logo
२०८० चैत्र १६ शुक्रवार

....अन्तर्राष्ट्रिय अपाङ्गता दिवस....



सामाजिक सुरक्षा भत्ताले दैनिकी सहज

मुख्य समाचार |


सामाजिक सुरक्षा भत्ताले दैनिकी सहज


यलु जोशी

काठमाडौँ, मङ्सिर १७ गते । हात र औँलाको चाल, अनुहार र शरीरको हाउभाउको माध्यमबाट आफ्नी छोरीका लागि लुगा खरिद गर्दै हुनुहुन्थ्यो, आशिष रायमाझी ।
लुगा व्यापारीसँग सहज रूपमा साङ्केतिक भाषामा बोलिरहनुभएका उहाँले छोरीका लागि रातो जामा खरिद गर्नुभयो । लुगा खरिद गरेपछि खुसी देखिनुभएका रायमाझी साङ्केतिक भाषामा भन्नुहुन्छ, “म बहिरा भए पनि खुसी छु । मलाई विचरा भनेर सान्त्वना दिनु पर्दैन । हातखुट्टा बलिया छन् । परिवारको रेखदेख र खुसी राख्न सक्ने क्षमता मसँग छ । ” उहाँले भन्नुभयो, “सामाजिक सुरक्षा भत्ताले हामीजस्तालाई सहज बनाएको छ । अझ पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई यो पैसाले कसैसामु हात फैलाउनु नपर्ने अवस्था सिर्जना भएको छ । ”
अहिले सञ्चार तथा प्रविधिले हामीलाई पनि देश विदेशसँग जोडेको र आफूले विदेशमा रहेका साथीसँग सजिलै भिडियो कल गर्ने गरेको अनुभव रायमाझीले बताउनुभयो । विद्यालयमा छोरीलाई केही प¥यो भने पनि शिक्षकहरू भिडियो कल गर्नुहुन्छ भन्दै रायमाझीले भन्नुभयो, “त्यस बेला मलाई पनि आफू अपाङ्गता भएको व्यक्तिजस्तो लाग्दैन । ”
अष्टलक्ष्मी जोशी पनि बोल्न र सुन्न सक्नुहुन्न तर पनि सौन्दर्य व्यवसायमा आबद्ध हुनुहुन्छ । २५ वर्षदेखि यस व्यवसायमा आबद्ध उहाँ आफूप्रति गर्व गर्नुहुन्छ । साङ्केतिक भाषामै बोल्नुपर्छ । कसैले भने बुझ्दैनन् त्यस्तो अवस्थामा लेखेर बुझाउनुहुन्छ । ग्राहकको हाउभाउले नै के गर्ने भन्ने बुझिन्छ । उहाँ भन्नुहुन्छ, “मानिसमा आँट र जाँगर चाहिन्छ, जे काम पनि गर्न सकिन्छ । ग्राहकहरूले मलाई फोनमा सम्पर्क गर्छन्, त्यो बेला धेरै खुसी लाग्छ । ”
‘दिगो विकासको लक्ष्य अपाङ्गतामैत्री भविष्य’ नाराका साथ मङ्गलबार अपाङ्गता भएका व्यक्तिहरूको २८औँ अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अपाङ्गता अधिकार प्रवद्र्धन शाखाका उपसचिव पशुपति महतले अपाङ्गतामैत्री राज्य बनाउने सरकारको लक्ष्य रहेको जानकारी दिनुभयो ।
२०६८ सालको जनगणनाअनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको सङ्ख्या साढे पाँच लाख छ । सामाजिक सुरक्षा भत्ताले अपाङ्गता भएका व्यक्तिहरूको जीवन निर्वाह सहज भएको बुझाइ महतको छ ।
यस्तै राष्ट्रिय बहिरा महासङ्घ नेपालका अध्यक्ष केपी अधिकारीले पनि पहिलेभन्दा अहिले दैनिकी अलि सहज भएको बताउनुभयो । उहाँले प्रविधिको विकासमा सुविधाहरू भए पनि रोजगारीमा भने राज्यको तर्फबाट सुविधा नभएको प्रस्ट पार्दै अपाङ्गता भएका पाँच प्रतिशत कोटामा धेरै कमले मात्र अवसर पाउन सफल हुन्छौँ ।
“बहिराहरूको जीवनयापनमा सुन्ने र बोल्ने भाषासरह हामी साङ्केतिक भाषा प्रयोग गर्छौं”, अधिकारीले थप्नुभयो, “अहिले तीन लाखको हाराहारीमा बहिरा छौँ । नेपालभरि ४४ जिल्लामा बहिरा सङ्घ छन् भने बहिराका लागि २१ वटा विद्यालय छन् । ” उहाँले उपत्यकामा केन्द्रीय बहिरा विद्यालय तथा क्याम्पस रहेको जानकारी दिँदै चार सय विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो । जनगणना २०६८ का अनुसार १ दशमलव ९४ प्रतिशत नेपालीमा कुनै न कुनै किसिमको अपाङ्गता छ । त्यसमध्ये १५ दशमलव ५ प्रतिशत व्यक्ति बहिरा तथा सुस्त श्रवण अपाङ्गता भएको बताइएको छ ।
विश्वका विभिन्न देशले आआफ्ना देशका संस्कार र संस्कृतिलाई अनुसरण गर्दै साङ्केतिक शब्दहरू निर्माण गरेका छन् । नेपालमा बहिरा विद्यालयको स्थापना २०२३ सालमा भए पनि नेपाली साङ्केतिक भाषाको प्राविधिक अभियान भने २०४५ सालबाट सुरु भएको हो । २०४५ सालअघि बहिरा विद्यालयमा पूर्ण रूपमा ओठे भाषाको प्रयोग गरिन्थ्यो र साङ्केतिक भाषाको प्रयोगमा बन्देज लगाइएको थियो । हाल नेपाली साङ्केतिक भाषाका चार हजार सात सय शब्द अनुमोदन भइसकेको महासङ्घले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठन तथा विश्व बैङ्कका अनुसार विश्वको कुल जनसङ्ख्याको १५ प्रतिशत मानिस कुनै न कुनै रूपमा अपाङ्गताको अवस्थामा बाँचिरहेका छन् ।
अपाङ्गता भएका व्यक्तिको २८आँै अन्तर्राष्ट्रिय दिवस मूल आयोजक समिति सचिवालयका अनुसार अपाङ्गता भएका व्यक्तिहरूमध्ये ८१.४ प्रतिशतको स्वास्थ्य अवस्था अपाङ्गता नभएका व्यक्तिहरूको तुलनामा निकै दयनीय छ । ६१ प्रतिशत विभिन्न प्रकारका मानसिक स्वास्थ्यसम्बन्धी समस्याको सिकार हुन्छन् । २४ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू हिंसा र दुव्र्यवहारको सिकार हुने गर्छन् । नेपालमा अपाङ्गताको
समयमै पहिचान गर्ने विधि, प्रणाली र प्राविधिक क्षमता अत्यन्तै कमजोर छ ।
नेपालको कानुनअनुसार अपाङ्गता परिचयपत्र सेवा सुविधामा पहुँच हासिल गर्ने सबैभन्दा मुख्य ढोका हो । तर
हालसम्म (जनगणना २०६८ अनुसार) कुल अपाङ्गता भएका व्यक्तिको सङ्ख्याको केवल ४९ प्रतिशतले मात्र अपाङ्गता परिचयपत्र पाएका छन् ।
नेपालमा अपाङ्गता भएका महिलाको अवस्था थप सीमान्तकृत र जोखिमपूर्ण छ । अपाङ्गता भएका महिला अधिकांश यौन दुव्र्यवहार, बलात्कार र घरेलु हिंसाको सिकार हुने गरेका छन् । धेरै अपाङ्गता भएका महिलाले प्रजनन स्वास्थ्यको हक उपभोग गर्न पाएका छैनन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?