logo
२०८१ बैशाख ७ शुक्रवार



दैनिक भित्रिन्छन् १८ हजार मोबाइल

मुख्य समाचार |


दैनिक भित्रिन्छन् १८ हजार मोबाइल



गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २० गते । नेपालमा दैनिक औसत १८ हजार थान मोबाइल भित्रिने गरेको पाइएको छ । चालू आर्थिक वर्षको तीन महिनासम्मको भन्सार विभागको तथ्याङ्क अनुसार औसतमा उक्त सङ्ख्या बराबरको मोबाइल दैनिक आयात हुने गरेको हो । विभागका अनुसार असोजसम्म सात अर्ब १९ करोड रुपियाँ बराबरका १६ लाख २३ हजार ७९५ थान मोबाइल आयात भएका छन् ।
गत आवमा मोबाइलको आयातमा केही कमी आए पनि यस वर्ष आयातको प्रवृत्ति भने बढेको छ । गतवर्षको असोजसम्म छ अर्ब २९ करोड रुपियाँ बराबरका १३ लाख ६२ हजार ३३१ थान मोबाइल आयात भएका थिए ।
विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै चीनबाट मोबाइल आयात भएको छ । त्यहाँबाट मात्रै तीन अर्ब ३३ करोड रुपियाँ बराबरको १२ लाख ८४ हजार थान मोबाइल नेपाल भित्रिएका छन् । चीनका हुवावे, सायोमी, ओप्पो, वनप्लस, भीभोलगायतका मोबाइल नेपालमा बढी प्रचलनमा छन् । चीनपछि भारतबाट तीन अर्ब ४० करोड रुपियाँ बराबरका तीन लाख १२ हजार थान मोबाइल भित्रिएको तथ्याङ्क छ । भियतनामबाट समीक्षा अवधिमा करिब २७ हजार थान मोबाइल आयात भएको छ ।
यसबाहेक जापान, दक्षिण कोरिया, बङ्गलादेशलगायतका मुलुकबाट पनि मोबाइल आयात भएको तथ्याङ्क छ । यद्यपि यी देशबाट निकै कम अर्थात् सयको हाराहारीमा मात्र मोबाइल आयात भएको देखिन्छ । स्विट्जरल्यान्ड, कुवेत, मङ्गोलिया, न्यूजिल्यान्ड, तान्जानियाबाट तीन महिनासम्म भन्सार हुँदै केवल एक÷एक थान मात्र मोबाइल आयात भएको छ ।
मोबाइल नेटवर्कको पहुँच बढेसँगै नेपालमा मोबाइल फोनका प्रयोगकर्ताको सङ्ख्या पनि विस्तार हुँदैछ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार अहिलेसम्म दूरसञ्चार सेवा प्रदायकले चार करोड नौ लाख सिमकार्ड वितरण गरेका छन् । वितरित सिमकार्ड नेपालको कुल जनसङ्ख्याभन्दा ३८.५९ प्रतिशतले बढी छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?