logo
२०७७ माघ १४ बुधवार

खेल्ने बालबालिका हँसिला र आत्मविश्वासी

मुख्य समाचार |


2020-02-01-7961


यलु जोशी

काठमाडौं, माघ १८ गते । शारीरिक व्यायाम र मानसिक कसरत हुने पहिलेका खेललाई अचेल मोबाइल, आइप्याडले विस्थापित गरेको छ । मानिसको सहयोगी (दास) प्रविधि होइन, प्रविधिको दास मानिस बन्दै गएको छ ।
बाल्यकालमा जाडो महिनाको बिदा हुँदा गुच्चा खेलेको झलझली सम्झना आउँछ जनकवि दुर्गालाल श्रेष्ठलाई । उहाँले सहरका गल्ली, सडकमै गुच्चा खेल्दै कुद्ने गरेको सम्झना कहिल्यै बिर्सन नसक्ने बताउनुभयो । उहाँले ती दिन धेरै रमाइला थिए । असनको चोकमा गुच्चा खरिद गर्न जान्थ्यौँ । एक पैसाको खरिद गथ्र्यौं होला त्यति सम्झना त भएन तर पनि खल्तीभरि गुच्चा हुन्थे । मोबाइलको जमानामा भने अचेल सहरमा गुच्चा खेल्ने बालबालिका पाउन गाह्रै छ । एक त खेल्ने ठाउँ पर्याप्त छैन, अर्को मोबाइलमै झुम्मिन्छन् प्रायः सबै बालबालिका भन्नुहुन्छ ।
संस्कृतविद् सत्यमोहन जोशी आफ्नो निशानामा तारो हान्ने एकाग्र शक्ति वृद्धि गर्ने खेलमध्ये मेरो रोजाइ गुच्चा हो । काँचका गोला गुच्चा हाम्रो बगलीमा प्रायः सबैसँग हुन्थे भन्नुहुन्छ । उहाँले गुच्चाले हानेर टाढाको गुच्चा ठोक्के ताक विकास गर्न निकै अभ्यास गरिन्थ्यो, बाल्यपनको सम्झना गर्दै घरका भित्तामा गुच्चा हानेर अभ्यास गर्दा भित्ताभरि दाग बस्थे । त्यो बदमासीको सजाय पनि पाइन्थ्यो भन्ने कुरा स्मरण गर्नुभयो ।
गुच्चा दुई जनाको बीचमा खेलिन्छ । हार–जितमा गुच्चा नै लिने वा हार्नेले आफ्नो खुट्टाको गोलीगाँठोमा गुच्चाको ठोकाइ खाने सहमतिमा खेल सुरु हुन्थ्यो । गोलीगाँठो ठोक्ने सजायलाई ‘गौ छ्या य्गु’ भनिन्छ । जित्नेको दयामायामा त्यो ठोकाइ साह्रो या सामान्य हुन आउँछ । कहिले काहीँ रुनैपर्ने गरी ठोकाइ खाइन्छ ।
हामी सबै नेवारीमा खेल्थ्यौँ, नेवारी बोल्थ्यौँं । शारीरिक एवम् मानसिक तन्दुरुस्तीका लागि बाल्यवस्थामा खेलकुद र मनोरञ्जनलाई अहिले पनि प्रोत्साहन गर्नुपर्ने जोशीको सुझाव छ ।
चिकंमुगल टोलको कृष्ण सत्तलमा बुबाको पालादेखि खेलौना पसल गर्दै आउनुभएका दीपेन्द्रकुमार रञ्जितकार पहिले गुच्चा खरिद गर्न बालबालिका खुब आउँथे । तीन सय जति गुच्चाका प्याकेटको पहिले दुई रुपियाँ मात्र पथ्र्यो । एक सुका वा एक मोहोर हुनु नै ठूलो कुरा थियो, त्यो बेला भन्नुहुन्छ ।
टोलकै र अरू नजिकका ठाउँबाट पनि बालबालिका त्यहाँ गुच्चा किन्न आउँथे, एक पैसा वा दुई पैसा बोकेर । गुच्चा खेल्दा जितेर बालबालिकाले जम्मा पारेका १५० वा दुई सय गुच्चा बेच्न पनि आउँथे । चहलपहल निकै हुन्थ्यो, बालबालिकाको ।
अहिले बालबालिकाले गुच्चा खेल्नै छाडिसकेको उहाँ बताउनुहुन्छ । त्यसरी गुच्चा किन्न आउने बालबालिका नै लगभग शून्य भइसके, बेच्न आउने त टाढैको कुरा हो । रञ्जितकार खेल्ने ठाउँ छैन, सडक र गल्ली गाडी र मोटरसाइकलले ढाकिसके, खुला ठाउँ हराइसक्यो भन्नुहुन्छ । उहाँ मोबाइल, टिभीमा कार्टुन भएपछि दङ्ग पर्ने अहिलेको पुस्ताले गुच्चा पनि मोबाइलमै खेल्न बेर छैन ! अहिले बढी चल्ने खेलौना चाइनिज कार, प्लास्टिकको बन्दुक, ब्याट, बल बिक्री हुन्छ भन्नुहुन्छ ।
बालविवाहको चलन रहेको उतिबेला केटा र केटी सँगै खेल्न हुँदैन भन्ने सामाजिक मान्यताले गर्दा भाइबाहेक अरू केटा साथीसँग नखेलेको अभिनेत्री वसुन्धरा भुसाल बताउनुहुन्छ । उहाँले बाल्यकालमा गट्टा, तेलकासा, कबड्डी, रुमाल लुकाई, डोरी तानातान, पिङ, ढक्का, वनभात खाने, पुतली, गुच्चा जस्ता खेल खेलेको बताउनुभयो । बालापन धोबीचौरमा बिताउनुभएकी भुसालले आफ्नो बालापन नसम्झेको धेरै भएको थियो अहिले ती रमाइला दिन सम्झँदा ज्यादै खुसी लागिरहेको छ भन्नुभयो ।
उहाँले बाल्यकालमा गरेको उपद्रो सम्झेर मुस्कुराउँदै त्यसबेला पुरुष रुँदै मलामी जान्थे, हामी भने पुतलीको लास बनाएर रोएको जस्तो गर्दै मलामी गएको नाटक गथ्र्यौं । भाइसँग गुच्चा किन्न जान्थ्यौँ अनि रमाइलो गरी खेलेको दिन भुल्न सक्दिन । अहिलेका बालबालिकाले उतिबेलाजस्तो खेल खेलेर रमाइलो लिन सकेनन् र अब त झन् सक्दैनन् । हामीले जस्तो उत्कृष्ट बालापन बिताउने अवसर अबका केटाकेटीलाई छैन किनभने उनीहरूलाई प्रविधिले दास बनाइसक्यो भन्नुभयो ।
नेपालकै पहिली नायिका भुवन चन्दले बाल्यकालमा गट्टा, तीनखुट्टी, गुच्चा, लुकामारी जस्ता खेल खेलेको मलाई धेरै याद छैन । सानैदेखि कलाकारितामा लागेकाले खेल्ने फुर्सद धेरै भएन भन्नुभयो ।
अहिलेको काठमाडौँको अवस्था हेर्दा उतिबेलाका खेल प्रायः सबै लोप भइसकेको अनुमान गर्न कठिन छैन । यी खेल लोप हुनुमा प्रविधिको विकाससँगै बढ्दो सहरीकरणको प्रभावलाई कारण मान्न सकिने जानकारी उहाँले दिनुभयो ।
यस्तै त्यौडः का गुच्चा व्यापारी अष्टनारायण पुजारीले पहिले जस्तो अहिले व्यापार नभएको गुनासो गर्नुभयो । पहिले जाडो महिनामा भ्याई नभ्याई हुन्थ्यो तर अहिले के गर्मी महिना, के जाडो महिना बालबालिका गुच्चा, चुङ्गी जस्ता खेल खेल्न नै बिर्सिसकेका छन् । ढलमा खसेको पनि गुच्चा खोजेर खेल्ने गथ्र्यौं, साना केटाकेटी हरेकको खल्तीमा गुच्चा हुन्थ्यो तर अहिले हरेकको हातमा मोबाइल भइसकेको छ । उहाँले घर, रेस्टुरेन्ट सजाउन भनेर गुच्चा खरिद गर्न आउने गरेको जानकारी दिनुभयो ।

सजावटका लागि गुच्चा
अहिले कसैले गुच्चा व्यापार थेगेका छन् भने ती आर्किटेक्ट हुन् अहिले गुच्चा सजाउने सामग्री बनेको छ, कसैले लाइट मिलाउन, कसैले अक्बारियममा राख्न र कसैले इन्टेरियर सजाउन हो भन्नुहुन्छ रञ्जितकार ।
लोकन्थलीस्थित ब्रदर्स हभ क्याफेमा पनि गुच्चाले टेबल सजाइएको छ । सञ्चालक रचना बुढाथोकीले आफ्नो क्याफेमा केही नयाँपन दिन गुच्चाको सजावट गरेकी हुँ भन्नुभयो । खानेकुरा टेबुलमा राखेर खाने भएकाले टेबलमाथि गुच्चा राखेर सिसाले छोपेको बताउँदै उहाँले गुच्चाबाट सजाइएको टेबुल देखेपछि बालापनको झल्को आउने भएकाले पनि यसरी सजाइएको जानकारी दिनुभयो ।
खेलले क्षमता विकास
खेल सिकाइको एउटा दरिलो माध्यम पनि हो । बालबालिकाले खेलकै माध्यमद्वारा धेरै कुरा सिकिरहेको हुने मानसिक चिकित्सक डा. तृष्णा घोषले जानकारी दिनुभयो । उहाँले समाजमा घुलमिल हुन, अनुशासन, समय र अवसरको महìव, सहयोग, सहकार्य, नैतिकता, इमानदारिता, सफलता–असफलता, धैर्य जस्ता सीपको विकास खेलको माध्यमद्वारा हुने पनि बताउनुभयो ।
खेल खेलेर हुर्केका बालबालिका हँसिला, मिलनसार, रमाइला, सहयोगी, आत्मविश्वासी हुने गर्दछन्, घोषको अनुभव छ । त्यसैले मानसिक रोगीलाई पनि खेलको माध्यमले धेरै कुरा बुझाउने अथवा खेल थेरापी पनि गरिन्छ ।
खेल हार्दा असफल हुने खेलाडी अरू क्षेत्रका व्यक्ति जस्तो ज्यादै निराश हुने, डिप्रेसनमा जाने, आत्महत्या गर्ने जस्ता घटना प्रायः सुनिँदैन । तनाव बहन गर्ने क्षमता, आत्मबल जस्ता सीप उनीहरूले खेलबाट नै सिक्ने गर्दछन् । असहज अवस्थामा आफूलाई सम्हाल्न सक्ने क्षमता उनीहरूमा हुने डा. घोषको भनाइ छ ।

खेल प्रतिष्ठाको विषय
प्राध्यापक निर्मला उप्रेतीले खेल मनोरञ्जनको सशक्त माध्यम हो । खेल खेल्ने र हेर्ने दुवैलाई यसले आनन्द प्रदान गर्छ । मानसिक स्वास्थ्यका लागि मनोरञ्जन अति आवश्यक छ । खेल मनोरञ्जनमा मात्र सीमित छैन । यो प्रतिष्ठा, मानसम्मान, जीवनयापन, व्यवसाय जस्ता कुरासँग पनि जोडिएर आउने गर्छ भन्नुभयो ।
विश्वकप फुटबल, क्रिकेट जस्ता खेलमा हार–जित ठूलो प्रतिष्ठाको विषय हुनेगर्छ । यस्ता खेलको आयोजना गर्नु, सहभागितासम्म जनाउन पाउनु, राष्ट्रका लागि ठूलो प्रतिष्ठाको विषय हो । खेल शक्ति, क्षमता, कला, प्रदर्शन गर्ने अवसर पनि हो । खेलले समाज जोड्न, समाजमा ऐक्यबद्धता ल्याउन साथै समाजलाई कतिपय अवस्थामा विभाजित
गर्नसमेत सक्छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?