्रोतसाधनको प्रयोग र प्रसारण कम गर्ने वा सावधानी अपनाउन भनिएको छ । कोरोना भाइरसले ल्याउन सक्ने स्वास्थ्य गम्भीरताबारे जनचेतनामूलक कार्यक्रमको प्रचारप्रसारमा ध्यान दिन छैटाँै मापदण्डले जोड दिएको छ ।
भाइरसको प्रसारण र सङ्क्रमणको सीमा, उपचारको विकल्प र निदानका लागि भएका विभिन्न विकासको गति, थेरापिटिक्स एवं खोपका बारेमा प्राप्त जानकारीको सञ्चार गर्न विश्वस्वास्थ्य सङ्गठनले आह्वान गरेको छ ।

चीनमा सङ्क्रमित बढ्दै
विश्वस्वास्थ्य सङ्गठनको पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा बढी कोराना भाइरसका सङ्क्रमित चीनमा छन् । विश्वभरमा कुल ३१ हजार ४८१ कोरोना सङ्क्रमित भेटिएका चीनमा मात्र कुल ३१ हजार २११ जनामा कोरोना भाइरसको सङ्क्रमण शनिबार साँझसम्म फेला परेको छ । कोरोना भाइरसका कारण ६३७ जनाले ज्यान गुमाइसकेका छन् ।
चीनको हुबेई प्रान्तको वुहान सहरमा ३१ डिसेम्बरमा पहिलोपल्ट यो भाइरसको सङ्क्रमण पत्ता लागेको थियो । विश्व स्वास्थ्य सङ्गठनले प्रकाशित गरे अनुसार हुबेई प्रान्तमा मात्र २२ हजार ११२ जना कोरोना सङ्क्रमित छन् । त्यसपछि झेजियाङ प्रान्तमा एक हजार जना, ग्वाङडोङ प्रान्तमा एक हजार १८, हेनानमा ९१४, हुनानमा ७७२, अनहुईमा ६६५, जियाङ्सीमा ६६१ जना सङ्क्रमित छन् । चीनको राजधानी बेइजिङमा २९७ जनामा कोरोना सङ्क्रमण रहेको फेला परेको छ । चीनका अन्य प्रान्त, सहर र स्वशासित विभिन्न २७ क्षेत्रमा कोरोना भाइरसका सङ्क्रमित फेला परेका छन् । सबैभन्दा कम एकजना सङ्क्रमित रहेको स्थान सिजाङ क्षेत्र हो ।

अन्य देशमा फैलावट
कोरोना भाइरस भेटिएका २५ देशका सङ्क्रमितको केस स्टडीको परिणाम अनुसार चीनबाट आवतजावतकै क्रममा बढी फैलिएको अनुमान विश्व स्वास्थ्य सङ्गठनले गरेको छ । जस अनुसार सिङ्गापुरमा ३३, जापानमा २५, कोरियामा २४, अस्ट्रेलियामा १५, मलेसियामा १४, भियतनाममा १२, फिलिपिन्समा तीन, कम्बोडियामा एक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको विश्व स्वास्थ्य सङ्गठनले बताएको छ । त्यस्तै थाइल्याण्डमा २५, भारतमा तीन, नेपालमा एक, श्रीलङ्कामा एक, अमेरिकामा १२, क्यानडामा सात, जर्मनीमा १३, फ्रान्समा छ, इटलीमा तीन र बेलायतमा तीन जनामा कोरोनाको सङ्क्रमण फेला परेको छ ।
त्यस्तैगरी रुसमा दुई, बेल्जियममा एक, फिनल्यान्डमा एक, स्पेनमा एक, स्विडेनमा एक, संयुक्त अरब इमिरेट्समा पाँच जनामा भाइरस फेला परेको छ । जापानको समुद्र हुँदै आवतजावत गर्ने पानीजहाजका यात्रुको परीक्षणका क्रममा थप ६१ जनामा कोराना भाइरसको सङ्क्रमण फेला परेको जनाइएको छ ।

प्रकोप न्यून गर्ने योजना
चीनसँगै विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसबाट सुरक्षित रहन ६७५ मिलयन अमेरिकी डलर खर्च सहितको योजना विश्व स्वास्थ्य सङ्गठनले बनाएको छ । आउँदो अप्रिलसम्म यस भाइरसको सङ्क्रमण न्यून गराउने उद्देश्यसहित अन्तर्राष्ट्रिय समुदायको स्वास्थ्य सुरक्षाका लागि यस योजनाले काम गर्ने विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेडोस अडानम गेब्रेयसिसले बताउनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?