logo
२०८० चैत्र १६ शुक्रवार



स्थानीय तहको आय कमजोर

मुख्य समाचार |


स्थानीय तहको आय कमजोर


नगेन्द्र सापकोटा

काठमाडौँ, मङ्सिर १७ गते । स्थानीय तहको आन्तरिक आय कमजोर देखिएको छ । संविधान र स्थानीय सरकार सञ्चारलन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले स्थानीय तहको कर सङ्कलनको दायरा स्पष्ट गरे पनि एक वर्षमा स्थानीय तहको आन्तरिक आय अध्ययन गर्दा कमजोर देखिएको हो ।
आर्थिक वर्ष २०७४÷७५ मा स्थानीय तहको कुल आय १४ अर्ब २४ करोड एक लाख रुपियाँ अर्थात् पाँच दशमलव ६६ प्रतिशत छ । स्थानीय तहको यो आम्दानी अत्यन्तै कमजोर भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले ७५३ स्थानीय तहको आन्तरिक आयको सम्बन्धमा गरेको अध्ययनले स्थानीय तह आन्तरिक स्रोत परिचालन गरी आर्थिक रूपमा सक्षम हुन नसकेको जनाएको छ । स्थानीय तहलाई संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार क्षेत्रलाई परिचालन गर्न नसक्दा स्थानीय तह आन्तरिक आयमा कमजोर देखिएको हो । आन्तरिक आयमा कमजोर हुँदा स्थानीय तह सधैँ सङ्घीय सरकारको अनुदानमै भर पर्नुपर्ने मन्त्रालयले
जनाएको छ ।
मन्त्रालयका सहसचिव जयनारायण आचार्यले स्थानीय तहको आन्तरिक आय कमजोर देखिएको बताउनुभयो । उहाँका अनुसार स्थानीय तह आन्तरिक स्रोत परिचलान गरी आर्थिक रूपमा सक्षम नभएसम्म सङ्घीयता बलियो नहुने तर्क गर्दै त्यसका लागि मन्त्रालयले स्थानीय तहको जनप्रतिनिधि र कर्मचारीलाई आवश्यक तालिम प्रदान गर्न लागिएको छ ।
स्थानीय तहलाई संविधान र स्थानीय सरकार सञ्चालन ऐनले एकीकृत सम्पत्ति कर, व्यवसाय कर, घरजग्गा कर, सेवा शुल्क दस्तुर, अन्य स्थानीय कर र राजस्व बाँडफाँटलाई कर सङ्कलनको दायरा तोकिएको छ । आचार्यले भन्नुभयो, “स्थानीय तहले राजस्व सुधार गर्न सकेको भए र सङ्घीय सरकारप्रतिको निर्भरता कम भई स्थानीय तह आफैँ वित्तीय रूपमा सक्षम हुने तर एक वर्षको स्थानीय तहको राजस्व मूल्याङ्कन गर्दा त्यस्तो देखिएन । ”
सङ्घीयता बलियो बनाउनका लागि स्थानीय तह आफैँ सक्षम हुनुपर्ने भन्दै उहाँले त्यसका लागि मन्त्रालयले स्थानीय तहको आर्थिक सुधार र सेवा प्रवाहको सम्बन्धमा तालिम प्रदान गर्नका लागि प्रदेश तथा स्थानीय शासन सहयोग (पीएलजीएसपी) कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो ।
स्थानीय तहले राजस्व सुधारका लागि बजेट प्रक्षेपण गर्दा आगामी तीन वर्षको आयको प्रक्षेपण गर्नुपर्ने, हालको आम्दानीको परिचालन अवस्थाको अध्ययन गरी सुधारका क्षेत्र पहिचान गर्नुपर्ने, आन्तरिक आयका नयाँ स्रोतहरूको परिचालनका उपाय खोजी गर्नुपर्ने र राजस्व वृद्धि गर्ने मात्र नभई राजस्व सङ्कलन क्षेत्रलाई विस्तार गरी कर न्यायोचित बनाउनुपर्ने सुझाव मन्त्रालयको छ ।
विकास आयोजनामा आवश्यक लगानीको परिपूर्तिका लागि र स्थानीय तहको जवाफदेहिता अभिवृद्धि गर्दै स्थानीय तहको राजस्व प्रक्षेपण पद्धतिलाई विश्वसनीय तुल्याउन स्थानीय तहको राजस्व सुधार आवश्यक भएको आचार्यले बताउनुभयो ।
वित्तीय सङ्घीयता विज्ञ डा. खिमलाल देवकोटाले स्थानीय तहमा पर्याप्त दक्ष जनशक्तिको अभावमा स्रोत परिचालन गर्न नसक्दा राजस्व सङ्कलनमा अपेक्षाकृत रूपमा सुधार हुन नसकेको बताउनुभयो । उहाँका अनुसार स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई राजस्व सङ्कलनको दायर फराकिलो पारे पनि सङ्घीय सरकारको पर्याप्त मार्गदर्शन नहुनु, स्थानीय तहका जनप्रतिनिधिले राजस्व सङ्कलनमा ध्यान दिन नसक्दा स्थानीय तहले अपेक्षाकृत रूपमा राजस्व सङ्कलन गर्न नसकेको हो ।
सङ्घ र प्रदेशको बजेटको कार्यान्वयन गर्ने निकाय स्थानीय सरकार नै भएकाले स्थानीय तह आर्थिक रूपमा सक्षम बनाउनका लागि तीनै तह सक्रिय हुनुपर्ने मन्त्रालयको सुझाव छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?