logo
२०८१ बैशाख ७ शुक्रवार



“अरुको इतिहास मेटेर आफ्नो इतिहास लेख्ने होइन” - राष्ट्रपति भण्डारी

मुख्य समाचार |


“अरुको इतिहास मेटेर आफ्नो इतिहास लेख्ने होइन” - राष्ट्रपति भण्डारी


काठमाडौं, माघ २५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले बसन्तपुर दरबार, सुन्धारा र रानीपोखरी क्षेत्रमा भइरहेका सम्पदा पुनर्निर्माण कार्यको अवलोकन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले रानीपोखरी, दरबार स्कुल, सुन्धरास्थित धरहरा क्षेत्र, काष्ठमण्डप, नौतले दरबारको अवलोकन गरी पुनर्निर्माणमा भइरहेको प्रगतिको विषयमा जानकारी लिनुभएको थियो ।

सम्पदा क्षेत्रको अवलोकनपछि राष्ट्रपति भण्डारीले पुनर्निर्माणको पछिल्लो अवस्थाबाट आफु उत्साहित भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले इतिहासलाई भावी पुस्ताले पनि थाहा पाउनुपर्ने भएकाले हरेक कालखण्डको इतिहास लेख्दै राख्दै जानुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अरुको इतिहास मेटेर आफ्नो इतिहास लेख्ने होइन । इतिहास भावी पुस्ताले थाहा पाउनुपर्छ ।”

उहाँले शालिक ढालेर नयाँ शालिक राख्दैमा नयाँ नेपाल नबन्ने समेत बताउनुभयो । उहाँले बसन्तपुरस्थित नासलचोक, गद्दीबैठक र फरास खानाको पुनर्निर्माण तथा तथा मर्मतको विषयमा जानकारी लिनुभएको थियो । सो अवसरमा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले सम्पदा क्षेत्रमा भइरहेको पुनर्निर्माणको बारेमा जानकारी दिनुभएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणलाई गति दिइएको र बाँकी काम समयतालिका बनाएर समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सम्पदा क्षेत्रको पुनर्निर्माण द्रूत गतिसाथ भइरहेको बताउनुभयो ।

सो अवसरमा काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महानगर क्षेत्रभित्रका भौतिक पूर्वाधार निर्माणका लागि नयाँ सोचका साथ अवधारणा अघि बढाइएको जानकारी दिनुभयो । सो अबसरमा रानीपोखरी, जमल, रत्नपार्क क्षेत्रको विकास सम्बन्धी वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?