logo
२०८० चैत्र १६ शुक्रवार



स्थानीय तहको प्रतिवेदनः विकासले छलाङ मार्दै

प्रदेश |


स्थानीय तहको प्रतिवेदनः विकासले छलाङ मार्दै


जाजरकोट, कात्तिक २२ गते । जिल्लाका सबै स्थानीय तहमा सडकको ट्र्याक खोलिएको प्रतिवेदन सार्वजनिक भएको छ । जिल्ला समन्वय समिति, जाजरकोटले जिल्लाका सबै स्थानीय तहलाई बोलाएर प्रगति विवरण पेश गर्न आग्रह गरेपछि यस्तो प्रतिवेदन सार्वजानिक भएको हो ।

भेरी नगरपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिकामा केही समयअघि सडक पुगेको थियो । स्थानीय सरकार गठन भएदेखि जुनिचाँदे गाउँपालिका, कुशेगाउँपालिका र बारेकोट गाउँपालिकामा सडकको ट्र्याक खुलेको हो । अहिले स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको पहलमा गाउँगाउँमा सडक निर्माण गर्ने क्रम जारी रहेको छ ।

कुशे, नलगाड, शिवालय, छेडागाड, भेरीका अधिकांश वडामा कच्ची सडक निर्माण भई यातायातका साधनहरु सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ । निर्माण गरिएका अधिकांश सडक वातावरणीय प्रभाव मूल्याङ्कन नगरी खनिएको पाइएको छ ।

डोजर चालक नै प्राविधिक भएर खनेका अधिकांश सडक ज्यानमारा भएको स्थानीयवासीको भनाइ छ । विकासको पहिलो आधार भनेको सडक नै हो भन्दै काम गरेका स्थानीय तहले खोपानी, घोडेटो बाटो र भौतिक पूर्वाधारलाई समेत प्राथमिकता दिएको बताएका छन् ।

सडक नपुगको र दुर्गम मानिएको बारेकोट गाउँपालिकामा यसै आर्थिक वर्षमा प्रशासकीय केन्द्र लिम्सामा सडकको ट्र्याक खुलेको छ । नलगाड नगरपालिका–६ र बारेकोट गाउँपालिका–८ स्थित नलगाड जलविद्युत् आयोजनाको ड्याम स्थलमा मात्र ३०० मिटर सडक निर्माण भएमा बारेकोटमा यातायातका साधन चल्न सक्ने बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो ।

जिल्लाका अधिकांश ठाउँमा राष्ट्रिय स्तरका सडकहरु जोडिएकाले यहाँ विकासका लागि ठूलो समस्या नभएको सरोकारवालको भनाइ छ । शिवालय गाउँपालिकाले वडाका सबै ठाउँमा सडक पुगेको बताइएको छ । नलगाड नगरपालिकाका अधिकांश सडकमा यातायात सञ्चालन हुनाका साथै जाजरकोट–डोल्पा सडक (भेरी करिडोर) भित्र पर्दछ ।

जुनिचाँदे गाउँपालिकामा सडक निर्माण कार्य पनि तीव्र गतीमा भएको अध्यक्ष कृष्णबहादुर केसीले बताउनुभयो । कच्ची सडक निर्माण भएका ठाउँमा सङ्घीय सरकार र प्रदेश सरकारले तुरुन्तै पिचको काम अगाडि बढाउनुपर्ने स्थानीय सरकार प्रमुखहरुको माग रहेको छ । जिल्लामा सबैले ठूलो समस्या भनेको सञ्चारको रहेको औँल्याएको छ । फोन सेवा नहुँदा दैनिक काम गर्न मुस्किल भएको स्थानीय तहले बताएका छन् । विप्लव समूहको चन्दा आतङ्क र कर्मचारी नहुँदा काम गर्न परेको जटिलताका विषयमा समेत चर्को कुरा उठेको छ ।

सबै स्थानीय तहमा बैंक पुगेकाले काम गर्न सहज भएको पनि समीक्षामा प्रगतिको विवरण पेश भएको छ । गाउँगाउँमा रहेका सुरक्षा निकायमा दरबन्दी अनुसारका सुरक्षाकर्मी नहुँदा सेवा प्रवाहमा समस्या भएको अर्को विवरणसमेत सार्वजनिक भएको छ ।

जिल्लाको भेरी नगरपालिकामा तरकारीको पकेट क्षेत्रका साथै स्पार्ट सिटी, मालिकामा पर्यटन आकर्षित गर्न भ्यू टावर निर्माण लगायतका काम भइरहेका छन् ।

त्यस्तै पर्यटकीय क्षेत्रको विकासका लागि पदमार्ग निर्माण, वन संरक्षणका लागि विशेष योजनासमेत कार्यन्वयनमा ल्याइएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिनुभयो । नलगाड नगरपालिकामा लसुन, टिमुर र महको पकेट क्षेत्र घोषणा गरी काम तीव्र गतिमा भएको जानकारी दिइएको छ । वन मन्त्रालयको अग्रसरतामा जिल्लाका नलगाड, बारेकोट र कुशे गाउँपालिकालाई मिलाएर संरक्षित क्षेत्र बनाउने कार्य तीव्र गतिमा अगाडि बढेको छ ।

समीक्षा कार्यक्रममा पुगेका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले स्थानीय तहमा विकास गर्दा प्राकृतिक स्रोतसाधनलाई संरक्षण गरी विकास गर्न आग्रह गनुभयो । विकास निर्माण गर्दा योजना प्राथमिकीकरण गरी काम गरेमा हामीले देखेको समृद्धि र विकास टाढा नभएको मन्त्री बस्नेतको भनाइ छ ।

त्यस्तै प्रतिनिधिसभा सदस्य एवं पूर्वशान्ति तथा पुननिर्मार्माणमन्त्री सत्य पहाडीले सङ्घीय व्यवस्थाको फाइदा देखिन थालेको बताउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?