logo
२०७७ माघ १४ बुधवार

राजधानी बन्यो सडकमानव मुक्त धेरै आश्रममा, केही परिवारमा

मुख्य समाचार |


2019-12-28-6199


चाँदनी हमाल

काठमाडौँ, पुस १२ गते । राजधानी काठमाडौँ महानगरलाई बेसहारा सडकमानव मुक्त बनाउने अभियानको थालनीसँगै बालाजु बाइपासस्थित आश्रमको ‘स्क्रिनिङ सेन्टर’ मा सडकमानवको चाप बढ्दो छ । तर सेन्टरभित्रको रौनक आफ्नै खालको छ । कोही चेस खेल्दै त कोही क्यारमबोर्डमा दाउ लगाउँदै थिए । बूढाबूढी, अशक्त, महिला र बालबालिका भने घामको पार ताप्दै भेटिए ।
बिरामी र मनोरोगी व्यक्तिहरू भने आफ्नै तालमा एक्लै गफिँदै घरी घाम र घरी शीतलतिर सर्दै थिए । कतिपय उद्धारकर्मी सडकबाट ल्याएकालाई नुह(ाइधुवाइसँगै सफा कपडा लगाएर घाममा राख्दै थिए ।
महानगरका कर्मचारी, मानव सेवा आश्रमका सेवक तथा प्रहरीको एक समूह भने सडकमानवको लिखत उतार्ने, फोटो खिच्ने, उद्धार गरेकाको सरसफाइ गर्ने, खानपानको व्यवस्थापन गर्दै थिए । “परिवारको पुनर्मिलनमा जाने, परामर्श दिनुपर्ने र सेवामा राख्नुपर्नेको सूची तयार पार्ने प्रयास भइरहेको छ,” आश्रमका प्रदेश ३ संयोजक सुमन बर्तौलाले भन्नुभयो, “सबैथरि मानिस एकै ठाउँमा राखेर छाट्नु पर्दा कठिनाइ बढेको छ ।”
मङ्सिर २९ गतेबाट बेसहारा सडकमानवको उद्धार थालिएको हो । हालसम्म ३५० को सडकबाट उद्धार भइसकेको आश्रमले जानकारी दिएको छ ।

पुनर्मिलनमा जानेको कथा अनेक
उमेरले ६० वर्ष नाघेका विनोद पौडेलको सधैँ श्रीमतीसँग कचकच परिरहने गथ्र्याे । “छोराछोरी साना हुँदासम्म उनीहरूको चित्त बुझाउँदै उमेर गयो अब ठूलो भएपछि उनीहरूकै कुराले चित्त दुख्ने रहेछ,” पौडेल सुनाउँछन्, “त्यहीमाथि जीवनसङ्गिनीले पनि गाली गर्ने झर्कने गरिरहँदा घर बस्न मन लागेन ।” त्यसैले परिवार छाडेका उहाँ आफै सडक हुँदै मानव सेवा आश्रमको शरणमा पुग्नुभयो ।
पारिलो घाममा बाथले सताएका खुट्टा खोच्याउँदै उहाँ दौँतरीसँग गफिँदै हुनुहुन्थ्यो । दिउँसो अचानक छोरी र छोरा उहाँलाई लिन आइपुग्नुभयो । हँसिलो उहाँको मुहार अँध्यारो भयो । “राम्रो गरे भने घर बस्छु नत्र फेरि आश्रम नै आउँछु,” पौडेलले आँखा रसाउँदै बोल्नुभयो । “आमाको बानी त्यस्तै हो त तपाईंलाई थाहै छ त त्यत्तिकै घर छाडेर हिँड्ने हो र,” छोरा जङ्गिए ।
आश्रमका सेवक र प्रहरीले बुबासँग प्रेमले कुरा गर्न भन्दै सम्झाएपछि छोरा शान्त भए । अबदेखि बुबालाई दुव्र्यवहार नगर्ने शर्तमा पौडेलको घरपरिवारसँग पुनर्मिलन भयो । ज्याला मजदुरी गरेर सडकमै जीवन बिताउँदै आउनुभएका मदन रोकालाई लामो समयपछि आफ्नी आमा जुना रोकासँग सम्पर्क गराइयो । नुवाकोटको ककनी घर भएका उहाँकी आमाले छोरालाई घर पठाइदिन भन्नुभयो । “अब सडकमा बस्दिनँ, घर जान्छु, काम गर्न आउनुपरेछ भने पनि सल्लाह गरेर कोठा खोजेर बस्छु,” रोकाले बस चढ्ने बेला भन्नुभयो ।
उहाँहरू जस्तै सडकबाट आश्रम पुग्नुभएका छ जनाको बिहीबार पारिवारिक मिलन भयो । हालसम्म भने १४८ जनालाई सडकमा नबस्ने शर्तमा परिवार र सहयोगीको जिम्मा लगाइएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । पशुपति आर्यघाटमा काठपात र फूल ओसार्ने काम गर्दै आउनुभएका सुन्दर भुजेल सङ्गतकै कारण सडकमा बस्ने ज्यालादारी मजदुर बन्नुभयो । उहाँको घरपरिवारको कुनै सम्पर्क नहुँदा अलमलमा हुनुहुन्थ्यो ।

सडक बाध्यता
सिन्धुपाल्चोककी ७० वर्षीया नरमाया खड्का जायजेथा बेचेर काठमाडौँ पस्नुभएको सात वर्ष वित्यो । उमेरले नेटो काट्दै गए पनि उहाँको जोश भने कम भएको छैन । छोरा नाति, नातिनासँग डेरामा बस्नुहुने उहाँको सङ्गत मन्दिरमा माग्नेसँग
बसेको भने तीन वर्ष बित्यो । “घरमा एक्लै के बस्ने भनेर मन्दिर जान थालेँ, त्यहाँ मागेर बस्ने साथी बनिहालेँ,” उहाँले भन्नुभयो, “फेरि दान दिनेले खुट्टा ढोगेरै चामल, पैसा खनखन्ती दिने भएपछि सधैँ जान थालेँ ।”
उहाँ रहरले मन्दिर र सडक चाहार्न थाल्नुभयो । पाएका चामल कति बेच्नुभयो त कति छोराको भान्सामा पु¥याउनुभयो । धेरैजसो त उहाँ रात पनि मन्दिरमै बित(ाउन थाल्नुभयो । कहिलेकाहीँ छोराकामा गयो । फेरि पूजा हुने दिनको अघिल्लो रात नै मन्दिर फर्कियो । त्यही क्रममा प्रहरीले राति सडकबाट उठाएर उहाँलाई आश्रम पु¥यायो । माग्न नपाउने कुरा उहाँलाई अचम्म लागेको छ । “धर्म गरेर दिएको दान लिन किन नपाउने,” उहाँ प्रश्न गर्नुहुन्छ, “हामी जस्ता बूढाबूढीका हातमा पैसा आउने कुरा नराम्रो हो र ?”
तर माग्दा माग्दै सडकमै बिरामी परेर कतिको ज्यान गएको उहाँलाई हेक्का छैन । उहाँको भन्दा फरक परिवारको हेलामा परेपछि सडक र मन्दिरको बास बस्न बाध्य हुनेको कथा भने बेग्लै छ । नुवाकोटका ६२ वर्षे वीरबहादुर तामाङको काठमाडौँको खिचापोखरीमै बैँस बित्यो । उमेर छँदा सबैथरी काम गरे पनि रोगले थलिँदै गएपछि आफ्ना सबै बिराना भए । “छोरीले पनि आम्दानी दिन छाडेपछि पराइ ठानिन्,” उहाँ मन कुँडाउँदै भन्नहुन्छ, “श्रीमतीको मृत्युपछि एक्लो बने अनि भद्रकाली मन्दिरको शरणमा पुगे ।”
भगवानको शरणमा एक छाक खान र बस्न पाएकैमा उहाँ भाग्य ठान्नुहुन्छ । काम गर्न नसक्ने उहाँ पनि यतिबेला सडकबाट उठाइएर आश्रमको स्क्रिनिङ सेन्टर पुग्नुभएको छ ।

गम्भीर बिरामीको उद्धार
बेसहारा सडक मानवमुक्त महानगर बनाउने क्रममा उद्धार चलिरहँदा गम्भीर बिरामीको समेत उद्धार भइरहेको छ । दुई दिनअघि मात्र बागेश्वरीबाट अन्दाजी ३४ वर्षीया महिलाकोगम्भीर बिरामी भएको अवस्थामा उद्धार भएको छ । उहाँको कलेजो मदिरा सेवनले विग्रेर इन्तु न चिन्तु अवस्थामा उद्धार भएको सडक मानवमुक्त कार्यान्वयन उपसमिति तथा सहरी विकास योजनाकी सदस्य गुजेश्वरी श्रेष्ठले जानकारी दिनुभयो । उहाँलाई हाल वीर अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।

मदिराले सडकको बासमा
मकवानपुरका अर्जुन खड्का भारी बोक्ने काम गर्नुहुन्छ । घरमा आमाबाहेक अन्य सदस्य छैनन् । उहाँ कमाएको केही पैसा आमालाई पठाउने र बाँकी राजधानीमा सडकमा बस्दा मदिरा पिउने र खाने खर्चमै सक्नुहुन्छ । सडकबाट यसरी आश्रममा राखेका उहाँलगायत दौँतरीलाई पटक्कै मन परेको छैन ।
“एक दिनको एक हजार कमाइ हुन्थ्यो, नौ दिनको कमाइ गइसक्यो,” खड्काले भन्नुभयो, “बलियालाई हैन नसक्नेलाई पो यहाँ राख्ने हो ।” उहाँ जस्तै सडकमै मजदुरी गर्ने सानु सिंखडा, पदम मगर, रमेश लामा, भीमप्रसाद भट्टलगायत धेरै सडक मजदुर आश्रममा बस्नु परेकामा आक्रोश व्यक्त गर्छन् ।
तर महानगर र साझेदार निकाय उहाँहरूको मदिराको लत छुटाउन परामर्श दिने तयारीमा छ । “सडकमा बस्दा लागेको लत त्यति छिट्टै कहाँ जान्छ र ?,” महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायव निरीक्षक हरिश कठायतले भन्नुभयो, “रक्सीको एकछिनको तातोले जीवनलाई सुरक्षा दिएको हैन, झन् बिगार्दै गएको भन्नेकुरा बुझाउनुपर्छ ।”

अधिकांश महिला मनोरोगी
सडकमा फेला परेका अधिकांश महिला मनोरोगी रहेका छन् । पुरुषले मदिरा पिएर आफ्नो तनावको व्यवस्थापन गरेको पाइएको छ । महिला भने तनावकै कारण मनोरोगी बन्ने गरेको पाइएको अभियानकी उपसंयोजक गुजेश्वरी श्रेष्ठ बताउनुहुन्छ ।
घर परिवार र समाजले दिएको पीडा सहन नसक्दा नै महिला मनोरोगी भएका भन्दै उहाँले थप्नुहुन्छ, ‘‘मनोरोगी महिलालाई उपचार र परामर्श दिइएको छ । मनोरोगी महिलामध्ये केहीले आफ्नो नामसम्म बताउन सक्छन् । तर केहीले भने केही बताउन सक्ने अवस्थामा छैनन् ।’’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?