बाग्मती सफाइमा तारजाली उपयुक्त

मुख्य समाचार |


2019-12-03-5036


भउचप्रसाद यादव

काठमाडौँ, मङ्सिर १७ गते । धार्मिक तथा सांस्कृतिक धरोहर बाग्मती नदीलाई सफाइ गरी पुनः पहिलेकै अवस्थामा फर्काउनका केही वर्षयता राज्य र निजीस्तरबाट विभिन्न प्रयास भएका छन् । सहरी विकास मन्त्रालयअन्तर्गत अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति गठन गरी बाग्मतीलाई पहिलेकै अवस्थामा फर्काउने प्रयास करिब एक दशकदेखि भइरहेको छ ।
त्यसैगरी तीनवटै सुरक्षा निकाय, विद्यार्थी, आमनागरिक सम्मिलित बाग्मती सफाइ महाअभियानको २९९औँ हप्ता पूरा भइसकेको छ तर यी प्रयासबाट आशातीत सफलता हासिल हुन सकेको छैन । विगत पाँच वर्षदेखि हरेक शनिबार बाग्मती सफाइ अभियानले बाग्मतीको भौतिक अवस्थामा उल्लेखनीय सुधार देखिएको छैन । २०७० जेठ ५ गतेदेखि नियमित रूपमा बाग्मती सफाइ महाअभियान नियमित सञ्चालन हुँदै आएको छ ।
सफाइ गरी पहिलेकै मौलिक अवस्थामा फर्काउन विभिन्न उपायमध्ये बाग्मतीको विभिन्न ठाउँमा फलामको जाली राखेर नदीमा बग्ने ठोस फोहोरलाई सहज रूपमा सङ्कलन गर्ने विधि एक हुन सक्ने बाग्मती सफाइ अभियानसँग जोडिएका संस्था र व्यक्तिहरूको धारणा छ ।
अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका उपआयोजना प्रमुख योगेन्द्र चित्रकारले बाग्मती नदीसहित यसका सहायक खोलामा फलामको जाली जडान गरी पहिलेभन्दा सहज रूपमा बाग्मती सफाइ गर्न सक्ने बताउनुभयो । एक ठाउँबाट अर्को ठाउँमा बगेर जाने ठोस फोहोरलाई जालीमार्फत रोकी सहज रूपमा ती फोहोरको सङ्कलन तथा व्यवस्थापन गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जाली राखेर नदी र खोलाको सफाइ गर्न सकिए पनि यसका लागि जनशक्ति तयारी अवस्थामा राख्नुपर्ने हुन्छ । काठमाडौँको नदी र खोलामा बढी मात्रामा ठोस फोहोर बग्ने भएको हुनाले पानी परेको बेला जालीका कारणले फोहोर जम्मा भई नदी थुनिन गई सम्बन्धित क्षेत्रमा बाढीसमेत आउन सक्ने भएकाले जालीमा जम्मा भएका फोहोर हटाउनका लागि निरन्तर जनशक्ति र उपकरण तैनाथी अवस्थामा राख्नुपर्छ । ”
यसअघि २०७३ सालमा बाग्मती र टुकुचाको दोभानमा ठोस फोहोर सङ्कलनका लागि तारजाली राखिएकोमा ठोस फोहोर जम्मा हुन गई टुकुचा खोला नै अवरोध भएको तथा पुनः पहिलेकै अवस्थामा फर्काउन दुई महिना लागेको स्मरण उपआयोजना प्रमुख चित्रकारले सुनाउनुभयो । त्यसैगरी काठमाडौँको नदी र खोलामा यहाँको उद्योगका रासायनिक पदार्थ बग्ने हुनाले फलामको जाली चाँडै नै खिइने गरेको उहाँले बताउनुभयो ।
सरकारले नदी, खोलानालालगायत अन्य सार्वजनिक स्थलको सरसफाइको जिम्मेवारी स्थानीय तहलाई नै दिने नीति लिएकाले नदी, खोलानालाको सरसफाइमा स्थानीय नीति नियम बनाएर तह नै सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नदी, खोलानालालगायत अन्य सार्वजनिक स्थलको सरसफाइ स्थानीय तहबाट नै होस् भन्ने उद्देश्यसहित ‘नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाइसम्बन्धी कार्यविधि, २०७५’ निर्माण गरी सोको कार्यान्वयनका लागि ७५३ वटा स्थानीय तहलाई पठाइसकेको छ ।
पूर्वसचिव तथा बाग्मती सफाइ अभियन्ता इन्जिनियर किशोर थापाले नदीमा तारजाली राखेर अस्थायी रूपमा ठोस फोहोर सङ्कलन गर्न सकिए पनि दीर्घकालीन रूपमा यो तरिका उपयुक्त हुन नसक्ने बताउनुभयो ।
वातावरणीय दृष्टिकोणले समेत नदी सफाइको यो तरिका उपयुक्त हुन नसक्ने बताउँदै उहाँले नदी खोलामा रहने जलचरको संरक्षणमा हानि पु¥याउनुका साथै पानीको बहावमा अवरोध तथा नदीको सम्पूर्ण दृश्यलाई नै बिगार्न सक्ने बताउनुभयो । नदी र खोलाको सफाइका लागि फोहोरको स्रोतलाई सुधार गर्नुपर्ने सुझावसमेत उहाँले दिनुभयो ।
बाग्मती सफाइ अभियन्ता राजु अधिकारीले तारजाली राखेर बाग्मती नदीलगायत यसका सहायक खोलाको सफाइ गर्न सकिएको बताउँदै यसका लागि सरकारसमक्ष माग राखिएको जानकारी दिनुभयो ।
निश्चित ठाउँमा राखिएको तारजालीमा ठोस फोहोर जम्मा भई त्यसको सङ्कलनका लागि नदी र खोलामा पानीको प्रवाह तीव्र हुनुपर्ने भए पनि काठमाडौँको नदी खोलाको पानी प्रवाह त्यसअनुसारको नभएको उहाँले बताउनुभयो ।
बाग्मतीको ठोस फोहोरलाई सहज रूपमा सङ्कलन तथा व्यवस्थापन गर्नका लागि यसअघि तिलगङ्गामा तारजाली जडान गरिए पनि यो अभियान सफल हुन नसकेको उहाँले बतउनुभयो ।
अर्का बाग्मती सफाइ अभियन्ता ताराबहादुर कुँवरले २९९औँ हप्तासम्म बाग्मती सफाइ महाअभियान नियमित सञ्चालन गरिए पनि त्यसले आशातीत सफलता प्राप्त हुन नसकेको बताउँदै बागमती सफाइका लागि तारजाली राखेर ठोस फोहोर सहज रूपमा सङ्कलन तथा व्यवस्थापन गर्न सकिने बताउनुभयो ।
एक÷एक किलोमिटरको दूरीमा तारजाली राखेर एक ठाउँको फोहोर लामो दूरीसम्म बगेर जान नसक्ने र सहज रूपमा त्यसको सङ्कलन गर्न सकिने बताउनुभयो । एक ठाउँमा तारजाली राख्न बढीमा तीन टन फलाम लाग्न सक्ने उहाँले बताउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?