logo
२०८१ बैशाख १३ बिहीवार



जनतासँग महिला प्रमुख जिल्ला अधिकारी

मुख्य समाचार |


जनतासँग महिला प्रमुख जिल्ला अधिकारी


देवबहादुर कुँवर

काठमाडौँ, मङ्सिर २८ गते । देशकै विकट एवं दुर्गम हिमाली जिल्ला हुम्लाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नियुक्त हुँदा उपसचिव विनिता भट्टराईलाई खुसीभन्दा बढी तनावले सतायो । करिब छ महिनासम्म हिउँ पर्नुका साथै खाद्यान्न अभाव र यातायातको एउटै विकल्प हवाई जहाज मात्र भएपछि उहाँका लागि प्रजिअ नियुक्ति निल्नु न ओकेल्नुजस्तै बन्यो ।
तराईमा पर्ने सर्लाहीको गर्मी ठाउँमा जन्मेहुर्केकी महिला बाक्लो हिउँ पर्ने चिसो ठाउँमा बस्नु आफैँमा चुनौतीपूर्ण हो । अन्ततः उहाँ गत साउनमा प्रमुख जिल्ला अधिकारीका रूपमा हुम्ला हाजिर हुनुभयो । पहिलोपटक महिला प्रजिअ आएको देख्दा कर्मचारीहरू मात्र होइन, हुम्लावासीसमेत खुसी भए । “हुम्लावासीसँंगको आत्मीयताका कारण पाँच महिना बितेको पत्तो नै भएन,” उहाँ थप्नुहुन्छ, “प्रजिअ भएपछि जनसेवा नै मुख्य लक्ष्य हुँदोरहेछ ।”
त्यस्तै, जुम्ला जिल्लाको प्रजिअ दुर्गा बन्जाडेको अनुभव पनि भट्टराईकै जस्तै छ । गत वर्ष फागुनमा जुम्लाको प्रजिअमा नियुक्त हुनुभएकी बन्जाडेलाई हेर्न कर्मचारी तथा सर्वसाधारणको जुम्ला विमानस्थलमा भीड लागेको थियो । “प्राकृतिक रूपमा सुन्दर जुम्लाको प्रजिअ हुन पाउँदा गर्व लागेको छ,” उहाँले भन्नुभयो, “म जुम्ला आफैँ छानेर आएकी हुँ ।”
उहाँ जुम्लावासीको दुःखसुखकी सारथीजस्तै बन्नुभएको छ । प्रजिअ बन्जाडेसँंग महिलाले आफ्ना समस्या खुलेर राख्ने गर्छन् । यातायात सेवाको अभावमा दुर्गमजस्तै लाग्ने कर्णालीका हुम्ला, जुम्ला, कालीकोट, मुगु र डोल्पा अझै पनि स्वास्थ्य, शिक्षा, रोजगार, भोकमरी र छाउपडीजस्ता समस्याले पिरोलिएका छन् । यी जिल्ला सरुवा हुनुलाई कतिपयले ‘विभागीय कारबाही’ सम्झने गर्छन् ।
तर, हुम्ला र जुम्लाको सरुवा प्रजिअ भट्टराई र बन्जाडेका लागि गर्व र नयाँ अनुभव सँगाल्ने अवसर बन्यो । चिसो मौसम सुरु भएसँंगै हिउँ पर्न थालेपछि दुवै जना प्रजिअ केही दिनको बिदा मिलाएर काठमाडौंँ आउनुभएको छ । काठमाडौँमा केही दिनको बसाइ र आफन्तसँंगको भेटघाटपछि पुनः जिल्ला फर्किने योजना रहेको उहाँहरूले सुनाउनुभयो ।

त्यस्तै पूर्वी नेपालको पहाडी जिल्ला तेह्रथुमकी प्रजिअ चन्द्रकला ओली जिल्लावासीको सेवा गर्न पाउँदा खुसी लागेको बताउनुहुन्छ । गत भदौबाट प्रजिअको नेतृत्व सम्हाल्नुभएकी ओलीका लागि पहाडी क्षेत्रमा सेवा गर्नु नयाँ अनुभव पनि हो ।
महिला प्रजिअ भएका कारण महिलाका गुनासो बढी आउनु स्वाभाविक हो तर प्रजिअलाई विशेष किसिमको जिम्मेवारी र दायित्व हुने भएकाले शान्ति सुरक्षा, अमनचयन कायम गर्न होस् या सेवाग्राहीलाई चुस्त सेवा प्रदान गर्ने सवालमा विभेद नहुने उहाँ बताउनुहुन्छ ।
भक्तपुर जिल्लाको नवनियुक्त प्रजिअ एवं सहसचिव हुमकला पाण्डे भने यही हप्ता कार्यालयमा हाजिर हुनुभएको छ । उहाँका अनुसार सातवटा जिल्लाको प्रजिअको जिम्मेवारी महिलालाई सुम्पिनु क्षमता र पेसागत इमानदारीमाथिको विश्वास हो ।
गृह मन्त्रालयका अनुसार ७७ जिल्लामध्ये भक्तपुरमा पाण्डे, हुम्लामा भट्टराई,
जुम्लामा बन्जाडे, पर्वतमा कल्पना घिमिरे नेपाल, रामेछापमा लीलाकुमारी केसी पाण्डे, सिन्धुपाल्चोकमा गोमादेवी चेम्जोङ र तेह्रथुममा ओली हुनुहुन्छ । त्यस्तै काभ्रेमा लक्ष्मीदेवी हुमागार्इं खतिवडा, सिन्धुलीमा विजयाकुमारी प्रसाई, रसुवामा सपनाकुमारी भट्टराई, डोल्पामा लक्ष्मीदेवी शर्मा र सोलुखुम्बुमा लक्ष्मीकुमारी शाही सहायक प्रजिअको जिम्मेवारीमा हुनुहुन्छ । स्याङ्जा निवासी डोल्पाका सहायक प्रजिअ शर्माले हवाई तथा सडकले समेत नछोएको डोल्पामा करिब १६ महिना बित(ाइसक्नुभएको छ भने अर्की सहायक प्रजिअ शाहीले सोलुखुम्बुमा सात महिना बिताउनुभएको छ । धेरैजसो सहायक प्रजिअ महिला सूचना अधिकारी एवं प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्छ ।

उषा नेपालबाट आरम्भ
उषा नेपाल नेपालको पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुनुभयो । उहाँ २०४६ सालको परिवर्तनपछि भक्तपुर जिल्लाको प्रजिअ बन्नुभएको हो । उहाँ २०४७ साल फागुनमा पहिलोपटक महिला प्रजिअका रूपमा नियुक्त हुनुभएको हो । हाल अवकाश प्राप्त उहाँले ललितपुर, पर्सा, बाँके, सोलुखुम्बु र मुस्ताङ जिल्लाको समेत प्रजिअको जिम्मेवारी निर्वाह गरिसक्नुभएको थियो ।
त्यसैगरी २०४९ पुसमा अम्बिका केसी दोस्रो महिला प्रजिअका रूपमा भक्तपुरमा नै नियुक्त हुनुभएको थियो । उहाँ नेपालको दोस्रो महिला प्रजिअ हुनुहुन्छ । हाल दुवै जना सेवा निवृत्त भइसक्नुभएको छ । त्यस्तै हीरादेवी पौडेल, मुनाका न्यौपाने र गृह मन्त्रालयका सहसचिव इन्दु घिमिरे पनि प्रजिअ भइसक्नुभएको छ । सहसचिव र उपसचिव गरी हाल प्रजिअ बन्ने महिलाको सङ्ख्या ११ रहेको गृह मन्त्रालयले जनाएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?