logo
२०८१ बैशाख ८ शनिवार



म सिकिस्त बिरामी छैन : प्रधानमन्त्री

मुख्य समाचार |


म सिकिस्त बिरामी छैन : प्रधानमन्त्री


दीपक श्रेष्ठ

काठमाडौँ, कात्तिक १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमा गम्भीर अवस्था उत्पन्न भएर आफू सिकिस्त बिरामी नभएको बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै स्वास्थ्यमा केही समस्या देखा परेकाले चिकित्सकहरूले थप परीक्षण र अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्वास्थ्यको विषयमा अध्यक्षले बैठकमा जानकारी गराउनुभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्यमा गम्भीर अवस्था नभए पनि केही समस्या देखा परेकाले चिकित्सकहरूले परीक्षण र अनुसन्धान गरिरहेका छन् । ” उहाँले प्रधानमन्त्रीको स्वास्थ्यबारे रिपोर्ट आएपछि चिकित्सकको सल्लाहअनुसार उपचारको ‘कोर्स’बारे आवश्यक निर्णय हुने बताउनुभयो । उहाँले अहिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको समेत बताउनुभयो ।
प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । उहाँको केही महिनाअघि सिङ्गापुरमा ‘प्लाज्माफेरेसिस’मार्फत रगतमा रहेको ‘एन्टिबडी’ निष्कासन गरिएको थियो । अहिले उहाँको स्वास्थ्यमा समस्या देखिएपछि ग्रान्डी अस्पतालमा दुई पटक डायलासिस गरिएको थियो ।
मङ्सिर १४ गते हुने उपनिर्वाचनका उम्मेदवार छनोटको विषयमा छलफल गर्न आयोजित सचिवालय बैठक केही बेर बसेर आइतबार बस्ने गरी टुङ्गिएको थियो । प्रतिनिधि सभाको एक, प्रदेश सभाका तीन र स्थानीय तहका ४८ सहित ५२ पदका लागि मङ्सिर १४ गते उपचुनावको मिति तोकिएको छ ।

उम्मेदवारको टुङ्गो आज
बैठकमा सिफारिस भएका नामबारे प्रारम्भिक छलफल भए पनि आइतबार बस्ने बैठकले टुङ्गो लगाउने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला र प्रदेशबाट सिफारिस भएका नाममा बैठकमा प्रारम्भिक छलफल भए । उहाँले कतिपय स्थानमा सर्वसम्मत रूपमा एक जनाको मात्र नाम सिफारिस भएको तर तीन जनाको नाम सिफारिस भएको ठाउँमा छलफलसहित आइतबारको बैठकले उम्मेदवार तोक्ने बताउनुभयो । कास्की निर्वाचन क्षेत्र नम्बर २ का लागि नेकपा जिल्ला कमिटीले सर्वसम्मत रूपमा विद्या भट्टराईको नाम सिफारिस गरे पनि प्रदेश कमिटीले थप दुई जनाको नाम सिफारिस गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?